बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
सारांश
- बागमती प्रदेश सरकारले आर्थिक अनुशासन विपरीत बजेट खर्च गरेको र महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशको अद्यावधिक बेरुजु ५ अर्ब २८ करोड ६ लाख ९४ हजार पुगेको छ ।
- महालेखा परीक्षकको प्रतिवेदनले प्रदेश सरकारको बेरुजु बढ्नुमा टुक्रे योजना, अनुत्पादक परामर्श र बिनातयारी गरिएका खरिद मुख्य कारण रहेको औँल्याएको छ ।
- प्रदेश सरकारले करोडौँका मेसिन खरिद गरे पनि प्रयोगमा नआएको, वन क्षेत्र अतिक्रमण भएको र परामर्शदातामा निर्भरता बढेको प्रतिवेदनले देखाएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक अनुशासन विपरीत बजेट खर्च गरेको देखिएको छ । महालेखा परीक्षकको आठौँ प्रतिवेदन अनुसार प्रदेश सरकारको अद्यावधिक बेरुजु ५ अर्ब २८ करोड ६ लाख ९४ हजार पुगेको छ ।
बजेटको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च गरेको, प्रदेश सरकारका विभिन्न मन्त्रालयले नियम मिचेर गरेको खर्च र बेवास्ताका कारण उक्त बेरुजु थपिएको प्रतिवेदनमा औँल्याइएको छ ।
महालेखाले उक्त बेरुजु कायम हुनुमा मुख्यगरी ‘टुक्रे योजना’, ‘अनुत्पादक परामर्श’ र ‘बिनातयारी गरिएका खरिद’ गरेको विषय औँल्याएको छ ।
महालेखा परीक्षकले प्रदेश सरकारलाई आर्थिक अनुशासन कायम गर्न, टुक्रे आयोजनामा बजेट नछर्न र खरिद गरिएका उपकरणहरू तत्काल सञ्चालनमा ल्याउनसमेत निर्देशन दिएको छ । प्रतिवेदनले कर्मचारी र पदाधिकारीलाई प्रचलित कानुनको प्रभावकारी पालना गर्न र जवाफदेही बन्नसमेत सुझाव दिएको छ ।
प्रदेश सरकारले १ करोडभन्दा कमका योजना कार्यान्वयन नगर्ने नीति लिए पनि व्यवहारमा भने ५ लाखसम्मका योजनामा बजेट छरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले ठुला र गौरवका आयोजना बनाउने नीति लिए पनि व्यवहारमा भने टुक्रे आयोजनामा बजेट छर्ने काम नरोकिएको महालेखाले जनाएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत १ हजार २९७ योजनामा बजेट विनियोजन गरिएकोमा ६११ योजना (४७ प्रतिशत) ५ लाखदेखि १० लाखसम्मका साना र टुक्रे रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । साना योजनाले विकास नहुने र प्रशासनिक खर्चमात्र बढ्ने महालेखाको ठहर छ ।
महालेखाले साना र टुक्रे आयोजनामा बजेट छर्दा सञ्चालन खर्च बढी हुने र अपेक्षित लाभ नहुने भन्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई सचेत गराएको छ ।
प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले विनातयारी करोडौँका मेसिन खरिद गरे पनि प्रयोगमा आउन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले खरिद गरेका ती मेसिन अहिले प्रयोगविहीन बनेर कवाडी बन्ने अवस्थामा पुगेका महालेखाको प्रतिवदनमा उल्लेख छ ।
‘श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ करोड ४० लाख ९७ हजार खर्चेर खरिद गरेको स्मार्ट कार्ड छपाइ उपकरण प्रयोगमा आएको छैन । विद्युतीय सवारीका लागि खरिद गरिएका ४ करोड १४ लाख २५ हजार मूल्यका २४ थान चार्जर जडान नै नगरी थन्किएका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘त्रिशूली, रसुवा र सिन्धुली अस्पतालका लागि खरिद गरिएका अल्ट्रासाउण्ड, डायलाइसिस र सिटी स्क्यान मेसिनहरू प्राविधिक र सफ्टवेयरको समस्या देखाएर थन्क्याइएको छ । सञ्चालन मोडालिटीको अभावमा उपकरण प्रयोगमा नआएको र मर्मत अवधिसमेत घट्दै गएको देखिन्छ ।’
प्रदेशका १३ जिल्लामा १३ हजार ६११ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । सिन्धुलीमा मात्रै ७ हजार हेक्टरभन्दा बढी वन अतिक्रमण हुँदा पनि मन्त्रालयले अतिक्रमण रोक्न र मिचिएको जमिन फिर्ता लिन नसकेको महालेखाले जनाएको छ ।
महालेखाको प्रतिवेदन अनुसार मन्त्रालयहरूले आफैँले काम गर्न सक्ने ठाउँमा पनि बाह्य परामर्शदाता नियुक्त गरेर करोडौँ सकेका छन् । खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले १७७ वटा योजनाको डीपीआर बनाउनमात्रै ६ करोड ५५ लाख ९४ हजार रुपैयाँ खर्च गरेको र ती प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको देखिएको महालेखाले जनाएको छ ।
उपलब्ध जनशक्तिबाट गराउन नसकिने कार्यहरू मात्र परामर्शदाताबाट गराउनुपर्नेमा नियमित कामका लागि परामर्शदातामा निर्भरता बढाइएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।
प्रदेशको कुल बेरुजुमा आधाभन्दा बढी हिस्सा ओगट्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का व्यवस्थापनमा त्रुटि महालेखाको प्रतिवेदनमा उल्लेख छ । नियम विपरीत ठेकदारलाई बढी भुक्तानी दिएको र काममा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही नगरेको औँल्याइएको छ ।
मूल्य समायोजनका नाममा मात्रै यस मन्त्रालयले ९ करोड ३१ लाखभन्दा बढी रकम नियम विपरीत भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशका १३ जिल्लामा १३ हजार ६११ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । सिन्धुलीमा मात्रै ७ हजार हेक्टरभन्दा बढी वन अतिक्रमण हुँदा पनि मन्त्रालयले अतिक्रमण रोक्न र मिचिएको जमिन फिर्ता लिन नसकेको महालेखाले जनाएको छ । प्रदेशको कार्यक्षेत्रभित्र पर्ने ३ हजार २३० सहकारीमध्ये ३९ प्रतिशतले मात्र नवीकरण गरेको र ९३ वटा सहकारी सम्पर्कविहीन हुँदा पनि प्रभावकारी अनुगमन र कारबाही नभएकोमा महालेखाले प्रश्न उठाएको छ ।
सार्वजनिक खरिद नियमावली अनुसार २० लाखभन्दा बढीको सामान बोलपत्रबाट किन्नुपर्नेमा बागमतीका ७ वटा खानेपानी कार्यालयले ११ करोड ९९ लाख ४ हजार बराबरको पाइप र फिटिङ्स सोझै खरिद गरेर कानुनको उल्लङ्घन गरेको महालेखाले प्रतिवेदनमा मार्फत् जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण