सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकताका लागि गम्भीर गृहकार्य आवश्यक छ : शशांक कोइराला

शनिबार, ०९ जेठ २०८३, १६ : ४५
शनिबार, ०९ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकतामा जोड दिएका छन् ।
  • उनले पार्टीभित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्ने र सबै पक्षलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो भएको बताए ।
  • उनले लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा हुनुपर्ने र यसको रक्षा गर्नु मूल कर्तव्य रहेको बताए ।

पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताएका छन् । 

पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका हुन् । उनले पार्टी भित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिए । ‘पार्टी एक नभएसम्म नेपाली कांग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ,’ उनले भने ।

पार्टीभित्रका समस्या समाधानका लागि नेताहरूबिच निरन्तर संवाद आवश्यक रहेको कोइरालाको तर्क छ । ‘महाधिवेशन वा महत्त्वपूर्ण निर्णयहरू गर्दा सबै पक्षलाई समेटेर समिति गठन गर्नुपर्छ,’ उनले थपे, ‘सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ ।’ उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पार्टी नै सबैभन्दा माथि भन्ने भावना आत्मसात् गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा उनले संविधानको रक्षा गर्नु नै कांग्रेसको अहिलेको प्रमुख दायित्व रहेको बताए । ‘लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा हुनुपर्छ,’ उनले भने- ‘हामीले लामो सङ्घर्ष र ठुलो त्यागबाट संविधान प्राप्त गरेका छौँ । यसको रक्षा गर्नु हाम्रो मूल कर्तव्य हो ।’

नेतृत्वले कसैलाई पनि पाखा नलगाइ, वर्ग वा समूह नहेरी सबैलाई समान अवसर दिँदा मात्र पार्टीले गति लिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप