सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैनिक जीवनका यी ८ बानीले चुपचाप बिगारिरहेका त छैनन् तपाईंको पेटको स्वास्थ्य ?

शनिबार, ०९ जेठ २०८३, ०६ : ४६
शनिबार, ०९ जेठ २०८३

सारांश

  • धेरै मानिसहरूमा ग्यास, कब्जियत, एसिडिटी र पेट फुल्ने जस्ता समस्या सामान्य बन्दै गएका छन्, जसको मुख्य कारण दैनिक जीवनका केही बानीहरू हुन् ।
  • मोबाइल हेर्दै खाना खाने, योजना बिना बिहानको खाना छोड्ने, हरेक खाना पछि मिठाई खाने, सामान्य दुखाइमा पेनकिलर खाने, राति मात्रै धेरै पानी पिउने, शौचालय जानुपर्ने संकेतलाई दबाउने, लगातार खाइरहने र सुत्नुअघि खाना खाने जस्ता बानीले पाचन प्रणालीलाई कमजोर बनाउँछ ।
  • ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर सौरभ सेठीका अनुसार यी बानीहरूले दीर्घकालमा पेट र आन्द्राको स्वास्थ्यमा नकारात्मक असर पार्छन्, जसको समयमै सुधार आवश्यक छ ।

काठमाडौँ । हिजो आज ग्यास, कब्जियत, एसिडिटी र पेट फुल्ने समस्या धेरै मानिसमा सामान्य बन्दै गएको छ । धेरैले यी समस्या समाधान  गर्न औषधि सेवन त गर्छन्, तर आफ्नै दैनिक बानीले पाचन प्रणालीमा पारिरहेको असरलाई भने बेवास्ता गरिरहेका हुन्छन् ।

मानिसका धेरै साना–साना बानीले बिस्तारै पेट र आन्द्राको स्वास्थ्य बिगारिरहेको एम्स, हार्वर्ड र स्ट्यानफोर्डमा प्रशिक्षण लिएका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर सौरभ सेठी भन्छन् ।

उनका अनुसार अधिकांश मानिसमा यस्ता कम्तीमा चार बानी अवश्य हुन्छन्, जसले दीर्घकालमा पाचन प्रणालीलाई कमजोर बनाउन सक्छ ।

मोबाइल हेर्दै खाना खाने बानी

अहिले धेरैमा यो बानी देखिन्छ । डाक्टर सेठीका अनुसार यस्तो गर्दा मस्तिष्कले पेट भरिएको संकेत सही रूपमा बुझ्न सक्दैन, जसका कारण मानिसले आवश्यकता भन्दा बढी खाना खान सक्छ । यसले पाचन प्रक्रियामा नकारात्मक असर पार्छ ।

योजना बिना बिहानको खाना छोड्ने बानी

कयौं मानिस तौल घटाउने नाममा नास्ता नै गर्दैनन् । तर सही योजना बिना यसरी खान छोड्दा शरीरमा तनाव सम्बन्धी हर्माेन बढाउन सक्छ र पाचन प्रक्रिया सुस्त बनाउन सक्छ । यसका कारण दिनभर थकान र पेटसम्बन्धी समस्या बढ्न सक्छ ।

हरेक खाना पछि मिठाई खाने बानी

बिहान, दिउँसो वा बेलुकाको केही खाएपछि मिठो वा गुलियो खानेकुरा खानी बानीले पनि पेटमा खराब ब्याक्टेरिया बढाउने जोखिम हुन्छ । अत्यधिक चिनी सेवनले बारम्बार गुलियो खाने इच्छा अझ बढाउने डाक्टरहरूको भनाइ छ ।

सामान्य दुखाइमा पनि पेनकिलर खाने बानी:

टाउको दुख्यो वा जिउ दुख्यो भने केही मानिस तत्कालै पीडा कम गर्न पेन किलर खान्छन् । तर यो बानी आन्द्राका लागि हानिकारक मानिएको छ । विशेषगरी लामो समयसम्म प्रयोग गर्दा आईब्रफिन जस्ता औषधिले आन्द्राको भित्री तहमा असर पार्न सक्छ ।

राति मात्रै धेरै पानी पिउने बानी:

केही मानिस दिनभर खासै पानी पिउँदैनन् । तर राति भने एकै पटक धेरै पानी पिउँछन् । तर यस्तो बानी उचित होइन । शरीर र आन्द्रालाई दिनभर नियमित रूपमा पानी आवश्यक पर्ने भएकाले रातिमा मात्र धेरै पानी सेवन गर्नु पर्याप्त नहुने डाक्टरहरूको सुझाव छ ।

शौचालय जानुपर्ने संकेतलाई बारम्बार दबाउने:

केही मानिस दिशा पिसाव आउँदा पनि रोकेर बस्छन् । यस्ता बानीका कारण शरीरले बिस्तारै त्यस्तो संकेत दिन कम गर्न सक्छ । यसले दीर्घकालीन रुपमा कब्जियतको समस्या निम्त्याउन सक्छ ।

लगातार खाइरहने बानी:

कुचुर कुचर खाइरहने बानीले पनि पेटलाई आराम गर्ने समय दिँदैन । डाक्टरहरूका अनुसार आन्द्रामा प्राकृतिक “सेल्फ–क्लिनिङ” प्रक्रिया हुन्छ, जुन केही समय केही नखाँदा मात्रै राम्रोसँग सक्रिय हुन्छ ।

सुत्नुअघि खाना खाने बानी

रातमा सुत्ने बेलामा खाने बानी पनि राम्रो होइन । यसले पनि समस्या निम्त्याउन सक्छ । राति शरीरसँगै आन्द्रालाई पनि आराम र मर्मत प्रक्रियाका लागि समय चाहिन्छ । तर ढिलो खाना खाँदा त्यो प्रक्रिया प्रभावित हुन सक्छ ।

डाक्टर सौरभ सेठीका अनुसार बारम्बार ग्यास हुने, कब्जियत, पेट फुल्ने, एसिडिटी, थकान वा भोकमा परिवर्तन महसुस हुनु पेटको स्वास्थ्य बिग्रँदै गएको प्रारम्भिक संकेत हुन सक्छ । समयमै दैनिक बानी सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप