'दलको नेताबारे कार्यसम्पादनले निर्णय गर्दैन, सर्वसम्मतिका लागि अनुरोध गर्छ'
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदीय दलको नेताबारे कार्यसम्पादन समिति बैठकले निर्णय नगर्ने बताएका छन् ।
- कार्यसम्पादन समितिले संसदीय दलको बैठकबाट सर्वसम्मतिमा नेता चयन गर्ने वातावरण निर्माणका लागि मात्रै अनुरोध गर्नेछ ।
- कांग्रेस दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले इच्छा देखाएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसदीय दलको नेताबारे कार्यसम्पादन समिति बैठकले निर्णय नगर्ने बताएका छन् ।
महामन्त्री पौडेलले संसदीय दलको बैठकबाट सर्वसम्मतिमा नेता चयन गर्ने वातावरण निर्माणका लागि मात्रै कार्यसम्पादन समितिले अनुरोध गर्ने बताए ।
‘बाहिर कार्यसम्पादनले दलको नेताबारे निर्णय गर्ने र संसदीय दलले अनुमोदन गर्ने खालका कुरा आएका छन्,’ पौडेलले रातोपाटीसँग भने, ‘लामो समयसम्म दलको नेता चयन गर्न नसकिएकाले हामीले सर्वसम्मतिमा गर्नका लागि पहल गरेका छौँ । नेताहरूले आकांक्षीहरूसँग गरेको कुराकानीलाई आधार मानेर संसदीय दललाई सर्वसम्मतिमा नेता चयन गर्न अनुरोध गर्ने हो ।’
कांग्रेस दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले इच्छा देखाएका छन् । गत शुक्रबार दलको नेता चयन गर्नका लागि सुरु गरिएको प्रक्रिया अन्तिम समयमा रोकेर सहमतिका लागि भन्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सहमतिका लागि ७ सदस्यीय समिति बनाइएको थियो ।
त्यो समितिले आकांक्षीसंग छुट्टाछुट्टै र सामूहिक छलफल गरेको थियो । त्यही छलफलका आधारमा आज बिहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले नामावली प्रस्तुत गर्ने र सहमतिमा नेता चयन गर्नका लागि दललाई अनुरोध गरिने महामन्त्री पौडेलले बताए ।
दलको नेता छान्न भन्दै आजै दिउँसो १ बजे दलको बैठक बोलाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण