शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश कृषि सङ्कट

माटोमा बढ्दो अम्लियपन, प्राङ्गारिक मलमा खुलेआम ठगी !

प्रदेश अर्थसमिति समस्या सुनेर फर्कियो
आइतबार, १३ वैशाख २०८३, ०८ : ००
आइतबार, १३ वैशाख २०८३

विराटनगर । कोशी प्रदेशको तराईको कृषि क्षेत्र प्रविधि र आधुनिकीकरणसँगै गम्भीर प्राकृतिक र नीतिगत सङ्कटमा फसेको तथ्याङ्कले देखाएको छ ।

सुनसरीको झुम्कास्थित चार वटा प्रमुख सरकारी निकायहरू—बीउ बिजन प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला र कृषि तालिम केन्द्रको चालू आर्थिक वर्षको ९ महिने विवरणले प्रदेशको कृषि क्षेत्रमा समस्या सिर्जना हुँदै गएको देखाएको छ ।

तथ्याङ्क अनुसार प्रदेशको माटोको स्वास्थ्य अत्यन्तै नाजुक छ । बजारमा पाइने नक्कली अर्गानिक मलका नाममा किसानमाथि ठगी भइरहेको पाइएको छ । यस्तै गुणस्तरहीन बीउ पनि बजारमा बिक्री भइरहेको फेला परेको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गरेको २ हजार २७४ वटा माटोको नमुना विश्लेषणको नतिजाले कोशी प्रदेशको माटोमा गम्भीर समस्या देखाएको हो । परीक्षण गरिएका नमुनामध्ये ५१ प्रतिशत माटो अत्यधिक अम्लीय पाइएको छ । यो तथ्याङ्कले प्रदेशको आधाभन्दा बढी उब्जाउ भूमिले आफ्नो प्राकृतिक उर्वराशक्ति गुमाउँदै गएको संकेत गर्छ ।

प्रयोगशालाका प्राविधिकहरूका अनुसार रासायनिक मलको असन्तुलित प्रयोग, प्राङ्गारिक पदार्थको अभाव र एउटै किसिमको बाली लगाइरहने पद्धतिले माटोमा अम्लियपन बढाएको हो । माटो अम्लीय हुँदा उत्पादन सोचेजस्तो हुँदैन । यसलाई सुधार गर्न कृषि चूनको प्रयोग अनिवार्य देखिएको प्राविधिकहरु बताउँछन् ।

Krisi Form (4)

यस्तै माटो तथा मल परीक्षण प्रयोगशालाका अनुसार १३ वटा रासायनिक मलका नमुना परीक्षण गर्दा शतप्रतिशत नै मापदण्डअनुसार सही पाइएका थिए, तर जब ५८ वटा प्राङ्गारिक मलका नमुना परीक्षण गरियो, त्यसमध्ये ९५ प्रतिशत (५५ वटा) नमुना मापदण्डविपरीत पाइएका छन् ।

सरकारले अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने नीति लिइरहँदा बजारमा भने अर्गानिकको नाममा किसानलाई माटो वा गुणस्तरहीन मल बेचिरहेको यो तथ्याङ्कले देखाएको छ । किसानले मोटो रकम खर्चेर किनेको मलमा आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा न्यून पाइएको छ ।

Krisi Form (7)

बीउ बिजन प्रयोगशाला, झुम्काको तथ्याङ्कले बीउको गुणस्तरमा पनि प्रश्न खडा गरेको छ । चालु आर्थिक वर्षमा परीक्षण गरिएका ७५० नमुनामध्ये झण्डै १२ प्रतिशत (११.९९ प्रतिशत) बीउ गुणस्तरको न्यूनतम मापदण्डमा समेत असफल भएका छन् ।

विशेष गरी धान, मकै र तोरीको बीउमा समस्या देखिएको उक्त प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले बजारमा रहेका एग्रोभेटहरूबाट नमुना संकलन गरी ‘सिड अडिट’ गरिरहेको भए पनि गुणस्तरहीन बीउ बेच्नेहरूमाथि कडा कारबाही हुन नसक्दा किसानहरू बर्सेनि ठगिने क्रम रोकिएको छैन ।

बाली संरक्षण प्रयोगशालाले प्रदेशका सुनसरी, मोरङ, उदयपुर र इलामका २६ वटा विषादी पसल र गोदामहरूमा अनुगमन गरेको थियो । सो क्रममा कैयौँ पसलहरूमा म्याद नाघेका विषादीहरू फेला परेको बरिष्ठ बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिइन् । म्याद नाघेका विषादीले एकातिर बालीको शत्रुजीव मर्दैनन् भने अर्कोतर्फ ती विषादीले माटो र मानव स्वास्थ्यमा झन् बढी घातक असर पुर्‍याउने उनको भनाइ थियो ।

यद्यपि प्रयोगशालाले रासायनिक विषादीलाई न्यूनीकरण गर्न प्रयोगशालाले झुम्कामै ‘ट्राइकोडर्मा’ (जैविक विषादी) उत्पादन गरिरहेको छ । ९ महिनामा १ हजार ५०० केजी जैविक विषादी उत्पादन गरी किसानलाई वितरण गरिएको श्रेष्ठको दाबी छ । जसले रोग लाग्नबाट बिरुवालाई बचाउन मद्दत गर्छ ।

प्रयोगशालामा सवारी साधनको अभाव, बीउ परीक्षण गर्ने मेसिनहरू बिग्रिँदा मर्मत गर्ने दक्ष जनशक्तिको अभाव, दरबन्दी अनुसारको जनशक्ति अभाव पनि उत्तिकै समस्या रहेको छ । माटो प्रयोगशालामा ७५ प्रतिशत र बीउ प्रयोगशालामा ६३ प्रतिशत मात्र दरबन्दी पूर्ति छ । बाँकी कर्मचारी नहुँदा प्रयोगशालाको सेवा विस्तार हुन सकेको छैन ।

Krisi Form (1)

झुम्कास्थित यी प्रयोगशालाहरूले अब परम्परागत ढाँचालाई बदलेर डिजिटल बाटो समात्न थालेका छन् । अहिले माटो र बीउको परीक्षण रिपोर्ट सफ्टवेयरमार्फत तयार पारिन्छ र किसानलाई ह्वाट्सएप वा इमेलमार्फत पठाउन थालिएको छ । यसले गर्दा किसानहरू सानो एउटा रिपोर्ट लिन झुम्का धाउनुपर्ने बाध्यता हटेको छ । किसानलाई आफ्नो माटोको अवस्था कस्तो छ भनेर बुझाउन सोइल हेल्थ कार्ड वितरण सुरु गरिएको छ । यसले कुन जग्गामा कति मल हाल्ने भनेर किसानलाई स्पष्ट मार्गदर्शन गर्छ । प्रयोगशाला नै किसानको खेतबारीमा पुगेर माटो र बालीको उपचार गर्ने पद्धतिले गाउँका किसानलाई सहज बनाएको छ ।  

चार हजार बढी लाभान्वित

कृषि तालिम केन्द्रका निमित्त प्रमुख नरेश कुमार पण्डितका अनुसार सो कार्यायले २७१ जनालाई तालिम दिएको छ । यस्तै माटो तथा मल प्रयोगशालाबाट २ हजार ५०६ जना       लाभान्वित भएका छन् भने बाली संरक्षण प्रयोगशालाबाट १ हजार २६५ जना लाभान्वित भएका छन् । सबैगरी ४ हजार ४२ जना लाभान्वित भएको ती कार्यालयहरुले जनाएका छन् ।

चारवटै कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ५ सय ८७ जना कृषक तथा प्राविधिकहरूलाई विभिन्न १८ भन्दा बढी विषयमा व्यावसायिक तालिम प्रदान गरेका छन् ।

पण्डितका अनुसार कृषि तालिम केन्द्रले झुम्काले ६७ जना अगुवा कृषकलाई व्यावसायिक तरकारी तथा फलफूल खेती र ६० जनालाई बीउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । त्यसैगरी ४६ जना युवा कृषकलाई मौरी पालन, ४४ जनालाई मिनिटिलर मर्मत र २१ जनालाई च्याउ उत्पादन तथा प्रशोधन सम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको छ ।

Krisi Form (9)
 
बाली संरक्षणतर्फ बाली संरक्षण प्रयोगशालाले २१० जना कृषकलाई विषादी सम्बन्धी सचेतनामूलक जानकारी र १०६ जना कृषकलाई खेतबारीमै पुगेर बालीको रोग–कीरा पहिचान तथा व्यवस्थापन गर्ने स्थलगत तालिम दिएको छ ।

प्राविधिक क्षमता अभिवृद्धितर्फ कृषि प्राविधिकहरूका लागि सञ्चालित सफ्टवेयर तालिममा २४ जना र माटो जाँच किटबक्स सञ्चालन तालिममा ९ जना सहभागी भएका छन् । साथै, माटो परीक्षण प्रयोगशालाले जीपीएस प्रविधिको प्रयोग र डिजिटल म्यापिङ सम्बन्धी जानकारी समेत प्रदान गरेको छ ।

अर्थसमितिको अनुगमन

यसैबीच कोशी प्रदेशसभा अर्थसमितिले शुक्रबार झुम्काको चारवटै कार्यालयको अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेश सरकारले गर्नुपर्ने कामको बारेमा ब्रिफिङ लिइएको सो समितिका सभापति विनोद वान्तवाले बताए ।

Krisi Form (2)

अर्थ समितिलाई आ–आफ्नो कार्यालयको अवस्था जानकारी गराउँदै कार्यालय प्रमुखहरुले कृषि क्षेत्रको विकासका लागि जनशक्ति पर्याप्त हुनुपर्ने र लगानी बढाउनु पर्नेमा जोड दिए । जवाफमा अर्थ समितिका सभापति वान्तवाले आफूहरुले सरकारलाई सुझाव लेखेर पठाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप