रेबिज खोपको अभाव !
सारांश
- नेपालका स्थानीय स्वास्थ्य केन्द्रहरूमा रेबिजविरुद्धको खोपको अभाव हुँदा बिरामीहरू टेकु अस्पताल आउन बाध्य भएका छन्।
- रेबिजको खोप सहज रूपमा उपलब्ध हुँदा पनि जनचेतनाको कमी र भ्रमका कारण बिरामीको सङ्ख्यामा कमी आउन सकेको छैन।
- रेबिज प्राणघातक रोग भएकाले उच्च जोखिम क्षेत्र पहिचान गरी खोपको अग्रिम व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ।
१७ वर्षीय एक पुरुष कुकुरको टोकाइबाट घाइते भई टेकु अस्पतालमा खोप लगाउन आइपुगेका थिए । ती घाइते युवकलाई रेबिजविरुद्धको अन्तिम खोप लगाउन मात्र बाँकी थियो । अन्तिम खोप मात्र लगाउन आउनुको कारण सोध्दा स्थानीय स्वास्थ्य केन्द्रमा खोप सकिएकाले टेकु अस्पताल आउनुपरेको बताएका थिए ।
त्यस्तै, एक अर्की महिलाले पनि टेकु अस्पतालमा रेबिज खोप लगाउन आउनुको कारण ‘नजिकैको स्वास्थ्य केन्द्रमा खोप सकिएकाले हो’ भनेकी थिइन् ।
पछिल्ला केही हप्तायता तुलनात्मक रूपमा बढी जनावर (विशेषतः कुकुर वा बिरालो) को टोकाइका कारण स्थानीय स्वास्थ्य केन्द्रमा खोपको अभाव वा सकिएकाले बिरामीहरू टेकु अस्पतालसम्म आउन बाध्य हुनुपरेको देखिन्छ । यसले हाल नेपालका धेरै ठाउँमा रेबिजविरुद्धको खोपको अभाव भएको सङ्केत गर्दछ ।
रेबिज भाइरस सङ्क्रमित जनावरको टोकाइबाट सर्ने एक सरुवा रोग हो । यो सङ्क्रमणलाई विश्वमा नै उपेक्षित रोगका रूपमा चिन्ने/हेर्ने गरिन्छ । नेपालमा रेबिज रोगबाट बर्सेनि दर्जनौँ मानिसको मृत्यु हुने गरेको तथ्याङ्क देखिन्छ ।
तर, यो रोगप्रति खासै चासो वा नियन्त्रणका लागि बहस भएको भने पाइँदैन । यसबाट रेबिज रोग नेपालमा पनि अन्य रोगहरूभन्दा उपेक्षित नै भएको पाइन्छ ।
दुई-तीन दशक अगाडिसम्म यो खोप अहिले जस्तो सहज रूपमा पाइँदैनथ्यो । तर दुर्भाग्यवश, हाल खोप सहज रूपमा उपलब्ध हुँदाहुँदै पनि रेबिजका कारणले हुने मृत्युको सङ्ख्यामा उल्लेखनीय कमी भने आएको देखिँदैन । यसको मुख्य कारण भनेको यो रोगप्रतिको बुझाइमा कमी अनि भ्रम हुनु नै हो ।
मैले वर्षौँसम्म रेबिजका बिरामीमा गरेको अवलोकनबाट निकालिएको मुख्य निष्कर्ष यही नै थियो । रेबिजका कारण हुने मृत्यु अधिकांश काठमाडौँबाहिरका जिल्लाहरूमा भएको देखिन्छ । यो ट्रेन्ड अहिले पनि यथावत् नै देखिन्छ ।
तर, यसको मतलब काठमाडौँ उपत्यकामा नदेखिएको भन्ने चाहिँ होइन । पछिल्लो समय काठमाडौँ र भक्तपुरमा पनि रेबिजबाट मानिसको मृत्यु भएको थियो । वास्तवमा, काठमाडौँ उपत्यकाका सामुदायिक कुकुरमा पनि रेबिज सङ्क्रमण देखिने गरेको पशुचिकित्सकहरूको भनाइ छ ।
काठमाडौँमा जनावरले टोक्नेबित्तिकै नजिकैको औषधि पसलमा गएर पहिलो मात्रा खोप लगाउने र पछि बाँकी मात्रा लगाउन भनेर अस्पताल आइपुग्ने हुनाले धेरैको ज्यान रेबिजबाट बच्ने गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
रेबिज खोप २४ घण्टाभित्र नै लगाउनुपर्छ भन्ने सुनेर धेरै मानिसहरू तनावमा अनि अत्तालिएर अस्पताल आइपुग्ने गरेको देखिन्छ । वास्तवमा, खोप निश्चित समयभित्र नै लगाउनुपर्छ भन्ने चाहिँ होइन । खोप जतिसक्दो चाँडो लगाउनु सबैभन्दा उत्तम हुन्छ तर ढिलो भयो भन्दैमा लगाउनै हुँदैन भन्ने पनि होइन । यसको मुख्य कारण भनेको सङ्क्रमण भएदेखि लक्षण देखिने समयावधि लामो हुनु हो ।
लक्षण सङ्क्रमित भएको दुई-तीन महिनादेखि वर्षौँसम्ममा पनि देखिन सक्दछ । मेरो साढे दुई दशकको अनुभवमा भने लक्षण देखिन वर्ष दिनभन्दा बढी अवधि लिएको देखिएको छैन । अर्थात् टोकेको वा सङ्क्रमित भएको वर्ष दिनभित्र नै बिरामीमा लक्षणहरू देखिने अनि मृत्यु भएको देखेको छु ।
लक्षण ढिलो-चाँडो देखिने अवस्था विशेषतः सङ्क्रमित जनावरले टोकेको शरीरको अङ्ग, घाउको गहिराइ, टोकाइ/घाउको सङ्ख्या तथा भाइरल लोडमा आधारित हुने गर्दछ । यसको मुख्य लक्षण हावा तथा पानीदेखि डराउनु नै हो ।
बिरामीमा आक्रामकता पनि देखिने गर्दछ तर पछिल्लो समय धेरै बिरामीमा आक्रामकता खासै देखिने गरेको पाइँदैन, जुन अध्ययन-अनुसन्धानको विषय बन्न सक्दछ । हावा तथा पानीबाट डराउने जस्ता लक्षणहरू देखिएपछि बिरामीको मृत्यु औसतमा एक हप्ताभित्र हुने गर्दछ ।
खोप लगाउने तरिका तथा अवधिका बारेमा धेरैमा दुविधा भएको देखिन्छ । अहिले पनि धेरै निजी क्लिनिक/औषधि पसल/निजी अस्पतालहरूमा खोप पाँच पटकसम्म लगाउने गरेको पाइन्छ ।
तर, पछिल्लो पटक नेपाल सरकारले खोप लगाउने तरिका तथा अवधिमा अद्यावधिक गरेको छ । खोप छालामुनि र मासुमुनि गरी दुई प्रकारले लगाउने गरिन्छ । छालामुनि लगाउने तरिकामा खोप दुई पाखुरामा एकैपटक लगाइन्छ र यो तीन पटक गरी एक हप्तामा सकिन्छ ।
तर, मासुमुनि दिने तरिकामा खोप चार मात्रा गरी २ हप्तामा सकिन्छ र यो प्रतिमात्रा एउटा पाखुरामा लगाउने गरिन्छ । छालामुनि लगाउने तरिकाका लागि भने तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यकता पर्दछ ।
केही दशक अगाडिसम्म नेपालमा खोप अभावले बर्सेनि धेरैले रेबिजबाट मृत्युवरण गर्नुपर्ने बाध्यता थियो । तर, हाल यो खोप निजी/सरकारी अस्पताल वा औषधि पसलहरूमा पनि सहजै पाइन्छ । खोपको सहज उपलब्धताका बाबजुद पनि नेपालमा रेबिज बिरामीको सङ्ख्यामा उल्लेखनीय कमी हुन नसक्नुलाई दुःखद मान्नुपर्दछ । अझ हालै नेपालमा खोपको अभाव चुलिँदै गर्दा आगामी दिनमा रेबिजका बिरामी बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
कतिपय मानिस नजिकैको स्वास्थ्य केन्द्रमा खोप नपाउँदा खोप लगाउनकै लागि भनेर काठमाडौँसम्म नआउने विभिन्न कारणहरू हुन सक्छन्, जसको प्रत्यक्ष सम्बन्ध रेबिजबाट हुने सम्भावित मृत्युको बढ्दो सङ्ख्यासँग जोडेर हेर्न सकिन्छ । रेबिज प्राणघातक रोग भए तापनि समयमा खोप लगाउन सके यसबाट बच्न र पूर्ण सुरक्षित हुन सकिन्छ ।
तसर्थ, हाल देखिएको खोप अभावलाई जतिसक्दो चाँडो सम्बोधन गर्दै भविष्यमा फेरि यस्तै अवस्था नदोहोरियोस् भन्नका लागि सम्बन्धित निकायले रेबिजको उच्च जोखिम क्षेत्र पहिचान गर्दै त्यहीअनुसार खोपको अग्रिम व्यवस्थापन गर्नुपर्दछ ।
पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण