सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अर्थतन्त्रमा घरजग्गा क्षेत्रको योगदान ८ प्रतिशत, मूल्य अभिवृद्धि २.६९ प्रतिशतले बढ्ने अनुमान

बुधबार, १३ जेठ २०८३, १४ : ४३
बुधबार, १३ जेठ २०८३

सारांश

  • चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा घरजग्गा कारोबार क्षेत्रको योगदान ८ प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ ।
  • यस आर्थिक वर्षमा घरजग्गा कारोबार सेवा क्षेत्रको मूल्य अभिवृद्धि २.६९ प्रतिशतले बढ्ने अनुमान छ, जुन गत वर्षको तुलनामा सामान्य कमी हो ।
  • पछिल्लो एक दशकमा घरजग्गा क्षेत्रले अर्थतन्त्रमा बलियो र स्थिर उपस्थिति जनाएको छ, जसको वार्षिक औसत योगदान ८.६३ प्रतिशत रहेको छ ।

काठमाडौँ । चालू आर्थिक वर्षमा सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा घरजग्गा कारोबार क्षेत्रको योगदान ८ प्रतिशतभन्दा माथि रहने अनुमान गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा यस्तो अनुमान गरिएको हो । सर्वेक्षण अनुसार समग्र अर्थतन्त्रमा यस क्षेत्रको हिस्सा महत्त्वपूर्ण देखिएको छ ।

चालु आर्थिक वर्षमा घरजग्गा कारोबार सेवा क्षेत्रको मूल्य अभिवृद्धि २.६९ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.७७ प्रतिशतले बढेको थियो । गत वर्षको तुलनामा वृद्धिदरमा सामान्य कमी आए पनि समग्रमा सकारात्मक अवस्था छ । 

यस क्षेत्रको मूल्य अभिवृद्धि बढ्नुमा घरजग्गा कारोबारमा देखिएको सामान्य वृद्धिका साथै निजी आवास तथा भाडाका क्रियाकलापमा भएको उल्लेख्य वृद्धिलाई मुख्य कारण मानिएको छ । 

जीडीपीमा ८.०७ प्रतिशत योगदान

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा कारोबार क्षेत्रको योगदान ८.०७ प्रतिशत रहने अनुमान गरिएको छ । समग्र अर्थतन्त्रको आकार बढ्दा यस क्षेत्रको प्रतिशतगत योगदान गत वर्षको तुलनामा झिनो अङ्कले घटेको छ । गत आर्थिक वर्षमा जीडीपीमा यस क्षेत्रको योगदान ८.१९ प्रतिशत रहेको थियो ।

पछिल्लो एक दशकमा नेपालको अर्थतन्त्रमा घरजग्गा क्षेत्रले निरन्तर बलियो र स्थिर उपस्थिति जनाउँदै आएको सर्वेक्षणमा उल्लेख छ । पछिल्लो १० वर्षको अवधिमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत ८.६३ प्रतिशत रहेको छ । यो अवधिमा घरजग्गा कारोबार क्षेत्रको औसत वार्षिक वृद्धिदर २.६५ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप