अनेरास्ववियुमा पार्टी हस्तक्षेपको विरोध, सङ्गठन छाड्न धामीलाई सुझाव
सारांश
- नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टीको हस्तक्षेप र नेतृत्वको उदासीनताबारे चर्को बहस भएको छ ।
- उपमहासचिव कमल जोशीले सङ्गठनमा एमालेको अनावश्यक हस्तक्षेप बढेको र क्षमतावान् विद्यार्थीलाई गुटबन्दीका नाममा जिम्मेवारीबाट वञ्चित गरिएकाले पलायनको समस्या बढेको बताएका छन् ।
- बैठकमा उपस्थित नेताहरूले वर्तमान अध्यक्ष दीपक धामीलाई विद्यार्थी सङ्गठनको नेतृत्व छाडी मूल पार्टीको राजनीतिमा सक्रिय हुन नैतिक सुझाव दिएका छन् ।
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा पार्टीको हस्तक्षेप र नेतृत्वको उदासीनताबारे चर्को बहस सुरु भएको छ । शुक्रबार बसेको बैठकमा १९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये ३४ जना मात्र उपस्थित भएपछि गणपूरक सङ्ख्या (कोरम) नपुगेको भन्दै नेताहरूले आपत्ति जनाएका थिए ।
अनेरास्ववियुका एक नेताले बताएअनुसार बैठकमा उपमहासचिव कमल जोशीले सङ्गठनमा मातृ पार्टी (एमाले) को अनावश्यक हस्तक्षेप बढेको भन्दै हस्तक्षेपमुक्त सङ्गठन बनाउनुपर्ने बताएका थिए ।
‘जनेजी आन्दोलनमा विद्यार्थी नेता ईश्वर अधिकारीलाई गोली लागी शहादत प्राप्त गर्दा समेत सङ्गठनले श्रद्धाञ्जली विज्ञप्ति निकालेन’, जोशीले बैठकमा भनेका छन्,‘यसरी कार्यकर्ताको अपमान भइरहेको छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २५–३० वर्षकै युवाहरू सांसद र मन्त्री बनिसक्दा, अनेरास्ववियुमा भने क्षमतावान् विद्यार्थीलाई गुटबन्दीका नाममा जिम्मेवारीबाट वञ्चित गरिएकाले पलायनको समस्या बढेको बताएका छन् ।
जोशीले अनेरास्ववियुलाई कि त पार्टीबाट पूर्ण रूपमा अलग गर्नुपर्ने, कि पार्टीको मूल नेतृत्व र नीतिका बारेमा देशभर संस्थागत बहस चलाउनुपर्ने प्रस्ताव राखेको छन् ।
बैठकमा उपस्थित नेताहरूले चुनाव लडिसकेका वर्तमान अध्यक्ष दीपक धामीको भूमिकामाथि पनि प्रश्न उठाएका छन् ।
उनलाई विद्यार्थी सङ्गठनको नेतृत्व छाडी मूल पार्टीको राजनीतिमा सक्रिय हुन र युवा नेतृत्वका लागि मार्ग प्रशस्त गर्न नैतिक सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । केन्द्रीय कमिटीमा विवाद बढेपछि पदाधिकारीलाई निर्णय गर्ने जिम्मा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण