शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमै किन ?

शनिबार, ०२ जेठ २०८३, १९ : ००
शनिबार, ०२ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशन आयोजना गर्न चितवन नै रोजेको छ । वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा हुन लागेको महाधिवेशनमा रास्वपाले निलो क्रान्तिको उद्गमस्थलको रूपमा चितवन रोजेको देखिन्छ । रवि लामिछानेको संयोजकत्वमा २०७९ साल असार ७ गते रास्वपा स्थापना भएको थियो । सभापति रविले संसदीय राजनीतिमा चितवन क्षेत्र नम्बर २ लाई नै आफ्नो आधार थलो बनाएका छन् । पार्टी स्थापनाको पाँच महिना नपुग्दै ११ लाख ३० हजार लोकप्रिय मतसहित रास्वपाले प्रतिनिधि सभामा २० सिट जित्न सफल भयो । चार वर्ष नपुग्दै रास्वपा देशकै प्रमुख पार्टी बन्न सफल भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले ५१ लाख ८३ हजारभन्दा बढी लोकप्रिय मत अर्थात् ४७.८४ प्रतिशत मत प्राप्त गरी कीर्तिमान राख्यो । परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई निकै पछाडि धकेल्दै रास्वपाले दुई तिहाइ नजिक अर्थात् १८२ सिट जित्न सफल भयो ।

गत निर्वाचनमा चितवनको तीन वटै निर्वाचन क्षेत्र रास्वपाले ‘क्लिन स्विप’ गरेको थियो । बागमती प्रदेशकै कुरा गर्दा रसुवा र सिन्धुपाल्चोक–२ बाहेक सबै क्षेत्र रास्वपाले कब्जा गरेको थियो । तुलनात्मक रूपमा कर्णाली प्रदेशमा कमजोर देखिएको रास्वपाले देशैभर अपेक्षा गरेभन्दा पनि बढी सफलता पायो । वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहको नेतृत्वमा रास्वपाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष यता पहिलो पटक एकल बहुमतको सरकार बनाउने मौका प्राप्त गर्‍यो । यी सबै उपलब्धिको पछाडि चितवनसँग भावनात्मक सम्बन्ध जोडिएकाले चितवनमै महाधिवेशन गर्न लागिएको नेताहरूले बताएका छन् ।

चितवनका रास्वपा सभापति कृष्णप्रसाद भुसालले चितवनसँग भावनात्मक सम्बन्धको साथसाथै देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई आवगमन गर्न सुगम भएकाले यो जिल्ला रोजाइमा परेको जिकिर गरे । गत वर्ष कात्तिक (२१–२२)सम्म सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय भएको भुसालले जिकिर गरे ।

‘देशभरका प्रतिनिधिलाई पायक पर्ने स्थान चितवन हो । गत वर्ष चितवन भेलाले यहीँ महाधिवेशन गर्ने निर्णय गरेको थियो र, निलो क्रान्तिको उद्गमस्थल भएकाले पनि नेतृत्वको रोजाइमा यस ठाउँ परेको हुनसक्छ । भावनात्मक कुरा पनि जोडिएको हुनसक्छ’, उनले भने ।

पार्टीका केन्द्रीय सहमहामन्त्री विपिन कुमार आचार्यले पनि भावनात्मक सम्बन्धका साथै निलो क्रान्तिको उद्गमस्थल भएकाले महाधिवेशनस्थलका रूपमा चितवन रोजाइमा परेको स्वीकार गरे ।

‘ऐतिहासिक प्रथम महाधिवेशन आयोजना गर्न चितवन रोज्नुको कारण भावनात्मक सम्बन्ध पनि एक हो । भूगोलको हिसाबले पनि अन्य जिल्लाको तुलनामा देशभरका प्रतिनिधिहरू आउन सजिलो छ’, रातोपाटीसँग आचार्यले भने, ‘रास्वपाको उदयको हिसाबले चितवनको विशिष्ट महत्त्व छ । प्रतिकूल अवस्थामा पनि चितवनका जनताले माया दिएका छन् । त्यसप्रति अनुग्रहित हुनेछौँ ।’

गत वर्ष असोजमा राष्ट्रिय भेलाले गरेको निर्णयलाई नै केन्द्रीय समिति बैठकले निरन्तरता दिएको आचार्यले प्रस्ट पारे । यद्यपि उनले पार्टीको रूपमा ७७ वटै जिल्ला प्यारो रहेको जिकिर गरे । चितवनमा महाविधेशन गर्दैमा अन्य जिल्लाले टाढा भएको रूपमा लिन नहुने उनको तर्क छ । सबै जिल्लाबाट उत्तिकै माया र विश्वास प्राप्त भएको उनले बताए ।

रवि र चितवनबासीबिच भावनात्मक सम्बन्ध

कुनै बेला चर्चित टेलिभिजन प्रस्तोता रहेका रवि लामिछाने २०७६ साउन ३० गते सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परे । पत्रकार पुडासैनीले त्यसको १० दिनअघि चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नुअघि उनले रविका कारण आफू मर्न बाध्य भएको आरोप भिडियो सन्देशमार्फत लगाएका थिए । आत्महत्या दुरुस्साहन आरोपमा रविसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन प्रहरीले हिरासतमा राखेको थियो ।

हिरासतमा १३ दिन बसेका रवि अन्ततः अदालतको आदेश अनुसार पाँच लाख रुपैयाँ धरौटी बुझाएर भदौ ९ गते रिहा भए । त्यतिबेला रविको पक्षमा दबाब दिन सिङ्गो चितवनको साथसाथै देशभरका मानिस जिल्ला प्रशासन कार्यालय चितवन अगाडि जम्मा भएका थिए । चितवनबासीले देखाएको माया र हौसलाप्रति धन्यवाद दिन भदौ १० गते नारायणी किनारमा विशाल सभा राखियो । तत्कालीन सरकारले षड्यन्त्र गरी आफूलाई फसाउन खोजेको आरोप लगाउँदै रविले भविष्यमा आफू राजनीतिमा आउने सङ्केत गरेका थिए । त्यही वर्ष माघ ५ गते चितवन जिल्ला अदालतबाट रविले सफाइ पाए ।

२०७७ पुस २३ गते नयाँ टेलिभिजन खोल्ने उद्देश्यका साथ रविले न्यूज २४ टेलिभिजन छाडे । दुई महिनाको गृहकार्यपछि फागुन ११ गते उनले ग्यालेक्सी फोर के टेलिभिजन खोल्ने घोषणा गरे । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको टेलिभिजनमा रवि प्रबन्ध निर्देशक भए भने जीबी राई अध्यक्ष र छविलाल बन्जाडे उपाध्यक्ष भए ।

२०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा र्‍यापर बालेन शाह, धरान उपमहानगरपालिकाको मेयरमा अभियन्ता हर्क राई (साम्पाङ), धनगढी उपमहानगरपालिकाको मेयरमा गोपी हमाल स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि रवि राजनीतितर्फ आकर्षित भए ।

दीर्घकालीन रूपमा राजनीतिमा लाग्नेगरी २०७९ साल असार २ गते उनले ग्यालेक्सी टेलिभिजन छोडे । २०७९ असार ७ गते राष्ट्रिय सभा गृहमा ठुलो संख्यामा उपस्थित समर्थक, शुभचिन्तक माझ रविले रास्वपा घोषणा गरेका थिए । त्यही साल मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रवि ३४ हजार ३१२ मतको फराकिलो अन्तरले विजयी भएका थिए । उनले ४९ हजार ३०० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए ।

निर्वाचन लगत्तै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि नागरिकता प्रकरणमा ४२ दिनमै सत्ताबाट बाहिरिनु परेको थियो । अमेरिकाको नागरिकता त्यागेर नेपालको नागरिकता लिने प्रक्रिया त्रुटिपूर्ण रहेको सर्वोच्च अदालतको ठहरपछि उनले एकैपटक मन्त्री र सांसद पद गुमाएका थिए ।

०८० वैशाखमा भएको उपनिर्वाचनमा उनी चितवन–२ बाट पहिलाको तुलनामा झन फराकिलो मतान्तरले विजयी भए । रवि ५४ हजार १७६ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जीवन नारायण श्रेष्ठले जम्मा ११ हजार ११ हजार २१४ मत प्राप्त गरे ।

एकपछि अर्को कानुनी झमेला

जेनजी आन्दोलनपछि गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा मतान्तर घटे पनि प्राप्त मत बढेकाले रविप्रति चितवनका जनताको लोकप्रियता नघटेको चुनावी तथ्यांकले देखाउँछ । गएको निर्वाचनमा उनी ३९ हजार ८३८ मतान्तरले विजयी भएका थिए । रविले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी थिइन् । पुर्ख्यौली घर भक्तपुरको बाग्गेश्वरीमा भए पनि उनी अहिले काठमाडौँको बुढानीलकण्ठ बस्दै आएका छन् । पछिल्लो ७ वर्ष यता हरेक उतारचढापपूर्ण जीवनको साक्षी रहेको चितवनमा आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै उनी बारम्बार चितवन जाने गरेका छन् ।

सुसंस्कृत र सुशासनयुक्त समाज निर्माण गर्न राजनीतिमा आएका रवि एकपछि अर्को कानुनी तथा राजनीतिक झमेलामा फसेका छन् । २०८० साल फागुन २१ गते दोस्रो पटक प्रचण्ड नेतत्वको सरकारमा पुरानै जिम्मेवारी लिएर गएका उनीविरुद्ध दोहोरो राहदानी लिएको आरोपमा मुद्दा लाग्यो । यद्यपि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरे पनि उनी थप विवादमा तानिए ।

२०८१ साल असार १७ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबिच ७ बुँदे सहमतिका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्यो । ओलीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकारले रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतमा पेस गर्‍यो ।

सोही अभियोगमा उनी कात्तिक २ गते पक्राउ परे । पटक–पटक गरी ८ महिना पुर्पक्षका लागि थुनामा बसेका उनी गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको बलमा नख्खु जेल तोडर बाहिरिएपछि चौतर्फी आलोचित भए । रविका कारण पार्टीलाई ठुलो क्षति पुग्ने देखिएपछि उनी फेरि कारागार फर्किएका थिए । उच्च अदालत बुटवल इजलासले दुई करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी गत वर्ष पुस ४ गते रिहा भएका थिए । रविविरुद्ध अहिले पनि चितवन, रुपन्देही, कस्की, काठमाडौँ र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप