बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको प्रलोभन देखाएर करोडौँ ठग्ने पाँच एजेन्ट पक्राउ

बिहीबार, २४ वैशाख २०८३, १४ : ३०
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठुलो रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ परेकाहरूले जापान, अमेरिका, दक्षिण कोरिया र मकाउ जस्ता देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका थिए ।
  • ठगी गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट ठुलो रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँको तारकेश्वर बस्ने ३२ वर्षीय राज कुमार तामाङ, कलङ्की बस्ने ३१ वर्षीय प्रकाश केसी, गोकर्णेश्वर बस्ने ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुरको गोदावरी बस्ने ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुरको मध्यपुर थिमी बस्ने २८ वर्षीया नमुना भण्डारी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार पक्राउ परेकाहरूले जापान, अमेरिका, दक्षिण कोरिया र मकाउ जस्ता देश पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुल गरी सम्पर्कविहीन भएका थिए ।

अभियुक्त मध्येका प्रकाश केसीले सबैभन्दा धेरै रकम ठगी गरेको पाइएको छ । उनले अमेरिका पठाइदिने भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

त्यस्तै, डिल्लीमान तामाङले दुई जनालाई जापान पठाउने भन्दै १४ लाख ७५ हजार र राज कुमार तामाङले एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

ठगी धन्दामा संलग्न श्रीहाङ एकतिनले एक जना पीडितलाई दक्षिण कोरिया पठाइदिने आश्वासन दिएर १२ लाख २५ हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको थियो । यसैगरी, नमुना भण्डारीले तीन जना पीडितलाई मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ असुल गरेकी थिइन् । पीडितहरूले आफूहरू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप