बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

होर्मुज प्रवेश गर्न खोज्ने अमेरिकी युद्धपोतमा मिसाइल प्रहार

सोमबार, २१ वैशाख २०८३, १६ : ४७
सोमबार, २१ वैशाख २०८३

सारांश

  • इरानी नौसेनाले अमेरिकी युद्धपोतहरूलाई स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्नबाट रोकेको छ ।
  • इरानी समाचार एजेन्सी फार्सले जास्क टापु नजिकै चेतावनी बेवास्ता गरेपछि अमेरिकी युद्धपोतमा दुई वटा मिसाइल प्रहार भएको दाबी गरेको छ ।
  • यसको प्रतिक्रियामा इरानको संयुक्त कमान्डले सबै व्यावसायिक जहाज र तेल ट्याङ्करहरूलाई सैन्य समन्वयबिना कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।

तेहरान । इरानी नौसेनाले अमेरिकी जायोनिस्ट युद्धपोतहरूलाई स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्नबाट रोकेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार सोमबार ती युद्धपोतहरूलाई स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्नबाट रोकिएको हो ।    

इरानी समाचार एजेन्सी फार्सले जास्क टापु नजिकै चेतावनी बेवास्ता गरेपछि अमेरिकी युद्धपोतमा दुई वटा मिसाइल प्रहार भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बताएको छ । 

अमेरिकी पक्षबाट सो घटनाबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन । यसअघि सोमबारै इरानले अमेरिकी सेनालाई उक्त रणनीतिक जलमार्गमा प्रवेश नगर्न चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले खाडी क्षेत्रमा अड्किएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना रहेको बताएका थिए । यो योजना अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण दुई महिनादेखि अड्किएका जहाज र तिनका चालक दललाई सहयोग गर्ने उद्देश्यले ल्याइएको हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका ती देशका जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गरेर आफ्नो व्यापारिक गतिविधि सुचारु गर्न सहयोग गर्ने बताएका थिए । तर उनले योजनाको विस्तृत विवरण दिएका छैनन् ।

यसको प्रतिक्रियामा इरानको संयुक्त कमान्डले सबै व्यावसायिक जहाज र तेल ट्याङ्करहरूलाई सैन्य समन्वयबिना कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । कमान्ड प्रमुख अली अब्दोल्लाहीले स्ट्रेट अफ होर्मुजको सुरक्षा इरानकै हातमा रहेको र जहाजहरूको सुरक्षित आवागमन इरानी सशस्त्र बलसँग समन्वय गरेर मात्र सम्भव हुने बताएका छन् ।

इरानले चेतावनी दिँदै कुनै पनि विदेशी सशस्त्र बल, विशेषगरी अमेरिकी सेना उक्त क्षेत्रमा प्रवेश गर्न खोजेमा आक्रमण गरिने जनाएको छ । युद्ध सुरु भएदेखि इरानले आफ्नै जहाजबाहेक प्रायः सबै जहाजहरूको आवागमन रोक्दै आएको छ, जसले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्तिमा असर परेको छ । यसको प्रभावस्वरूप तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको बताइएको छ ।

अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम) ले भने उक्त उद्धार अभियानलाई सहयोग गर्न १५ हजार सैनिक, १०० भन्दा बढी हवाई तथा समुद्री साधन, युद्धपोत र ड्रोन परिचालन गर्ने जनाएको छ । यस अभियानले क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने कमान्डर एडमिरल ब्राड कूपरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप