न तामझाम न अनावश्यक भिडभाड, कूटनीतिमा बालेन सरकारको नयाँ अभ्यास
सारांश
- प्रधानमन्त्री बालेन शाहले कूटनीतिक भेटघाटमा परम्परागत शैलीलाई तोड्दै सबै राजदूतहरूसँग एकैपटक सामूहिक भेट गर्ने नयाँ अभ्यास सुरु गरेका छन्।
- मन्त्रालयका मन्त्रीहरूलाई कूटनीतिक आचारसंहितासम्बन्धी व्यवस्थित प्रशिक्षण दिँदै भेटघाटको प्रक्रियालाई थप मर्यादित र अनुशासित बनाइएको छ।
- अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसँगको भेटघाट नहुनुलाई कूटनीतिमा आएको परिवर्तनको रूपमा हेरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार गठन भएपछि कूटनीतिमा नयाँ अभ्यास सुरु भएको छ ।
विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई भेटेर शुभकामना दिने परम्परा भंग भएको छ । चैत १३ गते सपथग्रहण गरेका प्रधानमन्त्री बालेनले चैत २५ गते नेपालमा रहेका सबै राजदूत तथा नियोग प्रमुखहरूलाई एक साथ भेटे ।
शुभकामना तथा बधाई दिने नाममा एक्लाएक्लै भेट्ने प्रचलनलाई प्रधानमन्त्री बालेनले तोडे । सबै राजदूतसँग एकैपटक भेटे । बधाई तथा शुभकामना मात्र ग्रहण गरेनन्, राजदूतहरूलाई परराष्ट्र नीतिबारे जानकारी पनि गराए ।
उक्त कार्यक्रमपछि कुनै पनि राजदूत वा कूटनीति नियोगका प्रतिनिधिहरू उनलाई भेट्न गएका छैनन् । नत्र यसअघि प्रधानमन्त्री कार्यालय र निवासमा बधाई तथा शुभकामना दिन राजदूतहरूको लाइन लाग्थ्यो । भेटघाटमा भ्याइनभ्याइ हुन्थ्यो, तर यसपटक प्रधानमन्त्री बालेनले यो पूरै नियम बन्द गरे ।
यहाँसम्म कि, नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस पावल कपुर र बालेनको भेटघाटसमेत भएन, कपुर फर्किसकेका छन् । यसअघि यस्ता उच्चस्तरीय हरेक भ्रमणमा प्रधानमन्त्रीसँग भेट हुने गथ्र्यो, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री विभिन्न दलका अध्यक्षहरूसँग शिष्टाचार भेटघाट हुन्थ्यो । तर यसपटक त्यो परम्परा टुटेको छ ।
कपुरले रास्वपाका सभापति रवि लामिछानेसँग भने भेट गरे । तर अन्य दलका कुनै पनि नेताहरूसँग उनले नभेटेका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो भ्रमण अमेरिकाको तर्फबाट भएको हो, हामीले समन्वय गर्दिएको मात्र होइन, उनीहरूले बनाएको कार्यतालिकाअनुसार सबै भेटघाट तथा गतिविधि भयो । नेपालको तर्फबाट त्यसमा कुनै हस्तक्षेप थिएन ।’
कसलाई भेट्ने, कसलाई नभेट्ने उनीहरूले पहिला नै तय गरिसकेकाले कपुरको भ्रमण सफल बनाउन नेपालले समन्वयकारी भूमिका निभाएको उनको भनाइ छ । उच्चस्तरीय भ्रमण भएका बेला राष्ट्रपति, प्रधानमन्त्री वा परराष्ट्र मन्त्रालयले उनीहरूको स्वागतमा रात्रिभोजको आयोजना पनि हुने गथ्र्यो, तर यसपटक त्यो पनि देखिएको छैन ।
यी सबै नयाँ सरकारको कूटनीतिक अभ्यास मान्न सकिन्छ । प्रधानमन्त्री बालेनका सचिवालयका एक सदस्य भन्छन्, ‘यो नयाँ सरकार हो, जेनजीको सरकार हो, यो पुरानै ढर्राले चल्दैन, हरेक कुरामा परिवर्तन ल्याउन चाहेको छ ।’
यो कूटनीतिक क्षेत्रमा यो सुरुवात भएकाले थप कार्यहरू भइरहेका उनको भनाइ छ । तर उनले कपुर र प्रधानमन्त्रीको भेट भएको नभएकोबारे भने केही बताउन चाहेनन् । त्यति मात्र होइन, बालेन सरकार गठन भएपछि नियुक्त भएका मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक आचारसहिंतबारे प्रशिक्षण नै दियो, त्यो पनि मन्त्रालयका सचिवले । यो पनि बालेन सरकारको कूटनीतिमा नयाँ अभ्यास मान्न सकिन्छ ।
_fiho8rpe5u_aixxTyi2qh.jpg)
कूटनीति आचारसहिंताबारे यसअघि पनि विभिन्न माध्यमबाट मन्त्रीहरूलाई जानकारी गराइन्थ्यो, तर यसरी प्रधानमन्त्री कार्यालयमा समूहमै प्रोजेक्टर राखेर जानकारी गराएको भने पहिलो पटक हो । त्यो प्रशिक्षणपछि मन्त्रीहरू कूटनीतिक मामिलामा निकै सचेत देखिएका छन् । अनावश्यक भेटघाटलाई उनीहरूले बिल्कुल बन्द गरेका छन् । अहिले कुनै पनि कूटनीतिज्ञ वा राजदूत कुनै मन्त्री वा कसैलाई भेट्न जाँदा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएकै हुनुपर्ने हुन्छ । प्रायः हरेक भेटघाटमा परराष्ट्रको सम्बन्धित महाशाखाका अधिकारीलाई पनि पठाउने नियम बनाइएको छ । यसअघि राजदूतहरूले जथाभावी भेटघाट गर्ने परम्परा टुटेको छ ।
अमेरिकाबाट भ्रमणमा आएका कपुर र बालेनबिच भेटघाट नहुनु अहिले चर्चाको विषय बनेको छ ।
‘प्रधानमन्त्रीलाई नै भेट्नुपर्छन भन्ने छैन’
पूर्वपरराष्ट्रमन्त्री भेषराज थापा अहिले नयाँ परस्थिति भएकाले त्यसैअनुसार अमेरिकी सहायक विदेशमन्त्री कपुरको भ्रमण भएको बताउँछन् । ‘परराष्ट्र नीतिलाई कसरी मर्यादित र अनुशासित बनाउने त्यो कुरा सरकारमा भर पर्छ,’ उनले भने, ‘दुई पक्षीय भेटघाट परस्थितिमा निर्भर हुन्छ ।’
कुनै पनि भ्रमणबारे पहिल्यै तयारी हुने भएकाले दुईबिच कसले भेट्न नचाहेको हो, त्यो परिस्थिति उद्देशयमा भर पर्ने उनको बुझाइ छ । ‘विगतमा उच्चस्तरीय भ्रमण हुँदा प्रधानमन्त्रीहरूसँग ‘कट सी’का लागि भए पनि भेट हुन्थ्यो,’ उनले बुझाए, ‘त्यो यसपालि तोडिएको छ ।’ कपुर र प्रधानमन्त्रीबिच भेटघाट हुन नसक्नुको कारण बताउन नसके पनि यसमा ‘फरक परस्थिति’ले काम गरेको उनको भनाइ छ ।
तर परराष्ट्र मामिलाका जानकार अरुण सुवेदी भने कपुरले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्नै पर्ने बाध्यकारी अवस्था नभएको बताउँछन् । ‘परराष्ट्रमन्त्री र अर्थमन्त्री पनि सरकार नै हो, तर प्रतिपक्षी नेतालाई भेट्नुपथ्र्यो,’ उनले भने, ‘उसको पनि कुरा सुन्नुपथ्र्यो त्यो भएन ।’
_YedqTEhZf3.jpg)
विगतमा पनि कतिपय उच्चस्तरीय भ्रमण हुँदा प्रधानमन्त्री, राष्ट्रपतिलाई नभेटेका घटनाहरू छन् । ‘भेट्नै पर्छ भने छैन, तर औपचारिक भ्रमणमा आएकाले विपक्षी दलका नेताहरूलाई भेट्नुपथ्र्यो, त्यो खोजी गर्नुपर्ने कुरा हो,’ उनले प्रस्ट्याए ।
कपुरको नेपाल भ्रमणमा कसैसँग भेट भए/नभएको भन्दा पनि उनले आएर के गरे र के भने भन्ने महत्त्वपूर्ण हुने सुवेदीको तर्क छ । ‘परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई भेटेपछि के–के कुरा गरे, जाने बेला जारी गरेको विज्ञप्तिमा के उल्लेख गरेर गए, त्यसलाई अध्ययन गर्न आवश्यक छ,’ उनले भने ।
अर्का पूर्वराजदूत विजयकान्त कर्णका अनुसार कपुरले नेपाल आउनुअघि भारत र बंंगलादेश भ्रमणका क्रममा पनि त्यहाँका प्रधानमन्त्रीलाई नभेटेका जानकारी दिए । ‘प्रधानमन्त्रीलाई नभेटे पनि लाइन मिनिस्ट्रीलाई भेटेपछि अरूलाई नभेटे पनि फरक पर्दैन,’ उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण