राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका निवर्तमान महामन्त्री डा. धवलशमशेर जबराले पार्टी नेतृत्वले आफूहरूलाई पार्टी छोड्न बाध्य पारेको आरोप लगाएका छन्।
- डा. जबराले पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गर्दा पनि पार्टी नेतृत्व नै बाधक बनेको बताए।
- राप्रपाभित्रको आन्तरिक मतभेदका कारण डा. जबराको नेतृत्वमा एक सय ८३ जना नेताहरूले पार्टीबाट सामूहिक राजीनामाको घोषणा गरेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका निवर्तमान महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन्।
बिहीबार काठमाडौँमा आफू पक्षीय नेता तथा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै डा. जबराले यस्तो गुनासो गरेका हुन्। पार्टीलाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भए पनि पार्टी नेतृत्व नै त्यसमा बाधक बनेर उभिएको गम्भीर आरोप उनले लगाए।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य पारेको उनको भनाइ छ। पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेन्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने निष्कर्षमा पुगेको उनले प्रष्ट पारे। डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’ सँग तुलना गर्दै पुरानो संरचनाबाट देशमा अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको उल्लेख गरे।
आफ्नो निर्णय र बाध्यताबारे प्रकाश पार्दै डा. जबराले भने, ‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अङ्गालो मारेर अध्यक्ष बनाएका थियौँ। तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो। त्यो सुखको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ। मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस् हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ। त्यही जमर्कोमा आज हामीहरू लागेका छौँ। यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दुःखी वर्ष भयो। मैंने राप्रपालाई सही र एजेन्डा प्राप्तिको बाटोमा लग्न खोजेको थिएन कि? आन्दोलनको नेतृत्व गरेको थिएन कि? पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि, तर ती सबै मेरा प्रयासहरूलाई अगाडि बढ्न दिएनन्।’
राप्रपाभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक मतभेद उत्कर्षमा पुगेपछि निवर्तमान महामन्त्री डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरूले राप्रपाबाट सामूहिक राजीनामाको घोषणा गरेका छन्। राणा पक्षीय नेताहरूले बिहीबार काठमाडौँमा एउटा विशेष भेलाको आयोजना गरी पार्टीबाट अलग हुने यस्तो सामूहिक घोषणा गरेका हुन्।
यो सामूहिक बहिर्गमनले राप्रपाको आन्तरिक राजनीतिमा ठुलो धक्का लाग्ने र आगामी दिनमा डा. जबराको समूहले नयाँ दल गठन गर्ने वा अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्ने भन्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण