क्युबाको ऊर्जा सङ्कट झन् गम्भीर बन्दै
सारांश
- क्युबाका ऊर्जा तथा खानी मन्त्री भिसेन्टे डेलाओ लेभीले रुसबाट प्राप्त तेल सकिएको र डिजेल तथा इन्धन तेलको मौज्दात लगभग समाप्त भएको भन्दै ऊर्जा सङ्कट झन् गम्भीर हुने चेतावनी दिएका छन् ।
- गर्मीयाम सुरु भएसँगै विद्युत् माग बढ्ने अनुमान गरिएको छ, जसले गर्दा राजधानी हवानामा दैनिक २० देखि २२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ ।
- अमेरिकी प्रतिबन्ध र भेनेजुएला तथा मेक्सिकोबाट तेल आपूर्ति बन्द भएपछि क्युबा सीमित घरेलु स्रोतमा निर्भर छ, यद्यपि अमेरिकाले सुधारका लागि आर्थिक सहायता प्रस्ताव गरेको छ ।
हवाना । क्युबाको गम्भीर ऊर्जा सङ्कट अझ खराब हुने चेतावनी दिइएको छ । क्युबाका ऊर्जा तथा खानी मन्त्री भिसेन्टे डेलाओ लेभीले त्यस्तो चेतावनी दिएका हुन् । उनले रुसबाट सहयोग स्वरूप प्राप्त तेल सकिएको र देशमा डिजेल तथा इन्धन तेलको मौज्दात लगभग समाप्त भएको बताएका छन् ।
सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मन्त्री लेभीले भने, ‘स्थिति अत्यन्त तनावपूर्ण छ, मौसम झन् तातिँदै गएको छ ।’ क्युबामा गर्मीयाम सुरु भएसँगै विद्युत् माग बढ्ने भएकाले सङ्कट अझ चर्किने अनुमान गरिएको हो ।
सरकारी अधिकारीहरूका अनुसार मार्च अन्त्यमा रुसबाट प्राप्त तेल सहयोग मे महिनाको सुरुमा नै सकिएको थियो । त्यसयता देशभर दैनिक लामो समयसम्म विद्युत् कटौती भइरहेको छ । राजधानी हवानामा अहिले दैनिक २० देखि २२ घण्टासम्म ब्ल्याक आउट भइरहेको मन्त्री लेभीले बताए ।
ऊर्जा सङ्कटका कारण नागरिकहरूले मोबाइल फोन, इलेक्ट्रिक स्कुटरजस्ता उपकरण चार्ज गर्नसमेत समस्या भोगिरहेका छन् । धेरै मानिस रातको बीचमा केही समय मात्रै बिजुली आउने बेला कपडा धुने र खाना पकाउने काम गर्न बाध्य छन् ।
क्युबाले अहिले सीमित घरेलु कच्चा तेल, प्राकृतिक ग्यास र सौर्य ऊर्जामा भर पर्नुपर्ने अवस्था आएको छ । मन्त्री लेभीले चीनले उपलब्ध गराएका सौर्य प्यानलमार्फत केही राहत मिलेको बताए पनि ब्याट्री अभाव र मौसमका कारण विद्युत उत्पादन स्थिर नरहेको स्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरीदेखि क्युबामाथि थप कडा आर्थिक तथा ऊर्जा प्रतिबन्ध लगाएपछि भेनेजुएला र मेक्सिकोबाट हुने तेल आपूर्ति लगभग बन्द भएको बताइएको छ । क्युबाले यसलाई ‘अमेरिकी तेल नाकाबन्दी’ भनेको छ ।
यसैबिच अमेरिकी विदेश मन्त्रालयले बुधबार क्युबालाई ‘राजनीतिक तथा आर्थिक सुधार’ लागू गरेमा १० करोड डलर सहायता दिन तयार रहेको जनाएको छ । क्युबाली सरकारले भने अमेरिकी दबाबको कडा विरोध गर्दै कुनै पनि हस्तक्षेपको प्रतिरोध गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण