कसरी हुन्छ दरबार हत्याकाण्डको अनुसन्धान ?
सारांश
- गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघि भएको दरबार हत्याकाण्डबारे छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
- यो निर्णयले २०५८ जेठ १९ मा भएको नारायणहिटी हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउनेछ ।
- २५ वर्षअघिको घटना भएकाले सत्यतथ्य पत्ता लगाउन सहज नभए पनि मुलुकी अपराध संहिता अनुसार आरोपितको पहिचान खुलेमा जुनसुकै बेला पनि अनुसन्धान गर्न सकिने व्यवस्था छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलबार पदबहाली गर्दै २५ वर्षअघिको दरबार हत्याकाण्डबारे छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरे । निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ मा भएको नारायणहिटी हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने ।’
दरबार हत्याकाण्डमा परेर तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो ।
सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटले नेतृत्व गरेको उच्चस्तरीय समितिले त्यसबारे छानबिन गरेर प्रतिवेदन बुझाएको थियो । सो समितिले मदिराले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्रीको निर्णय अनुसार सो प्रतिवेदन अध्ययन गरेर घटनाबारे थप छानबिन हुनेछ । त्यस्तो छानबिन अर्को समितिबाट गर्ने वा आयोग बनाउने भन्नेबारे प्रस्ट भइसकेको छैन । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले सैद्धान्तिक रूपमा गृहमन्त्रीस्तरीय निर्णय भएको तर, कसरी छानबिन अघि बढाउने भन्ने तय हुन बाँकी नै रहेको बताए ।
२५ वर्षअघिको घटना भएका हुनाले अहिले सत्यतथ्य पत्ता लगाउन सहज छैन । मुलुकी अपराध संहिता अनुसार हत्या कसुरमा प्रमाण नखुलेमा २० वर्षसम्म अनुसन्धान गरेर मुद्दा अदालतमा लैजाने हदम्याद हुन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८७ अनुसार आरोपितको पहिचान खुलेमा जुनसुकै बेला पनि अनुसन्धान गरेर अभियोजन गर्न सकिने व्यवस्था छ । त्यस्ता मुद्दामा अनुसन्धान गर्ने निकाय प्रहरीले घटनास्थलमा भेटिएको दसी, प्रमाण सङ्कलन र घटनास्थल जाँच मुचुल्का गरेर राख्नुपर्छ । दरबार हत्याकाण्डको जाहेरी दर्ता र पोष्टमार्टम समेत नहुँदा सो घटनामा प्रहरीको प्रवेश नै भएको छैन ।
पूर्वडीआईजी हेमन्त मल्लले भने, ‘दरबार हत्याकाण्डमा प्रहरीले प्रवेश नै गर्न पाएको छैन । त्यसैले प्रमाणमुखी अनुसन्धान अब निकै कठिन हुन्छ ।’
दरबारमा त्यसबेला काम गरेका र राजपरिवारसँग निकट भएकाहरूले आ–आफ्नौ ढङ्गले दरबार हत्याकाण्डको व्याख्या गर्ने र पुस्तक प्रकाशन गरिरहेका छन् । प्रहरीलाई अनुसन्धान गर्ने जिम्मेवारी दिएमा घटनाको यकिन तथ्यमात्रै प्राप्त हुनसक्ने पूर्वडीआईजी मल्लले बताए । उनले भने, ‘स्टोरी टेलिङको हिसाबमा यसमा स्पष्ट तथ्यचाहिँ आउला, तर अभियोजन गर्नेगरी अनुसन्धानको रिजल्ट दिन सम्भव देखिँदैन ।’
दरबार हत्याकाण्डमा परिवार गुमाएका र हत्याको घटना हुँदा घटनास्थलमै रहेका गोरखा शमशेर राणा र तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह लगातयका पात्रहरूसँग अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा यकिन तथ्य आउन सक्ने प्रहरीका अधिकृत बताउँछन् ।
पूर्वएआईजी सुरेन्द्र बहादुर शाहले दरबार हत्याकाण्डको अनुसन्धान नहुनुमा घटनालाई राजनीतिक रूपमा लिइएको बताएका छन् । पत्रकार सुधिर शर्मासँग ‘अनि अब’ नामक कार्यक्रमका कुरा गर्दै शाहले भनेका छन्, ‘दरबार हत्याकाण्डलाई व्यावसायिक रूपले हेरिएन ।’
शाह प्रहरी निरीक्षक हुँदा २०४७ देखि २०४९ सम्म तत्कालीन राजा वीरेन्द्रको एडीसी थिए । घटना भएको दिन राति १ बजे छाउनीस्थित सैनिक अस्पतालमा पुगेकी मुमा बडामहारानी रत्नले दीपेन्द्रलाई हेर्दै नहेरेको शाहले बताएका छन् । घटना थाहा पाएपछि आफू र तत्कालीन आईजीपी स्वर्गीय प्रदिप शमशेर जबरा रातभर छाउनी अस्पतालमा गएर बसेको शाहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जना प्रारम्भिक सूचीमा
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
-
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
-
प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण