युक्रेन युद्धमा आत्मघाती रणनीति अपनाउने सैनिकको किमले गरे प्रशंसा
सारांश
- उत्तर कोरियाका नेता किम जोङ उनले रुसको पक्षमा युक्रेनविरुद्ध लड्ने सैनिकहरूलाई नायकको संज्ञा दिएका छन् ।
- किमले महान सम्मान जोगाउन बिना हिच्किचाहट आत्मबलिदान गर्ने सैनिकहरूको प्रशंसा गर्दै यसलाई सेनाको उच्चतम निष्ठा भनेका छन् ।
- दक्षिण कोरियाको अनुमानअनुसार, उत्तर कोरियाले करिब १५ हजार सैनिक रुसलाई सहयोग गर्न पठाएकोमा ६ हजारभन्दा बढी मारिएको हुन सक्ने बताइएको छ ।
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसको पक्षमा युक्रेनविरुद्ध लड्दा पक्राउ पर्नुभन्दा आफूमाथि आत्मघाती हमला रोज्ने सैनिकहरूलाई नायकको संज्ञा दिएका छन् ।
सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार प्योङयाङमा आयोजित एक कार्यक्रममा किमले महान सम्मान जोगाउन बिना हिच्किचाहट आत्मबलिदान गर्ने सैनिकहरूको प्रशंसा गरेका हुन् । उनले यस्तो कार्यलाई सेनाको उच्चतम निष्ठाको रूपमा व्याख्या गरेका छन् ।
दक्षिण कोरियाको अनुमानअनुसार, उत्तर कोरियाले करिब १५ हजार सैनिकहरू रुसलाई सहयोग गर्न पठाएको छ, जसमा ६ हजारभन्दा बढी मारिएको हुन सक्ने बताइएको छ । यद्यपि उत्तर कोरिया वा रुसले आधिकारिक रूपमा यी तथ्याङ्क पुष्टि गरेका छैनन् ।
गुप्तचर एजेन्सीका अनुसार उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ पर्नु भन्दा आत्महत्या गर्न निर्देशन दिइएको हुन्छ । उत्तर कोरियामा सैनिकहरू बन्दी हुनुलाई देशद्रोह मानिन्छ ।
यसअघि दक्षिण कोरियाली प्रसारक एमसीबीले युक्रेनमा पक्राउ परेका दुई उत्तर कोरियाली युद्धबन्दीबारे कार्यक्रम प्रसारण गरेको थियो । त्यसमध्ये एक सैनिकले आफूले आत्महत्या नगरेकोमा पछुतो लागेको बताएका थिए ।
कार्यक्रममा रुसका रक्षा मन्त्री एन्ड्रे बेलौसोव र रुसी संसद्का सभामुख र व्याचेस्लाव वोलोडिनसमेत सहभागी भएका थिए । सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमबिच भएको सम्झौताअनुसार दुवै देशले एक अर्कामाथि आक्रमण भए सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसबेला किमले उक्त सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा बलियो भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण