आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

श्रम स्वीकृति पछि मात्रै वैदेशिक रोजगारीका लागि विमानस्थलमा आउन अध्यागमनको आग्रह

आइतबार, १७ जेठ २०८३, ११ : १२
आइतबार, १७ जेठ २०८३

सारांश

  • श्रम स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने श्रमिकलाई अध्यागमन विभागले स्वीकृतिपछि मात्र आउन अनुरोध गरेको छ ।
  • वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र राहदानीबाहेक अन्य कुनै बिल वा रसिद पेस गर्नुपर्दैन ।
  • भिजिट भिसामा जानेले ६ महिनाको राहदानी, टिकट, भिसा र स्वघोषणा अनिवार्य पेश गर्नुपर्नेछ ।

काठमाडौँ । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ । विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।

अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानी लिएर मात्र विमानस्थल आउन अनुरोध गरेको छ। 

वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्ने नेपाली श्रमिकहरूले विमानस्थलमा श्रम स्वीकृति र राहदानीबाहेक अन्य कुनै पनि थप बिल वा रसिद पेस गर्नुपर्ने जनाएको छ । 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने ब्यहोरा जानकारी गराइन्छ ।’

यसैगरी, भिजिट भिसा (भ्रमण भिसा) मा विदेश जाने नेपाली नागरिकहरूको हकमा पनि मन्त्रिस्तरीय निर्णय र प्रचलित कानुनअनुसार भिजिट भिसामा जानका लागि कम्तीमा ६ महिना वैधता अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट, सम्बन्धित मुलुकको भिसा र स्वघोषणा अनिवार्य गरिएको विभागले जनाएको छ ।

Capture1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप