मधेसका मुख्यमन्त्री र वनमन्त्रीको मौनताप्रति हस्तक्षेपको माग गर्दै कांग्रेस सभापति गगन थापालाई खुला पत्र
सारांश
- चुरे तथा वनजङ्गल संरक्षण अभियानले रौतहट डिभिजन वन कार्यालयमा भइरहेको अनियमिततामाथि मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीको मौनताबारे नेपाली कांग्रेसका सभापति गगन थापालाई खुला पत्र लेखेको छ।
- खुला पत्रमा डीएफओ हेमन्त साहमाथि सरकारी वनको निजी स्वार्थमा प्रयोग, भ्रष्टाचार, काठ आपूर्तिमा अनियमितता, सामुदायिक वनको बजेट दुरुपयोग, अवैध रुख कटान र प्रमाण नष्ट गर्न आगजनी गराएको जस्ता गम्भीर आरोप लगाइएको छ।
- अभियानले तत्काल स्थलगत अनुगमन, अडिट रिपोर्ट परीक्षण, बैंक स्टेटमेन्ट जाँच र संलग्न कर्मचारीमाथि कारबाहीको माग गर्दै नभए अख्तियारमा जाने वा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
जनकपुरधाम । चुरे तथा वनजङ्गल संरक्षण अभियानले रौतहट डिभिजन वन कार्यालयमा भइरहेको अनियमितताप्रति मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीले देखाएको मौनताप्रति हस्तक्षेप गर्न भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई खुला पत्र सार्वजनिक गरेको छ।
अभियानका अध्यक्ष सुनिल कुमार यादवले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै सार्वजनिक गरेको खुला पत्रमा मधेस प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाइएको छ । पत्रमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले उक्त प्रकरणमा मौनता अपनाएको आरोप लगाइएको छ।
मधेसका मुख्यमन्त्री र वनमन्त्री दुवै नेपाली कांग्रेसका रहेकाले हस्तक्षेपकारी भूमिका निर्वाहका लागि कांग्रेस सभापति थापालाई खुला पत्र पठाएको अभियानका अध्यक्ष यादवले जानकारी दिए।
खुला पत्रमा डीएफओ हेमन्त साहले यसअघि महोत्तरीमा कार्यरत रहँदा समेत सरकारी वनलाई निजी स्वार्थमा प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ।
अहिले रौतहटमा सरुवा भई आएपछि पुनः वन क्षेत्रको दोहन र अनियमिततामा साहको भूमिका देखिएको दाबी खुला पत्रमा गरिएको छ । पत्रमा काठ आपूर्ति प्रक्रियामा अनियमितता, गोप्य रूपमा मिलहरूसँग मिलेमतो गरी कम दरमा काठ लिलाम गरी कमिसन लिएको, सामुदायिक वनको बजेट दुरुपयोग गरेको, अवैध रूपमा रुख कटान गराएको, प्रमाण नष्ट गर्न आगजनी गराएको जस्ता गम्भीर आरोप उल्लेख छन् ।
त्यसैगरी, नुनथर क्षेत्रमा नियमविपरीत संरचना निर्माणमा आर्थिक लाभ लिएको, सामुदायिक वनमा काठ तस्करी गराएको, वन क्षेत्रहरूमा व्यापक अवैध कटानी गराएको र सरुवा प्रक्रियामा समेत अनियमितता गरेको आरोप पनि लगाइएको छ।
अभियानले वन मन्त्रालय स्वयं पनि शङ्काको घेरामा परेको उल्लेख गर्दै तत्काल स्थलगत अनुगमन, अडिट रिपोर्ट परीक्षण, बैंक स्टेटमेन्ट जाँच तथा संलग्न कर्मचारीहरूमाथि कारबाही गर्न माग गरेको छ।
यादवले डीएफओ साहलाई तत्काल प्रदेशमा झिकाएर उच्चस्तरीय छानबिन गर्नुपर्ने, अन्यथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने चेतावनी दिएका छन्।
चुरे क्षेत्रमा भइरहेको ढुंगा–गिट्टी उत्खनन र क्रसर सञ्चालनबाट भइरहेको दोहनमा पनि राजनीतिक संरक्षण रहेको संकेत गर्दै यादवले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
अभियानले तत्काल छानबिन र कारबाही प्रक्रिया अघि नबढेमा भ्रष्टाचारविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण