पोखरा बसपार्कको जग्गामा राजनीतिक दल र संस्थाको रजगज
सारांश
- पोखरा बसपार्कको लागि २०३२ सालमा अधिग्रहण गरिएको २०७ रोपनी जग्गा विभिन्न व्यक्ति, राजनीतिक दल र संघसंस्थाको अतिक्रमणले खुम्चिएर ५० रोपनीमा सीमित भएको छ ।
- पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको अर्बौं मूल्यको सरकारी जग्गामाथि राजनीतिक दल, भ्रातृ संगठन, व्यापारिक घराना र सुकुमबासीले अतिक्रमण गरी कार्यालय सञ्चालनदेखि व्यापारिक प्रयोजनसम्मका काम गरेका छन् ।
- नगर विकास समितिले ३५ दिने सूचना जारी गरी अनुमतिविना निर्माण गरिएका सबै संरचना हटाउन उर्दी जारी गरेको छ र सूचनाको अवधिभित्र संरचना खाली नभए कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
पोखरा । पोखरा बसपार्कका लागि २०३२ सालमा अधिग्रहण भएको जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेका छन् । तत्कालीन समयमा २०७ रोपनी जग्गा अधिग्रहण गरिएकोमा विभिन्न समयमा अतिक्रमण भएर अहिले ५० रोपनी हाराहारीमा खुम्चिएको छ ।
हरेक निर्वाचनमा प्रमुख एजेन्डा बन्ने गरेको पोखरा बसपार्क ५० वर्षसम्म पनि निर्माण हुन सकेको छैन । करिब ४ सय परिवार सुकुमबासीले यहाँको जग्गा अतिक्रमण गरेका छन् ।
त्यसबाहेकका जग्गा केही राजनीतिक दल र केही संघ–संस्थाले कब्जा गरेका छन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका अर्बाैं मूल्यको सरकारी तथा सार्वजनिक जग्गामाथि राजनीतिक दल, तिनका भ्रातृ संगठन, व्यापारिक घराना र सुकुमबासीबाट अतिक्रमणमा पर्दै गएको छ ।
_qLKwxa0ryL.jpg)
पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित बसपार्क र यातायात व्यवस्था कार्यालय अगाडिको बहुमूल्य जग्गा विभिन्न ९ वटा संघ–संस्थाले अवैध रूपमा कब्जा गरेका छन् । यी संस्थाले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी कार्यालय सञ्चालन गर्नेदेखि व्यापारिक प्रयोजनका लागि सटर भाडामा लगाउनेसम्मका काम गरेका छन् ।
पृथ्वीचोकको सबैभन्दा धेरै जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघले कब्जा गरेको छ । तत्कालीन माओवादीको प्रमुख भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को क्याम्प बनाइएको यो जग्गा अहिलेसम्म फिर्ता भएको छैन ।
पोखरा–९ को यातायात कार्यालय अगाडिको कित्ता नं. ८४ को २ हजार ४७२.१३ वर्गमिटर अर्थात् ४ रोपनी १३ आनाभन्दा बढी जग्गा अतिक्रमण गरी पक्की भवन बनाएर संगठनको गतिविधि सञ्चालन भइरहेको छ ।
_sp4Qv1Rj4G.jpg)
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्क क्षेत्रमै १२४ वर्गमिटर अर्थात् ३ आनाभन्दा बढी जग्गा ओगटेर आफ्नो भवन बनाएको छ । भवनको भुईं तलामा व्यावसायिक सटर निर्माण गरेर भाडा लगाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सोही ठाउँमा १०२.५ वर्गमिटर अर्थात् करिब ३ आना जग्गा भोगचलन गरिरहेको छ । दुवै संगठन नेकपा एमालेका भ्रातृ संगठन हुन् ।
यता, सामुदायिक सिकाई केन्द्र एवं सामुदायिक प्रहरीले पनि सुरक्षा र शिक्षाको नाममा १०५ वर्गमिटर जग्गा ओगटेको छ । पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको सिकाई केन्द्रले ६८.२५ वर्गमिटर जग्गा प्रयोग गरिरहेको छ ।
हिमाली सांस्कृतिक परिवारले करिब ८९ वर्गमिटर जग्गा ओगटेको छ । कला र संस्कृतिको क्षेत्रमा क्रियाशील यो संस्थाले पनि बसपार्क क्षेत्रकै जग्गा कब्जा गरेको हो ।
खेलकुद क्षेत्रको प्रतिष्ठित क्लब सहाराले सोही क्षेत्रमा ९८ वर्गमिटर जग्गा भोगचलन गरिरहेको छ । बसपार्कको मुख्य क्षेत्रमै निजी प्रयोजनको स्पोट्र्स पसलले ९५ वर्गमिटर जग्गा ओगटेर व्यापार गरिरहेको छ । त्यसकै आडमा ८३ वर्गमिटर जग्गामा सार्वजनिक शौचालय निर्माण गरिएको छ । यसको आम्दानीको स्रोत र व्यवस्थापनमा समेत प्रश्न उठ्दै आएको छ ।
_q4gaQjlESj.jpg)
नगर विकास समितिले गरेको पछिल्लो नापजाँचका क्रममा यी सबै संरचना सडकको जग्गामा परेका छन् ।
नगर विकास समितिले ३५ दिने सूचना जारी गरी अनुमतिविना निर्माण गरिएका सबै संरचना हटाउन उर्दी जारी गरेको छ । त्यसअघि पोखरा महानगरपालिकाले पनि सार्वजनिक, पर्ती र ऐलानी जग्गामा बनाइएका संरचना हटाउन सूचना निकालेको थियो । नगर विकास समितिले ८ गते सूचना निकालेको हो ।
‘३५ दिनभित्र समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू आफैँ खाली गराइदिनुहुन अनुरोध छ, अन्यथा कानुन बमोजिम हुनेछ,’ जारी सूचनामा उल्लेख छ ।
सूचनाको अवधिभित्र संरचना खाली नभए समिति आफैँले कानुन बमोजिम गर्ने समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताए ।
_yhSa9uMmCH.jpg)
‘अब अतिक्रमित संरचना हट्छन । हामीले पूरै ठाउँको अध्ययन गरिसकेका छौँ । अब कुनै पनि हालतमा जोगिँदैन,’ उनले भने, ‘महानगरले पनि संरचना हटाउन सूचना जारी गरेको छ ।’
अतिक्रमण गरेर निर्माण भएका संरचनाबाट कति आम्दानी हुन्छ भन्ने पनि प्रस्ट खुलाइएको छैन ।
पोखरा उपत्यका नगर विकास समिति पोखराकै पुरानो र सबैभन्दा धेरै अचल सम्पत्ति भएको संस्था हो । यसको स्वामित्वमा पोखराभरि कुल ९९५ रोपनी जग्गा छ । तर, अतिक्रमण र अव्यवस्थित वितरणका कारण जग्गा निरन्तर खुम्चिँदै गएको छ ।
पोखराको सिटी प्लानिङका लागि तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र योजनाविद् पदमबहादुर क्षेत्रीको पहलमा २०३२ सालमा जग्गा अधिग्रहण सुरु भएको थियो । अहिले निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल पनि सोही समयको परिकल्पना थियो । पोखराको आधुनिक विकासका लागि २०३१ सालमा बृहत् गुरुयोजना निर्माण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण