आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

वनमा लागेको आगो बस्तीमा पस्दा दुई घरमा क्षति, अशक्त व्यक्तिको सकुशल उद्धार

मङ्गलबार, ०८ वैशाख २०८३, १८ : २९
मङ्गलबार, ०८ वैशाख २०८३

सुर्खेत। सल्यानको शारदा नगरपालिका–४ स्थित साल टाकुरी सामुदायिक वनमा लागेको आगो नजिकैको बस्तीमा प्रवेश गरेको छ।

आगो बस्तीमा पसेपछि दुई वटा घरमा क्षति पुगेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजेदेखि वनमा आगो लागेको थियो।

‘डढेलोका कारण स्थानीय ५२ वर्षीया गायत्रा विष्टको भान्सा कोठा जलेर आंशिक क्षति भएको छ,’जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले भने, ‘सोही घरभित्र रहेका शारीरिक र मानसिक रूपमा अशक्त २८ वर्षीय गिर्रिराज विष्टलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेको छ ।’

त्यसैगरी डढेलोबाट स्थानीय ५३ वर्षीय खिमबहादुर डाँगीको घरमा पनि सामान्य क्षति पुगेको उनले बताए। डढेलो नियन्त्रणका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी सहायक निरीक्षक सुजन खड्का र प्रहरी वरिष्ठ हवलदार युगराज बस्नेतको नेतृत्वमा १९ जना, नेपाली सेनाका सह–सेनानी रमेश थापाको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक शिव सेजुवालको नेतृत्वमा १० जना गरी कुल ५४ जना सुरक्षाकर्मी खटिएका थिए।

प्रहरीका अनुसार आगलागीबाट मानवीय र चौपाया क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पश्चिममा रहेको उक्त वनमा लागेको आगो बस्तीतर्फ सोझिएपछि केही समय त्रास फैलिएको थियो ।

हाल स्थिति सामान्य रहेको र बेलुका ५ बजेतिर आगलागी पूर्ण रूपमा साम्य भइसकेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप