बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्जेन्टिनाको प्रारम्भिक विश्वकप टोलीमा मेस्सीदेखि प्रतिबन्धित प्रेस्टियानी अटाए

बुधबार, ३० वैशाख २०८३, १० : ४३
बुधबार, ३० वैशाख २०८३

सारांश

  • अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले ५५ सदस्यीय प्रारम्भिक विश्वकप टोलीमा ३८ वर्षीय सुपरस्टार लियोनेल मेस्सीलाई समावेश गरेका छन्।
  • टोलीमा १६ वर्षीय युवा खेलाडी जियानलुका प्रेस्टियानीलाई पनि समेटिएको छ, जसलाई समलिङ्गी विरोधी अपमानजनक शब्द प्रयोग गरेको आरोपमा ६ खेलको प्रतिबन्ध लागेको छ।
  • मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने संकेत दिए पनि प्रशिक्षक स्कालोनीले निर्णय लिन पर्याप्त समय रहेको बताएका छन्।

ब्युनोस आयर्स । आगामी फिफा विश्वकपमा लियोनेल मेस्सीको सहभागितालाई लिएर प्रशंसकहरूमाझ रहेको अन्योलता केही हदसम्म साम्य भएको छ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सोमबार सार्वजनिक गरेको ५५ सदस्यीय प्रारम्भिक टोलीमा ३८ वर्षीय सुपरस्टार मेस्सीको नाम समावेश गरेपछि उनी विश्वकपमा देखिने सम्भावना बलियो बनेको हो। अर्जेन्टिनाले आफ्नो विश्वकप उपाधि रक्षा गर्ने तयारी गरिरहँदा मेस्सीले पूर्ण रूपमा आफ्नो उपलब्धताको पुष्टि नगरे पनि प्रशिक्षकको छनोटले सकारात्मक संकेत दिएको छ।

स्कालोनीले टोलीमा समेटेका १६ जना फरवार्डहरूमध्ये मेस्सी एक हुन्। टोलीमा २० वर्षीय युवा खेलाडी जियानलुका प्रेस्टियानीलाई पनि समावेश गरिएको छ। फेब्रुअरीमा भएको युईएफए च्याम्पियन्स लिगको खेलका दौरान समलिङ्गी विरोधी अपमानजनक शब्द प्रयोग गरेको आरोपमा प्रेस्टियानीमाथि ६ खेलको प्रतिबन्ध लागेको छ।

फिफाले उक्त सजायलाई विश्वभरका आधिकारिक खेलहरूमा लागू गरेपछि प्रेस्टियानीले विश्वकपका सुरुवाती दुई समूह चरणका खेलहरू गुमाउन सक्नेछन्। बेन्फिकाबाट खेल्ने उनले रियाल मड्रिडका भिनिसियस जुनियरलाई गाली गरेको आरोप अस्वीकार गर्दै सामाजिक सञ्जालमा आफूलाई गलत बुझिएको स्पष्टीकरण दिएका थिए।

इन्टर मियामीका कप्तानसमेत रहेका मेस्सीले गत जुनमा आफ्नो खेल करियरको अन्तिम क्षणहरू रमाइरहेको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने संकेत गरेका थिए। विश्वकप छनोटका सुरुवाती खेलहरूमा सहभागी भए पनि चोटका कारण उनले पछिल्ला केही खेलहरू गुमाएका थिए।

यसले गर्दा मेस्सीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिएको थियो तर प्रशिक्षक स्कालोनीले निर्णय लिन अझै पर्याप्त समय रहेको बताउँदै आएका थिए। मेस्सीका सहकर्मीहरू जुलियन अल्भारेज र रोड्रिगो डी पलले मेस्सी टोलीमा हुँदा टोली सधैँ उत्कृष्ट देखिने र थप गोल हुने भन्दै उनको उपस्थितिको समर्थन गरेका छन्।

सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि दिलाउन मेस्सीले सात गोल गरेका थिए। आगामी जुन ११ देखि सुरु हुने विश्वकपको सह(आयोजक क्यानडा, मेक्सिको र अमेरिका रहेका छन्।

अर्जेन्टिनाले जुन १६ मा कान्सास सिटीमा अल्जेरिया विरुद्ध खेल्दै आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ। त्यसपछि उसले जुन २२ मा अस्ट्रिया र जुन २७ मा जोर्डनको सामना गर्ने तालिका छ। विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप