सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने

सोमबार, २५ जेठ २०८३, १० : २८
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडामा आयोजना हुने भएको छ ।
  • प्रदेशका १३ जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्, जसमा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेतृत्वको उपस्थिति रहनेछ ।
  • अधिवेशनबाट रास्वपा बागमतीको नयाँ प्रदेश नेतृत्व चयन गरिनेछ, जसमा सर्वसम्मतिको प्रयास गरिनेछ ।

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडामा हुने भएको छ । हेटौँडा–१ स्थित हिमालयन दरबारमा हुने रास्वपा बागमती प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

अधिवेशनका लागि प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरू छनौट भएर आउने रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सांसद डा.अच्युत्तम लामिछानेले जानकारी दिए । पहिलो प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौँडामै आयोजना गर्न लागिएकाले पार्टीको विचार, सिद्धान्त र सङ्गठनात्मक सन्देश जनस्तरसम्म पुर्याउन सहज हुने उनले बताए ।

उनका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका जिल्ला, पालिका तथा वडा तहबाट छनोट भएका प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने उनले बताए । प्रदेशका १३ वटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र प्रतिनिधिहरू हेटौँडा आउने क्रम सुरु भएको उनले बताए ।

उनका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको छ । अधिवेशनमा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने उनको भनाइ छ ।

अधिवेशनबाट रास्वपा बागमतीको नयाँ प्रदेश नेतृत्व चयन गरिने उनले बताए । नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास हुने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने उनको भनाइ छ ।

रास्वपाले अधिवेशनका लागि प्रतिनिधिहरूले जनही एक हजार ५०० रुपैयाँ प्रतिनिधि शुल्क बुझाउने व्यवस्था गरिएको छ । सोही रकमबाट अधिवेशन सञ्चालन गर्ने तयारी गरी प्रतिनिधिमूलक र मितव्ययी ढङ्गले अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको प्रदेश सभापति डा. लामिछानेले बताए । 

अधिवेशनमा सर्वसाधारणका लागि खुला सभा नरहे पनि पार्टीका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक गरी करिब ४ हजार जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप