सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम

आइतबार, २४ जेठ २०८३, २२ : २१
आइतबार, २४ जेठ २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा अनुसन्धान थालेको छ ।
  • आयोगले बज्राचार्यलाई १३ पन्ने सम्पत्ति विवरण फारम भराएर बुझाउन लगाएको छ ।
  • यति समूहको जग्गा लिजमा अनियमितता प्रकरणमा बज्राचार्यको 'कनेक्सन' देखिएपछि ब्युरोले भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि अनुसन्धान थालेको छ । अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा आयोगले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

आयोगले बज्राचार्यलाई सम्पत्ति विवरण फारम भराएको छ । बज्राचार्यले सम्पत्ति विवरण सम्बन्धी १३ पन्ने फारम भरेर अख्तियारमा बुझाएका हुन् । अख्तियारका एक जना उच्च अधिकृत भन्छन्– ‘उहाँले शुक्रबार सम्पत्ति विवरण फारम बुझाउनु भएको हो ।’

मन्त्रिपरिषद्ले गठन गरेको पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगले १२ पान्ने फारम भराउँछ । तर, अख्तियारले भने १३ पन्ने फारम भराएर अकुत सम्पत्तिबारे अनुसन्धान गर्दै आएको छ । सम्पत्ति विवरणमाथि अनुसन्धान गर्दा गैरकानुनी रूपमा आर्जन गरेको भेटिएमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने कानुनी व्यवस्था छ ।

यति समूहको थामसेर्कु ट्रेकिङले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा लिँदा भएको अनियमितताबारे अनुसन्धान गर्दा बज्राचार्यको ‘कनेक्सन’ देखिएको थियो । राजेश बज्राचार्य र उनकी पत्नी रश्मी शाक्यले यति समूहबाट बालकोटस्थित रोज भिलेज हाउजिङभित्रको झन्डै चार आना जग्गामा बनेको घर घुस बापत लिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान निष्कर्ष छ ।

त्यसबेला बज्राचार्यलाई सरकारी वकिलले उन्मुक्ति दिएको थियो । २०८२ पुसमा ब्युरोले उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारमा लेखेर पठाएको थियो । ब्युरोका प्रमुख एआईजी डा.मनोज केसी भन्छन्, ‘त्यसमा हामीले भ्रष्टाचारबारे अनुसन्धान गर्नुपर्ने विषय अख्तियारमा लेखेर पठाएका थियौँ ।’

सीआईबीले बज्राचार्यमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको सूचना पाएपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट हुँदा ओलीले डा.केसीलाई त्यहाँबाट हटाउन आग्रह गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘सुशीला कार्कीसँग उहाँले एआईजी केसी अनावश्यक पछि लागेको बताउनुभएको थियो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप