बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन

बुधबार, २० जेठ २०८३, २३ : २१
बुधबार, २० जेठ २०८३

सारांश

  • ३३१ विद्यार्थीले छात्रवृत्ति परीक्षाको पुनर्योगका लागि निवेदन दिएका छन्।
  • ९६ विद्यार्थीले विवरण सच्याउन माग गर्दै आवेदन दिएका छन्।
  • अन्तिम योग्यता क्रम भोलि बिहानसम्ममा प्रकाशन गरिनेछ।

काठमाडौँ । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् ।

ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुने कामपा शिक्षा विभागले जानकारी दिएको छ । कामपा शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे) सम्मको अवधि दिएको थियो ।

यस अवधिमा विवरण सच्याउनसहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएकामध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिएका छन् ।

यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकाले सच्याउन माग गर्नुभएको खड्काको भनाइ छ । केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन् । समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरू सम्बोधन गर्ने व्यवस्था छैन ।

विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । उनी भन्छन्, “हामी पुनर्योगको प्रक्रियामा छौँ । विगत वर्षहरूमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन । ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकाले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ ।”

कामपाले लिएको यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको कामपाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप