बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विश्व

कागज मिलाएर खडा भएका विदेशी कम्पनीमाथि थाइल्याण्ड आक्रामक

बुधबार, २० जेठ २०८३, १५ : ३०
बुधबार, २० जेठ २०८३

सारांश

  • थाइल्याण्डले विदेशी स्वामित्वसम्बन्धी कानुन छल्न झूटो रूपमा कम्पनी दर्ता गर्नेहरूमाथि कडा कारबाही थालेको छ ।
  • सरकारी कागजातमा 'नेल सैलुन' जस्ता व्यवसाय दर्ता गरी वयस्क सामग्री व्यवसाय चलाउनेजस्ता ठगीका घटनाहरूमाथि निगरानी बढाइएको छ ।
  • यस्ता अवैध कार्यमा संलग्न विदेशी व्यवसायी र सम्पत्ति मालिकहरूको सम्पत्ति रोक्का वा जफत हुन सक्ने डरले परामर्श लिनेहरूको सङ्ख्या बढेको छ ।

बैंकक । सरकारी कागजातमा ‘नेल सैलुन’ कम्पनीका रूपमा दर्ता गरिएको थियो । तर उक्त कम्पनी वयस्क सामग्री व्यवसायका लागि खोलिएको देखावटी कम्पनी थियो । यसलाई एक इजरायली महिलाले सञ्चालन गरिरहेकी थिइन् ।

ती महिलाको कम्पनी रहेको दक्षिणी प्रान्त क्राबीमै लगभग यस्ता ५०० व्यवसाय छन् ।  थाई अधिकारीहरूका अनुसार ती सबै कम्पनीहरू विदेशी व्यक्तिसँग सम्बन्धित हुन् ।  जसले विदेशी स्वामित्वसम्बन्धी कानुन छल्न थाई नागरिकलाई बहुमत सेयरधनीका रूपमा उभ्याउँदै झूटो रूपमा दर्ता गरेका थिए ।

विदेशी व्यवसाय ऐन अनुसार गैर–नागरिकहरूलाई सामान्यतया स्थानीय व्यवसायमा ४९ प्रतिशतभन्दा बढी स्वामित्व राख्न अनुमति छैन ।

यो नियमबाट बच्न केही विदेशी उद्यमीहरूले स्थानीय व्यक्तिलाई पैसा दिएर कागजी प्रक्रिया पूरा गराउँछन्, जसमा ती स्थानीय व्यक्तिहरूले कम्पनीको कम्तीमा ५१ प्रतिशत स्वामित्व आफूमा रहेको देखाउँछन्, जबकि उनीहरूको व्यवसायमा न्यून वा कुनै भूमिका नै हुँदैन ।

वर्षौँसम्म यस्ता शङ्कास्पद ‘छद्म थाई सेयरहोल्डरको’ प्रयोगलाई बेवास्ता गर्दै आएका अधिकारीहरूले अहिले भने कडा निगरानी थालेका छन् । उनीहरूले स्थानीय साझेदारका रूपमा दर्ता गरिएका नागरिकहरूसँग कम्पनीमा वास्तविक स्वामित्व र लगानी रहेको प्रमाण माग्न थालेका छन् ।

लोकप्रिय पर्यटकीय क्षेत्रहरूमा व्यापक निरीक्षण अभियान सञ्चालन गर्नुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सरकारी डाटाबेसहरूको तुलना तथा विश्लेषण गरेपछि सरकारले विदेशी सम्बन्ध भएका ५० हजार कम्पनीहरूलाई थप अनुसन्धानका लागि पहिचान गरेको छ ।

कानुनी फर्महरूका अनुसार यदि विदेशी व्यवसायी वा सम्पत्ति मालिकहरू ‘अवैध नोमिनी’ योजनामा संलग्न रहेको पाइएमा उनीहरूको सम्पत्ति रोक्का वा जफत हुन सक्ने डरले परामर्श खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

‘लयर फर एक्सपाट्स थाइल्याण्ड’का विदेशी मामिला महाप्रबन्धक ब्रायन राम्सडेनले अल जजीरासँग भने, ‘उनीहरू सबैले आफ्नो लगानी गुम्ने र आपराधिक मुद्दा खेप्नुपर्ने डर व्यक्त गरिरहेका छन् ।’

राम्सडेनले थपे कि उनीहरू सधैँ भन्ने गर्छन्, ‘हामीलाई यो गैरकानुनी हो भन्ने थाहा थियो, तर वकिलहरूले ठिकै छ भनेका थिए ।’

राम्सडेनका अनुसार उनको फर्ममा अहिले दैनिक १०० भन्दा बढी फोन आइरहेका छन्, जसमा अधिकांशले ‘अब के गर्ने ?’ भनेर सोध्ने गरेका छन् ।

थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुल यस्ता जालसाजीपूर्ण रूपमा दर्ता गरिएका कम्पनीविरुद्ध अभियान चलाउने प्रमुख व्यक्तिहरूमध्ये एक हुन् ।

गत महिना दक्षिणी थाइल्याण्डका लोकप्रिय पर्यटकीय क्षेत्रहरूको भ्रमणका क्रममा उनले अवैध व्यवसायमाथि कडा कारबाही गर्ने तथा सेल कम्पनी प्रयोग गर्ने आपराधिक सञ्जालहरूलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएका थिए । दक्षिणपूर्वी एसियामा साइबर ठगी सञ्जालहरू तीव्र रूपमा फैलिरहेका कारण यो विषय थप संवेदनशील बनेको छ ।

उनले भने, ‘कुनै एक व्यक्तिले २०० भन्दा बढी कम्पनीमा शेयर राखेको र स्वामित्व दाबी गरेको अवस्थामा त्यो वास्तवमा कम्पनी बेच्ने वा सेल कम्पनी बेच्ने काम हो, जसबाट विदेशीहरूले व्यापार सञ्चालन गर्न सक्छन् ।’

‘यो कानुनको मूल उद्देश्य विपरीत छ र हामी यस आधारमा मुद्दा चलाउन सक्षम हुने विश्वास गर्छौँ,’ उनको भनाइ थियो । 

गत महिना गरिएको लेखा परीक्षणपछि वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रिसोर्ट टापु कोह सामुई र कोह फाङ्गनान मा रहेका १६ हजार ८ सय दर्ता कानुनी संस्थामध्ये करिब ७० प्रतिशतमा विदेशीहरूको आंशिक स्वामित्व रहेको छ । यद्यपि मन्त्रालयले विदेशी सम्बन्ध हुनु मात्र कानुन उल्लंघन भएको प्रमाण नभएको स्पष्ट पारेको छ ।

विदेशी शङ्कास्पद व्यक्तिविरुद्ध कारबाही

गत साता अधिकारीहरूले फुकेट र सुरातथानी प्रान्तमा जालसाजीपूर्ण रूपमा दर्ता गरिएका कम्पनीहरूको अनुसन्धानपछि २८ विदेशी शङ्कास्पद व्यक्तिलाई अभियोजनका लागि सरकारी वकिलसमक्ष पठाइएको जानकारी दिएका थिए ।

यसअघि कोह फाङ्गनानका अधिकारीहरूले करिब १५ करोड बाट (४५ लाख अमेरिकी डलर) मूल्य बराबरका ३० वटा जग्गा जफत गरेको तथा अवैध कम्पनीहरूसँग सम्बन्धित दुई थाई नागरिकलाई पक्राउ गरेको घोषणा गरेका थिए ।

कडा कारबाहीको अभियान सुरु हुनुमा केही स्थानीय व्यवसायीहरूको असन्तुष्टि पनि कारण मानिएको छ ।

आफ्नो वास्तविक नाम सार्वजनिक गर्न नचाहने प्रख्यात थाई व्यवसायी थोङले अल जजीरासँग भने, ‘धेरै विदेशीहरूले बंगलामा लगानी गरेर तिनलाई होटलमा रूपान्तरण गरिरहेका छन् । एकपटक विकास भइसकेपछि मूल्यका हिसाबले थाई नागरिकहरूको पहुँच बाहिर जान्छ ।’

उनले भने, ‘ती सम्पत्तिहरूमा विदेशीहरूको पूर्ण स्वामित्व हुनु उचित होइन, किनभने त्यसले धेरै थाई नागरिकलाई पछि धकेल्छ । वास्तविक समस्या यही हो ।’

यस अभियानले वैध विदेशी लगानीकर्ताहरू अनजानमै कानुनी समस्यामा पर्न सक्ने र त्यसले लगानी गन्तव्यका रूपमा थाइल्याण्डको प्रतिष्ठामा असर पार्न सक्ने चिन्ता पनि बढाएको छ ।

हालको नियमअनुसार कुनै पनि ‘अपार्टमेन्ट’ परियोजनाको ५१ प्रतिशत हिस्सा थाई नागरिकका लागि सुरक्षित राख्नुपर्छ । तर बैंकक, फुकेट र पट्टायाजस्ता लोकप्रिय क्षेत्रमा विकासकर्ताहरूले सम्पूर्ण अपार्टमेन्ट ब्लक विदेशी ग्राहकलाई बिक्री गरेका उदाहरणहरू पनि पाइन्छन् ।

अनलाइन फोरमहरूमा विदेशीहरूले थाइल्याण्डमा सम्पत्ति किन्ने वा भाडामा लिने क्रममा भोगेका समस्याहरू सुनाइरहेका छन् । कतिपयले आफूले किनेको अपार्टमेन्टको ब्लक कानुनी रूपमा आफ्नो स्वामित्वमा नरहेको तथ्य पछि मात्र थाहा पाएको बताएका छन्, किनभने ती सम्पत्ति थाई स्वामित्वका लागि आरक्षित गरिएको थियो ।

पट्टायास्थित विदेशी लगानी तथा कर विशेषज्ञ भिक्टर वोङका अनुसार त्यहाँका विदेशी व्यवसायी र लगानीकर्ताहरू अहिले ‘उच्च सतर्कता र तनाव’ को अवस्थामा छन् ।

उनले अल जजीरासँग भने, ‘कानुनी रूपमा प्रवेश गर्ने विकल्पहरू विस्तार नगरी प्रणालीलाई झन् कडा बनाइँदै छ ।’

‘ग्राहकहरू अब छोटो बाटो खोजिरहेका छैनन् । उनीहरू दीर्घकालीन, कानुनी र दिगो संरचना खोजिरहेका छन्, जसले उनीहरूलाई आत्मविश्वासका साथ थाइल्याण्डमा व्यापार सञ्चालन गर्न अनुमति देओस्,’ उनले भने ।

दशकौँ पुराना नियमहरूको अचानक कडा कार्यान्वयनले विदेशी समुदायमा चिन्ता पैदा गरे पनि सबै विदेशी बासिन्दाहरू यसको विरोधमा छैनन् ।

राम्सडेन भन्छन्, ‘यो थाइल्याण्डको गल्ती होइन । कसैले पनि विदेशीहरूलाई  टाउकोमा बन्दुक तेर्स्याएर यहाँ आउन बाध्य पारेको छैन । उनीहरू थाइल्याण्ड आउँछन् र धेरैजसो अवस्थामा आफ्नो सामान्य विवेक नै बिर्सन्छन्,’ उनले भने ।

उनले थपे, ‘यो समस्या नियम पालना नगर्ने मानिसहरूको हो । यो कडाइले थाइल्याण्डलाई अझ राम्रो र सुरक्षित बनाउनेछ ।’

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप