सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यका प्रहरी कार्यालयका डीआइजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत

शुक्रबार, ०८ जेठ २०८३, २१ : ५०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • काठमाडौँ उपत्यकाको शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याएका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारी पुरस्कृत भएका छन् ।
  • उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी पनि ट्राफिक व्यवस्थापनमा सुधार ल्याएबापत पुरस्कृत भएका छन् ।
  • प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाडौँ  । काठमाडौँ उपत्यकाको समग्र शान्ति, सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओमप्रसाद अधिकारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

विशेषगरी चोरी, डकैती, लागुऔषध कारोबार, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उनले सक्रियता बढाएको बताइएको छ ।

त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत भएका छन् । ट्राफिक प्रहरी प्रमुख अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न उल्लेखनीय भूमिका खेलेको जनाएको छ ।

उनको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि कडाइ गर्नुका साथै सडक अनुशासन कायम गराउने अभियान प्रभावकारी बनेको थियो । विशेषगरी ट्राफिक जाम न्यूनीकरण, सवारी दुर्घटना नियन्त्रण, लेन अनुशासन लागू तथा आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन उनले महत्त्वपूर्ण पहल गरेकाे जनाइएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी चालकमा ट्राफिक नियमप्रति सचेतनासमेत वृद्धि भएको बताइएको छ । सडकमा हुने जाम, जथाभावी पार्किङलगायतका समग्र अव्यवस्था न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । यसबाट प्रहरी सङ्गठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप