के फ्रान्ज काफ्का आज पनि उत्तिकै लोकप्रिय छन् ?
सारांश
- फ्रान्ज काफ्का, एक जर्मन-भाषी यहूदी पृष्ठभूमिबाट आएका लेखक, जसले जीवनभर पारिवारिक र सामाजिक उपेक्षाको सामना गरे, आज पनि विश्वभरि उत्तिकै लोकप्रिय छन् ।
- काफ्काको मृत्युपछि उनका मित्र म्याक्स ब्रोडले उनको इच्छा विपरीत रचनाहरू प्रकाशन गरे, जसले 'द ट्रायल' जस्ता कृतिहरूलाई विश्वसामु चिनायो ।
- काफ्काको लेखन शैली, जसले कर्मचारीतन्त्र, राज्यसँगको संघर्ष, एक्लोपन र पहिचान जस्ता कालातीत विषयहरूलाई समेट्छ, आजको पुस्ताका लागि पनि सान्दर्भिक छ ।
फ्रान्ज काफ्का सन् १८८३ मा प्राग सहरमा जन्मिएका हुन् । उनको परिवार जर्मन भाषा बोल्ने अल्पसङ्ख्यक यहुदी पृष्ठभूमिको थियो । काफ्कालाई उनको परिवारको यही पहिचानले आफ्नो जीवनमा सुरुवातदेखि नै पराई अनुभूति दिलाइरह्यो ।
लेखक घरानाबीच पनि उनले खासै स्वीकार्यता पाउन सकेनन् । पारिवारिक रूपमा पनि जीवनभर पीडा नै बोकेर हिँड्नुपर्यो । खासगरी उनका पिताको व्यवहार उनीप्रति राम्रो रहेन । उनका पितालाई काफ्का लेखक होइन व्यापारी बनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।
लेखनबाट आउने कमाइले काफ्काको जीवन धान्न सकिएको थिएन । उनी बिहानदेखि बेलुकासम्मै बिमा कम्पनीमा काम गर्थे । बाँकी समय मात्रै आफ्नो आनन्दका लागि लगाउँथे । कामबाट फुर्सद हुनासाथ मोटरसाइकल चढ्ने, सिनेमा हेर्न जाने तथा यौनबजारमा पुग्ने गर्थे ।
घुम्न, खेल्न रुचाउने काफ्का पेरिस र बर्लिन सहर घुम्न पनि जान्थे । मानिसहरूको बीचमा हुँदा रमाइलो मान्थे । महिलासँगको सम्बन्धमा भने उनको अनुभव राम्रो रहेन । यसका पछाडि सामाजिक अपेक्षाहरूको पनि हात थियो । गम्भीर चाहना भएको मान्छेले कतिको निकटता राख्नुपर्छ भन्नेबारे काफ्का अन्योलमा थिए ।
काफ्का लेख्ने काम साँझ वा रातमा गर्थे । उनले केही डायरी, लघुकथा र उपन्यास लेखे । कानुन पढ्ने क्रममा उनको भेट म्याक्स ब्रोडसँग भएको थियो । ब्रोड पछि गएर काफ्काको अभिन्न मित्र बने । उनै ब्रोडले काफ्काभित्रको साहित्यिक प्रतिभा ठम्याएका थिए । साथै लेख्न र प्रकाशन गर्न प्रोत्साहन पनि उनैले गरेका थिए । काफ्कालाई भने आफ्नै लेखन क्षमतामा शङ्का थियो ।

सन् १९२४ मा आफ्नो ४१औँ जन्मदिन आइपुग्नु अगावै क्षयरोगका कारण उनको निधन भयो । उनले ब्रोडलाई आफ्नो मृत्युपश्चात् सबै रचनाहरू जलाइदिनु भनेका थिए । तर काफ्का बितेपछि ब्रोडले भने उनको इच्छा मुताबिक उनका रचना जलाएनन् ।
उनले जलाएको भए ‘द ट्रायल’ जस्तो कृति न त प्रकाशित नै हुन्थ्यो न त हाम्रो हातमै आइपुग्थ्यो । आजको दिनमा काफ्काको अपूर्ण उपन्यास पनि असाध्यै चर्चित भएको छ । ‘द ट्रायल’ उपन्यास एउटा यस्तो मान्छेको कथा हो जो आफ्नो बचाउमा लागेको हुन्छ । तर उसलाई आफूले के गल्ती गरेको हो भन्ने समेत थाहा हुँदैन । काफ्का शैली मुताबिक यसको कथा पनि राम्रोगरी टुङ्गिँदैन ।
आजभोलि काफ्कालाई संसारभर पढिन्छ । जर्मनीमा त विद्यालयको पाठ्यक्रममै पढ्नुपर्छ । मेक्सिको, कोलम्बिया, भारत तथा अर्जेन्टिनामा पनि उनको लोकप्रियता बाक्लै छ । यस्तो सूची धेरै लामो हुन सक्छ ।
धेरै अन्तर्राष्ट्रिय लेखकहरू काफ्कालाई आफ्नो उपन्यासमा उल्लेख गर्छन् । उनलाई २०औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण आधुनिक लेखकहरूमध्येका एक मान्छन् । सन् २०१४ मा निधन भएका कोलम्बियाली लेखक एवं नोबेल पुरस्कार विजेता ग्याब्रियल गार्सिया मार्खेजले त काफ्काको ‘द मेटामोर्फोसिस’ पढेकै कारण पुस्तक लेख्ने प्रेरणा मिलेको भनेका थिए ।
काफ्काको महत्त्व र विशेषतालाई बताउने एउटा विशेषण नै बनेको छ । त्यो हो– काफ्काएस्क । त्यो विशेषण अङ्ग्रेजी भाषामा मात्रै सीमित छैन । जर्मन, कोरियाली, टर्केली, फ्रान्सेली, जापानी, रुसी र इटालियन भाषामा समेत प्रयोग हुन्छ । जसको अर्थ केही यस्तो कुरा हुन्छ जुन धेरै अनौठो र बुझ्न गाह्रो भएकाले डरलाग्दो हुन्छ ।
काफ्काले आफ्ना कथामा कालातीत विषयमा लेखे । उनले कर्मचारितन्त्रको भुलभुलैया तथा राज्य वा कुनै शासनसँग जुध्नुपर्दाको पीडा लेखे । त्यस्तो पीडाको अनुभूतिलाई शब्दमा उतारे । अर्का कोलम्बियाली लेखक हर्नान डी कारोले ‘बिइङ काफ्का’ नामको ‘पोडकास्ट’ मा एउटा प्रश्न गरेका छन् । जसमा उनी चर्चित लेखकहरूका कृतिमा सपना वा अझ भनौँ दुःस्वप्नले प्रेरित गरेको पो हुन्छ कि भन्ने प्रश्न गर्छन् ।
काफ्काका कथाहरू प्रायः मान्छेका अनुभवहरूको वरपर घुम्छन् । एक्लो, निरीह एवं असहाय हुनुको अनुभूतिलाई काव्यिक तरिकाले वर्णन गर्छन् । यी सबै अनुभूति सार्वभौम छन् । संसारका सबै मानिसले सबै युगमा त्यस्तो अनुभूति गरेका हुन सक्छन् । काफ्काको लेखाइमा देखिने संवेदना हिजोको दिनमा जस्तै आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् ।
यस्तो समानुभूति संसारभर हुन्छ । विविध सांस्कृतिक परिप्रेक्ष्य वा राजनीतिक संरचनाले पनि धेरै फरक पार्दैन । यही कारण आज पनि काफ्कालाई सबै मुलुकमा पढ्ने गरिन्छ । सबैतिर उनलाई उत्तिकै बुझिन्छ ।

उनको लेखाइमा भाषा पनि सहज बोधगम्य छ । यसका कारण अनुवादकहरूका लागि पनि सजिलो छ । कारोका अनुसार यसले गर्दा पनि धेरै भाषामा काफ्कालाई पढ्न र बुझ्न सजिलो भएको छ । यत्ति मात्रै नभएर काफ्काले आफूपछिका लेखकहरूलाई पनि धेरै थोक दिएर गएका छन् ।
उनले अनौठा शीर्षकमा कसरी सजिलै लेख्ने भन्ने देखाइदिएका छन् । दैनिक जीवनमा असामान्य ठानिएका विषयभित्रको अनौठो र असामान्य सन्दर्भ केलाउन सकिन्छ भन्ने देखाएका छन् ।
नाजी जर्मनीले काफ्काका पुस्तकबारे राम्रो दृष्टि राखेन । सम्भव भएसम्म जलाउने तथा प्रतिबन्ध लगाउने काम गर्यो । त्यो समयमा काफ्का जर्मनीमाभन्दा बाहिर धेरै लोकप्रिय रहे ।
काफ्का सामाजिक सञ्जालका ‘मिम’हरूमा पनि अत्यधिक मात्रामा भेटिन्छन् । खासगरी ‘द मेटामोर्फोसिस’ पुस्तकको ग्रेगर साम्सा कुनै अर्को घिनलाग्दो एवं डरलाग्दो फट्याङ्ग्रा जस्तो जीवमा बदलिएको सन्दर्भको धेरै चर्चा हुने गर्छ ।
युवाहरू आज पनि टिकटक र इन्स्टाग्राममा काफ्काका उद्धरणहरू आपसमा साटासाट वा प्रचार गर्छन् । काफ्काजस्तै देखिने जन्मदिनको केकहरू बनाइन्छन् । अनलाइनमा राखिन्छन् । विविध तरिकाले अहिलेको पुस्ताले पनि काफ्कालाई सम्झिने र चर्चा गर्ने गरेको छ ।
काफ्का युवाहरूलाई आकर्षित गर्न सक्छन् किनभने उनीहरू पनि अक्सर सत्ता र प्राधिकारसँग द्वन्द्वमा हुने गर्छन् । कहिलेकाहीँ काफ्काका पात्रहरूजस्तै पराजित, थकित र निरीह अनुभव गर्छन् । फ्रान्ज काफ्काले उठाएका विषयहरू आजको सन्दर्भमा पनि जीवन्त लाग्छन् ।
बहिष्करण, अलगाव, एक्ल्याउने गतिविधि तथा पहिचानका प्रश्नहरू आज पनि ज्वलन्त छन् । लेखकको मृत्यु भएको १ सय वर्षपछि पनि उनले लेखेका विषय, उठाएका सन्दर्भ र शैली आज पनि जीवन्त र सान्दर्भिक लाग्छन् । सम्भवतः यसै कारण हुनुपर्छ, आज पनि मानिसहरू काफ्कालाई धेरै खोज्छन् र पढ्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण