सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

पोखरा महानगरले डोजर चलाउन लागेको फिर्केमा स्कुलदेखि सामुदायिक भवनसम्म, के के भत्किँदै छन् ?

आइतबार, १० जेठ २०८३, ०७ : ३०
आइतबार, १० जेठ २०८३

सारांश

  • पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र बनेका अतिक्रमित संरचना हटाउन डोजर चलाउने भएको छ ।
  • सार्वजनिक सूचना जारी गरी ३५ दिनको समयसीमा सकिएपछि आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिनेछ ।
  • खोलाघरभित्र सशस्त्र प्रहरी बलको तालिम केन्द्र भवन, पोखरा इन्जिनियरिङ कलेज, लिटल स्टेप बोर्डिङ स्कुल लगायत दर्जनौँ व्यक्तिगत र संस्थागत संरचनाहरू रहेका छन् ।

पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा आज देखि डोजर चलाउने भएको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा शनिबार सकिएको छ ।

महानगरले गत वैशाख ४ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थाहरूलाई पूर्वसूचना दिइसकिएकाले आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । ‘महानगरले यसअघि २०८० साल असारमा गरिएको फिर्केखोला नाप जाँच प्रतिवेदनअनुसार खोलघरभित्र निर्माण भएका सबै प्रकृतिका संरचना हटाउने छ,’ उनले भने ।

महानगरका फिर्केका ३ ठाउँबाट अतिक्रमित संरचना हटाउन सुरु गरिने छ । पोखरा २ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा नम्बर ४ तर्फ, पोखरा ४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा ७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ डोजर चलाइने छ । अतिक्रमित संरचना हटाउने अभियान बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा डोजर चल्ने महानगरले जनाएको छ ।

फिर्केखोलाको संरक्षण तथा सौन्दर्यकरणको यस अभियानमा सहभागी भई सहयोग गरिदिन पोखरा महानगरपालिकाले अनुरोधसमेत गरेको छ । फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । 

समितिले २०८० साउन ३ गतेदेखि भदौ २ गतेसम्म फिल्डमै खटिएर २०३२ सालको नापी नक्सालाई समेत आधार मानेर नापजाँच गरेको हो । पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं। २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।

खोलाको वास्तविक सीमाङ्कन छुट्ट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी जम्मा ५८८ वटा सीमा स्तम्भ पनि गाडेको छ । खोलामाथि २५ वटा पुल तथा कल्भर्ट निर्माण भएका छन् । खोला बग्ने वास्तविक जग्गामै १६० वटा संरचना अवैध रूपमा निर्माण भएका छन् । कतिपय संरचना त पूर्ण रूपमा खोलाघरमै बनेका छन् भने कतिपयले पिलर नै खोलामा गाडेर उठाएका छन् । समितिको रिपोर्ट अनुसार, खोलाघरभित्र व्यक्तिगत अस्थायी संरचना ९७ वटा छ । बाँकी स्थायी संरचना छन् । त्यसमा व्यक्तिगत ३५ वटा, संस्थागत र सरकारी १८ वटा संरचना छन् । संस्थागत थप १० वटा अस्थायी संरचना पनि निर्माण भएको पाइएको छ ।

के के छन् संरचना ?

प्रतिवेदनअनुसार वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को तालिम केन्द्र भवन खोलाघरमै छ । यसैगरी, पोखरा इन्जिनियरिङ कलेजले झन्डै आधा संरचना खोला मिचेर बनाएको छ भने लिटल स्टेप बोर्डिङ स्कुलको भवन पनि खोलामै ठडिएका छन् । 

यसबाहेक कुँवर समाज घर, बराल समाज घर, सोंपाल तमु समाज घर, पुन मगर समाज, गिरी समाज घर, लायन्स क्लबको भवन, बगालेटोल र अर्चलबोटको किरियापुत्री भवन, फोटोग्राफर संघको भवन, राधाकृष्ण मन्दिर लगायत दर्जनौँ संरचना खोलामै बनेका छन् । पोखरा महानगरपालिकाले प्रतिवेदन बुझेपछि २०८० कात्तिक १० गते सूचना निकालेर फिर्केको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो ।

तर, फिर्के तमु समाजसहित १३ जना निवेदकले आफूहरूले नक्सा पास गरेर संरचना बनाएको भन्दै अदालत गुहारेपछि कात्तिक २४ गते उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महानगरको अभियानमा ब्रेक लगाएको थियो । तर, पुस १६ गते न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएपछि महानगरलाई कानुनी बाटो पूर्ण रूपमा खुलेको छ ।

खोलाको पानी शुद्धीकरण गर्ने र खोलाको दायाँबायाँ हरियाली फुटपाथ सहितको फिर्के कोरिडोर निर्माण गरी पोखराको नयाँ पर्यटकीय गन्तव्य बनाउने योजना छ । प्रतिवेदनले खोला आसपासमा भौतिक निर्माण तत्काल रोक्न, कवाडी संकलन केन्द्र र ग्यारेजहरू हटाउन तथा खुला क्षेत्रको संरक्षण गर्न सुझाव दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप