बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी

बुधबार, २७ जेठ २०८३, १५ : २०
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण भएको बताए । स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्‍याउने उनको धारणा थियो।

आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा बुधबार अनामनगरस्थित सिलौटो कटेजमा आयोजित तीन दिने चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढङ्गले प्रस्तुत गर्नुपर्ने धारणा राखे।

‘चलचित्र पत्रकारिताले चलचित्रलाई व्यावसायिकता र नयाँ ऊर्जा थप्ने विश्वास छ’, डिसीले भने ‘चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिन तयार छ।’

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ पत्रकार सहभागी थिए।

तालिममा चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्याङ्कन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो। तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए।

तीन दिनसम्म चलेको तालिम अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप