आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हल्लिन थालेपछि कोलकातामा रहेको ७० फिट अग्लो मेस्सीको मूर्ति हटाइयो

सोमबार, १८ जेठ २०८३, २१ : ०५
सोमबार, १८ जेठ २०८३

कोलकाता । भारतमा निर्माण गरिएको ७० फिट अग्लो लियोनेल मेस्सीको मूर्ति हावामा हल्लिन थालेपछि हटाइएको छ । 

पश्चिम बंगालको कोलकतामा रहेको उक्त विशाल मूर्ति मेस्सीको भारत भ्रमणअन्तर्गत आयोजित ‘गोट (जीओएटी) को टुर’ का क्रममा गत डिसेम्बरमा स्थापना गरिएको थियो । ‘जीओएटी’ को अर्थ ‘सर्वकालीन महान्’ (ग्रेटेस्ट अफ अल टाइम) हो । 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय बासिन्दाहरूबाट गुनासो आएपछि पब्लिक वर्क डिपार्टमेन्ट (पीडब्ल्यूडी) का इन्जिनियरहरूले मे २५ मा मूर्तिको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मूर्तिको संरचनात्मक अवस्था निकै कमजोर रहेको निष्कर्ष निकालियो । र, त्यसलाई तत्काल हटाएर अन्यत्र सार्न आदेश दिइएको थियो । 

मूर्ति व्यस्त सडक र भूमिगत मार्ग (सबवे) नजिकै रहेकाले त्यसलाई हटाउनु सजिलो थिएन । फाइबरग्लास र फलामबाट बनेको उक्त संरचनालाई गत साता बलिया नाइलन डोरीले बाँधेर सुरक्षित बनाइएको थियो । साथै मानिस र सवारीसाधनलाई टाढा राख्न वरिपरि बार लगाइएको थियो । 

अहिले भने मूर्ति पूर्ण रूपमा हटाएर सार्ने काम सुरु गरिएको छ । 

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार उक्त मूर्ति अब पब्लिक वर्क डिपार्टमेन्टको जिम्मामा रहनेछ । यद्यपि यसलाई फेरि कहाँ स्थापना गरिने भन्ने विषयमा हालसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । 

लियोनल मेसीको यो मूर्ति कोलकाताको आकर्षणका रूपमा निर्माण गरिएको भए पनि सुरक्षा चिन्ताका कारण अन्ततः हटाउनुपरेको हो । यो मूर्ति ४५ सदस्यीय टोलीले २७ दिन लगाएर निर्माण गरेको थियो । 

मेस्सीले डिसेम्बरमा भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए । मेस्सी भिडियो स्क्रिनमार्फत देखिएका थिए र रिमोटको बटन थिचेर उद्घाटन गरेका थिए । तर कोलकताको साल्ट लेक स्टेडियममा उनको उपस्थितिका क्रममा भएको हिंसात्मक घटनाले उनको त्यस भ्रमणलाई ओझेलमा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप