शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

मुख्यमन्त्री कार्कीले विपक्षीलाई दिए संसदबाटै जवाफ

ठुला पूर्वाधार र आयोजना निर्माणमा जोड
मङ्गलबार, १२ जेठ २०८३, १९ : ४६
मङ्गलबार, १२ जेठ २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूबिच एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको प्राथमिकता र भावी योजनाहरू विस्तृत रूपमा प्रस्तुत गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको भौतिक पूर्वाधार विकासमा संघीय सरकारसँगको समन्वय र सार्वजनिक निजी साझेदारी मोडललाई प्राथमिकता दिइने बताए ।

विशेष गरी तमोर–चिसङ डाइभर्सन र तमोर–धरण सडक जस्ता आयोजनाहरूलाई उनले महत्त्वका साथ अघि सारेका छन् । उनले भने, ‘यो मैले परार साल राखेको थिइनँ, नराखेपछि धरान लगायतका साथीहरू यहाँ प्रतिपक्ष, सत्तारुढ आबद्ध सबै दलका साथीहरू आउनुभयो र यो राखिनुपर्छ भन्नुभयो । यसको अध्ययनका लागि २–४ लाख खर्च भए पनि गरौँ तर संघीय सरकारको दायित्व पनि पर्छ, त्यहाँ पेस गरेर अघि बढ्नेछौँ ।’

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजनाबारे उनले विगतको सरकारको पालादेखि नै यो प्रक्रिया सुरु भएको स्मरण गरे । उनले भने, ‘विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा अघिल्लो पाँच वर्षको अवधिमै अघि बढेको हो । नेपाल सरकार, नागरिक उड्डयन र प्रदेश सरकार बसेर हस्ताक्षर भएको छ । बिचमा केही समस्या भए पनि यसलाई पुनः अघि बढाउने प्रयास गर्नेछौँ ।’

उनले विराटनगरबाटै भारत, बंगलादेशलगायत देशमा उडान भर्न सकिने सम्भावना औँल्याउँदै यसले व्यापार र पर्यटनमा ठुलो टेवा पुग्ने बताए । 

कोशी प्रदेशको अर्थतन्त्रको मुख्य आधार कृषि भएको भन्दै मुख्यमन्त्री कार्कीले चिया, कफी, अलैँची र घिउको निर्यात प्रवर्द्धनमा जोड दिए । उनले चिया निर्यातबाट मात्रै वार्षिक अर्बौँ रुपैयाँ भित्र्याउन सकिने दाबी गरे ।

कार्कीले भने, ‘नेपालको चिया सालाखाला ६ अर्ब जतिको निकासी हुन्छ, मेहेनत गर्ने हो भने यो ५० अर्ब पुग्छ भन्ने अध्ययन छ। कोशी प्रदेशमै चियाको ९० प्रतिशत उत्पादन हुन्छ, त्यसैले यसको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजार खोज्ने प्रयास गर्नेछौँ ।’ 

यस्तै, अलैँची, रुद्राक्ष र घिउको बजार विस्तारका लागि आर्थिक कूटनीतिमार्फत काम गर्ने उनले बताए । उनले थपे, ‘हाम्रो घिउ जापान लगायतका देशमा निकासी हुन सक्छ, यसका लागि हामीले नीतिमै व्यवस्था गरेका छौँ । अलैँची, रुद्राक्ष लगायतका वस्तुहरूको निर्यात प्रवर्द्धनका लागि कूटनीतिक नियोगहरूसँग समन्वय गर्नेछौँ ।’ 

मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रमा प्रदेशका अस्पतालहरूलाई स्तरवृद्धि गर्ने योजना अघि सारेका छन् । उनले प्रत्येक जिल्ला अस्पताललाई न्यूनतम ५० बेडको बनाउने र विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । विशेषगरी धनकुटामा शिक्षण अस्पताल स्थापना गर्ने कुरालाई उनले प्राथमिकतामा राखेका छन् । उनले भने, ‘यदि धनकुटा जिल्लाले हामीलाई जमिन उपलब्ध गराइदिने हो भने चिकित्सा शास्त्रको अध्ययन गर्ने गरी यसै वर्षदेखि नर्सिङ लगायतका कार्यक्रम सुरु गर्नेछौँ र अर्को वर्षदेखि एमबिबिएसको प्रक्रियामा जानेछौँ ।’

यसले पहाडी क्षेत्रको बसाँइसराइ रोक्न र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा गाउँमै पुर्‍याउन मद्दत गर्ने उनको विश्वास छ । कार्कीले थपे, ‘यसले धनकुटाबाट मधेस झर्ने क्रमलाई रोक्न सक्छ र पहाडको अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’ 

कोशी प्रदेशलाई पर्यटनको केन्द्र बनाउन भ्रमण वर्षको अवधारणालाई अझ सशक्त बनाइने मुख्यमन्त्रीले बताए । लुक्ला, सगरमाथा क्षेत्र र अन्य धार्मिक पर्यटकीय स्थलहरूको विकासमा सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ । उनले भने, ‘कोशी प्रदेश भ्रमणका लागि उत्कृष्ट ठाउँ हो भन्ने कुरा स्थापित गर्न सफल भएका छौँ । विराटनगरबाट लुक्ला, तुम्लिङटारलगायत ठाउँमा सिधा उडानको व्यवस्था मिलाउने र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिनेछौँ ।’ 

पहाडबाट मधेसतिर भइरहेको तीव्र बसाँइसराइ प्रदेशका लागि ठुलो चुनौती भएको मुख्यमन्त्री कार्कीले स्वीकार गरे । यसलाई रोक्न साना सहर विकासको कार्यक्रम ल्याइएको उनले जानकारी दिए । कार्कीले भने, ‘पहाडबाट मधेसको बसाँइसराइ रोक्न साना सहरहरूको विकास गर्नुपर्छ। खानेपानी, स्वास्थ्य र शिक्षाको उपलब्धता भएका साना सहरहरू पहाडी राजमार्गअन्तर्गत विकास गर्ने हाम्रो लक्ष्य छ ।’ 

युवाहरूलाई प्रदेशमै टिकाउन स्वरोजगारका कार्यक्रमहरू र ट्यालेन्ट हन्ट जस्ता योजनाहरू अघि सारिएका छन् । उनले भने, ‘पढ्दै कमाउँदै गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ । लोकसेवा आयोगमार्फत ट्यालेन्ट हन्ट गरेर जेहेन्दार युवाहरूलाई राज्यको मूल धारमा ल्याउनेछौँ ।’ 

मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमुक्त प्रदेश र सुशासनको प्रतिबद्धता दोहोर्‍याए । यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र स्मार्ट लाइसेन्सको वितरणलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको उनले बताए । उनले दाबीका साथ भने, ‘कोशी प्रदेशमा यदि लाइसेन्स हामीले छाप्न पाउने हो भने एक दिनमै लाइसेन्स दिन सक्छौँ भन्ने कुरा पुष्टि गरेका छौँ । संघीय सरकारसँगको समन्वयमा यो समस्या छिट्टै समाधान गर्नेछौँ ।’ 

जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा बाढी र पहिरोको जोखिम बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गरिने बताए । कार्कीले भने, ‘विपद् व्यवस्थापन हाम्रो पहुँचभन्दा बाहिर जाँदै छ । वातावरणीय प्रतिकूलताले गर्दा ठुलो वर्षा र क्षति भइरहेको छ । यसका लागि हामीले वातावरणीय अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्छ ।’ 

उनले प्रदेश संरचना आवश्यक रहेको र यसलाई प्रभावकारी बनाउन सबैको साथ चाहिने बताए । उनले भने, ‘यो निर्वाचन प्रदेश राख्ने कि खारेज गर्ने भनेर भएको जनमत संग्रह होइन । यो त आवधिक निर्वाचन हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण छ ।’ 

मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रममा समेटिएका विषयहरूलाई बजेटमार्फत कार्यान्वयन गरिने र यसमा सत्तापक्ष तथा प्रतिपक्ष सबैको रचनात्मक सुझावलाई आत्मसात गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मैले यो नीति कार्यक्रमलाई गर्वका साथ उत्कृष्ट भनेको छु । यसमा यहाँहरूले उठाएका महत्वपूर्ण सुझावहरूलाई समावेश गरिनेछ र समृद्ध कोशी बनाउने अभियानमा हामी सबै एक भएर अघि बढ्नेछौँ ।’ 

मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएसँगै आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । यद्यपि विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले संशोधन गर्ने समय नदिएको भन्दै असन्तुष्टि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप