सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

मर्दैछन् सुमात्राका हात्तीहरू, पृथ्वीकै दुर्लभ जीव जोगाउने हाम्रो संघर्ष

शुक्रबार, १५ जेठ २०८३, ०७ : ४३
शुक्रबार, १५ जेठ २०८३

इन्डोनेसियाको बेङ्कुलु प्रान्तमा पर्ने दक्षिणी सुमात्राको एक ‘उत्पादन वन’ (व्यावसायिक हिसाबले व्यवस्थित गरिएको जंगल क्षेत्र)मा दुई वटा हात्ती मृत फेला परे ।

एउटा माउ हात्ती र उसको छावा आफ्ना दाह्रा सग्लै भएकै अवस्थामा एकअर्काको छेउमा लडिरहेका थिए । दाह्रा सुरक्षित भएकाले उनीहरूलाई तस्करहरूले मारेका हुन् भन्ने सम्भावना निकै कम छ ।

गत अप्रिलको अन्त्यतिर ती हात्तीहरू लडिरहेको ठाउँ नजिकै एउटा बाघ मर्नुको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।

तर, संरक्षणवादीहरूका अनुसार यो कुनै नौलो वा एक्लो घटना भने होइन । अनुमान अनुसार सन् २०१८ यता बेङ्कुलुमा मात्रै सातवटा जङ्गली हात्तीको मृत्यु भइसकेको छ ।

बेङ्कुलुको सेबलात क्षेत्र वरपर कुनै समय सुमात्रान हात्तीहरू (इलेफास म्याक्सिमस सुमात्रानुस) को संख्या ठुलो थियो । तर, खेतीपाती र पाम तेल खेतीका कारण भएको तीव्र वनविनाश र चोरीशिकारी सन् २०११ मा यो जीवलाई इन्टरनेसलन युनियन फर कन्जरभेसन नेचर (आईयुसिएन) को ‘अति सङ्कटग्रस्त’ जनावरको सूचीमा पुर्‍यायो ।

बेङ्कुलुका वन्यजन्तु संरक्षणवादीहरूका अनुसार त्यसयता हात्तीको संख्या अझ तीव्र रूपमा घटेको छ । वातावरणीय संस्था ‘कानोपी हिजाउ इन्डोनेसिया’का निर्देशक अलि अकबर भन्छन्, ‘सन् २०१० मा यस क्षेत्रमा हात्तीको औसत संख्या १०० देखि १५० सम्म थियो । तर, आज सेबलात क्षेत्रमा यिनीहरूको संख्या ५० वटाभन्दा बढी छैन, जसले गर्दा यिनीहरूको अस्तित्व निकै गम्भीर अवस्थामा पुगेको छ ।’

आफ्नो प्राकृतिक वासस्थानबाट निरन्तर धपाइएका कारण मानव–हात्ती द्वन्द्वका घटनाहरू बढ्दै गएका छन् । हात्तीहरू आहाराको खोजीमा खेतीयोग्य जमिनमा पस्ने र मानव बस्तीहरूमा भौँतारिने गरेका छन् ।

elephant-sumatra

बान्डुङ प्रविधि संस्थानका प्राध्यापक बुरहानुद्दीन मस्युदको अनुमान अनुसार सन् २०२४ को जनवरीदेखि २०२५ को अक्टोबरको बिचमा मात्रै सुमात्रान हात्तीहरूको कम्तीमा १,५८५ हेक्टर (४,००० एकड) वासस्थान नष्ट भइसकेको छ ।

‘बेङ्कुलुमा जे भइरहेको छ, त्यो केवल वन विनाश मात्र होइन, बरु हात्ती र पर्यावरणबिचको पारस्परिक सन्तुलन, पारिस्थितिकी र तिनीहरूको वंशवृद्धि प्रणालीमाथि सीधै प्रहार हो । यसको असर बहुआयामिक र दीर्घकालीन हुनेछ,’ उनले हालैको एउटा लेखमा लेखेका छन् ।

हालै भएका हात्तीका मृत्युका घटनाहरूको अनुसन्धान जारी रहे तापनि स्थानीय सञ्चारमाध्यमका अनुसार सो क्षेत्रमा कार्यरत दुईवटा काठ व्यवसायी कम्पनीहरूको लाइसेन्स खारेज गरिएको छ ।

थर्मल प्रविधिको प्रयोग

अप्रिलको अन्त्यमा हात्तीका दुईवटा शव फेला परेपछि वन मन्त्रालयअन्तर्गतको ‘बेङ्कुलु प्राकृतिक स्रोत संरक्षण एजेन्सी’ (बिकेयसडिए)ले थर्मल इमेजिङ (तापक्रम मापन गर्ने) ड्रोनको प्रयोग गरेर सेबलात क्षेत्रको निगरानी गर्न सुरु गरेको छ ।

बिकेयसडिएका प्रमुख अगुङ नुग्रोहोका अनुसार यसको उद्देश्य हात्तीको वास्तविक संख्या र उनीहरूको वासस्थानको अवस्था पत्ता लगाउनु हो । यसबाट ‘अतिक्रमण नियन्त्रण गरी अल्पकालीन वासस्थान सुरक्षा गर्ने र सुशासनमा सुधार ल्याएर दीर्घकालीन संरक्षण गर्ने’ योजना बनाइनेछ ।

elephant-sumatra (2)

ड्रोनहरूले बिहान सबेरै, जब हावाको तापक्रम कम हुन्छ र हात्तीको शरीरको तापक्रम सजिलै पत्ता लाग्छ, केही वर्ग किलोमिटर क्षेत्रको निरीक्षण गरेका थिए । हात्तीहरू हिँड्ने गरेको निश्चित क्षेत्र, जहाँ एकदेखि तीन दिन पुराना गोबर र पाइलाका डोबहरू भेटिएका थिए, तिनै ठाउँमा यो निगरानी गरिएको थियो । अगुङलाई आशा छ कि थर्मल इमेजिङले बगालमा रहेका छावाहरूको संख्या पत्ता लगाई हात्तीको स्वास्थ्य र वंशवृद्धिको अवस्था उजागर गर्नेछ ।

‘एउटा बगालमा धेरै संख्यामा हात्तीहरू हुनुले उनीहरूको दीर्घकालीन आनुवंशिक निरन्तरता सुनिश्चित गर्छ । बगाल सानो हुनु र छावाहरू नदेखिनु भनेको जनसंख्या अस्वस्थ रहेको डरलाग्दो सङ्केत हो । यस्तो अवस्थामा विभिन्न बगालहरूबिच सम्पर्क बढाउन कोरिडोर (आवागमन मार्ग) सुनिश्चित गर्ने वा अन्य बगालबाट हात्तीहरू स्थानान्तरण गर्ने जस्ता रणनीतिहरू आवश्यक पर्छ,’ अगुङ भन्छन् ।

तस्करहरूबाट जोगाउनका लागि एजेन्सीले हात्तीहरू देखिएका निश्चित स्थानहरू भने गोप्य राखेको छ । हालैको स्क्यानिङले चारवटा छावासहित १७ वटा हात्तीको एउटा बगाल पहिचान गरेको छ ।

इन्डोनेसिया हात्ती संरक्षण मञ्चका वाह्दी आज्मी, जो आईयुसिएनको एसियाली हात्ती विशेषज्ञ समूहका सदस्य पनि हुन्, भन्छन् कि थर्मल ड्रोनले हात्तीका बगालहरूको वितरण, उनीहरूको आवतजावतको ढाँचा, सम्भावित द्वन्द्वहरू बुझ्न र दुर्गम क्षेत्रमा उनीहरूको उपस्थिति पत्ता लगाउन मद्दत गर्दछ । ‘तर, यदि समस्याको जरोलाई सम्बोधन गरिएन भने केवल निगरानी मात्र पक्कै पनि पर्याप्त हुँदैन,’ उनी भन्छन् ।

संरक्षण संस्था ‘जेनेसिस बेङ्कुलु’का निर्देशक एगी एदे सापुत्राका अनुसार निगरानीपछि उक्त क्षेत्रको पुनरुत्थानका लागि ठोस कदम चालिनु पर्छ । ‘काठ कटानी र पाम तेल खेतीका अनुमति पत्रहरू खारेज गरेर सेबलात क्षेत्रलाई वन्यजन्तु आरक्षको रूपमा घोषणा गर्ने र यहाँको पारिस्थितिक प्रणालीलाई पुरानै अवस्थामा फर्काउने बेला भइसकेको छ,’ उनी भन्छन् ।

भविष्यको बाटो

यसै महिना वनमन्त्री राजा जुली एन्टोनीले विशेषज्ञहरूसँगको बैठकमा संरक्षणका प्रयासहरूलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘हामी सुमात्रान हात्तीको जनसंख्या जोगाउन गम्भीर छौँ, र यो काम सजिलो छैन ।’

हात्तीको वासस्थान वरपरका समुदायहरूका लागि ‘पूर्वचेतावनी प्रणाली’ लागू गर्ने र ती क्षेत्रहरूलाई जोड्ने कोरिडोरहरूको नक्साङ्कन गर्ने प्रतिबद्धताहरू पनि बैठकमा जनाइएको छ । बिकेयसडिएका प्रमुख अगुङ नुग्रोहोका अनुसार बेङ्कुलुमा विचार भइरहेका विभिन्न योजनाहरूमध्ये आरक्षको स्थापना पनि एक हो ।

elephant-sumatra (1)

‘लिङ्कार इनिसिएटिफ इन्डोनेसिया’का वन्यजन्तु संरक्षण अभियानकर्ता ह्यारी सिस्वोयो भन्छन् कि यस कार्यलाई सफल बनाउन स्थानीय समुदायहरूलाई संलग्न गराउनु अति आवश्यक छ, किनकि धेरैजसो स्थानीयहरू हात्तीलाई बालीनाली नष्ट गर्ने ‘हानिकारक जीव’का रूपमा लिन्छन् ।

‘हामीले स्थानीय समुदायहरूमाझ पारिस्थितिक प्रणालीमा हात्तीको महत्त्व कति छ भन्ने दृष्टिकोण बदल्न व्यापक रूपमा अभियानहरू चलाउनुपर्छ,’ उनी भन्छन् ।

हात्तीहरूलाई ‘इकोसिस्टम इन्जिनियर’ भनिन्छ; किनकि उनीहरूको आवतजावत र व्यवहारले जङ्गलको संरचना बनाउन, प्राकृतिक मार्गहरू खोल्न, नयाँ वनस्पतिहरूका लागि ठाउँ बनाउन र बीउ फैलाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

‘हात्ती संरक्षण केवल जनावर बचाउने कुरा मात्र होइन, यो मानव जातिको भविष्यलाई धान्ने पारिस्थितिक प्रणालीको निरन्तरता कायम राख्ने कुरा पनि हो,’ वाह्दी आज्मी भन्छन् ।

उनी थप्छन्, भविष्यमा संरक्षणवादीहरू केवल मानव–हात्ती द्वन्द्व समाधान गर्ने परम्परागत शैलीबाट माथि उठेर यस्तो पर्यावरण निर्माणतर्फ लाग्नुपर्छ जसले मानिस र हात्ती दुवैलाई अझ सुरक्षित र दिगो रूपमा एउटै क्षेत्र साझा गरेर बस्न मद्दत गरोस् । ‘यसका लागि विज्ञान, नीति, भूभाग व्यवस्थापन, प्रविधि, बहु–क्षेत्रीय सहकार्य र दीर्घकालीन सामुदायिक संलग्नता आवश्यक पर्दछ ।’

द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टोङ्गो सिमानगुनसङ
टोङ्गो सिमानगुनसङ
लेखकबाट थप