बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

आगामी निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ: कुलमान घिसिङ

बुधबार, २७ जेठ २०८३, १७ : २२
बुधबार, २७ जेठ २०८३

सारांश

  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।
  • उनले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने र धेरै स्थानमा विजय हासिल गर्ने दाबी गरेका हुन्।
  • घिसिङले पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने र जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे।

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्। 

बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गरेका हुन्।

विगतको निर्वाचनमा पराजय बेहोर्नु परे पनि आगामी २०८४ सालमा हुने स्थानीय तथा प्रदेश सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने उनको भनाइ छ। विशेष गरी बागमती प्रदेशमा सरकार बनाउने उद्देश्यका साथ पार्टीले काम गरिरहेको उल्लेख गर्दै उनले बागमतीका साथै अन्य प्रदेशहरूमा पनि सरकार बनाउने लक्ष्य राखिएको प्रस्ट पारे। पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर देशैभर संगठन सुदृढीकरण तथा विस्तारको अभियानलाई तीव्र पारिरहेको उनले जानकारी दिए।

अध्यक्ष घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण आफूहरू राजनीतिक षड्यन्त्रमा फसेको स्वीकार गर्दै अबका दिनमा कसैको षड्यन्त्रको सिकार नहुने प्रतिबद्धता व्यक्त गरे। पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने बताउँदै उनले अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे।

आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष घिसिङले भने, ‘हिजो हामी केही समय अल्मलिऔँ। राजनीति सुरु गरेपछि, राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्दो रहेछ। षड्यन्त्र गर्न पनि जान्नुपर्दो रहेछ। हामी षड्यन्त्र गर्ने परेनौँ, षड्यन्त्रमा फस्यौँ। अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रूपमा, शक्तिको रूपमा जनताको विश्वास कमाएर स्थापित हुनेछौँ। हामी चुनाव हाऱ्यौँ। आज चुनाव हारेको पार्टी, संसदमा हामी एकजना पनि छैनौँ। तर देशैभरि उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, त्यो त्यसै चलेको छैन होला। उज्यालो पार्टीको भविष्य देखेर, यसको उद्देश्य देखेर, यसको भिजन देखेर र यसको नेतृत्व देखेर आउनुभएको होला। उहाँहरूको जुन किसिमको विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामी निर्वाचनहरूमा र त्यसपछिका निर्वाचनहरूमा उज्यालो नेपाल पार्टीलाई एक नम्बरको पार्टी बनाएर मात्रै हामी विश्राम लिनेछौँ।’

विगतको चुनावअघि जनता र कार्यकर्तामा ठूलो अपेक्षा भए पनि निर्वाचनमा एक सिट पनि जित्न नसक्दा निराशा पैदा भएको उनले स्मरण गरे। त्यतिबेला धेरै साथीहरूले पार्टीको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेको भन्दै उनले अब त्यस्तो चिन्ता नलिन आग्रह गरे। आफू एक्लै रहँदासम्म पनि यो पार्टीलाई अगाडि बढाउने र यो दल कुनै पनि अर्को पार्टीमा विलय नहुने उनले प्रस्ट पारे। पार्टीको आफ्नै पहिचान र सिद्धान्त रहेको र यसलाई मर्न नदिने उनको दृढता छ।

विभिन्न पार्टीका नेता-कार्यकर्ताहरू उज्यालो नेपाल पार्टीमा जोडिने र धेरै दलहरू समाहित हुन आउने क्रम चलिरहेको भन्दै उनले त्यस्तो एकता र एकीकरणको प्रयासलाई पार्टीले स्वागत गर्ने बताए। तर, पार्टीको नाम, पहिचान र एउटा डेलिभरी दिने सिद्धान्तलाई निमिट्यान्न पारेर हिजोको १२ दिन जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन जाने गल्ती अब कदापि नदोहोर्‍याइने उनले स्पष्ट पारे।

चुनावका लागि अब धेरै समय बाँकी नरहेको उल्लेख गर्दै घिसिङले भने, ‘अब हामी स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा जाँदैछौँ। करिब एक वर्ष भित्र, एक वर्ष पनि छैन, करिब आठ–नौ महिना भित्र चुनाव आउँदैछ। त्यो चुनावमा अब उज्यालो नेपाल पार्टीले आफ्नो सशक्त प्रतिनिधित्व गर्नेछ र धेरै ठाउँमा हामी जित्नेछौँ। वागमती प्रदेशको सरकार हामीले बनाउनेछौँ। बागमती प्रदेश मात्रै होइन, अरू ठाउँको पनि सरकार बनाउनेछौँ। यो देशको मुटु बागमती प्रदेशलाई केन्द्रमा राखेर हामी हाम्रो पार्टीले संगठन विस्तार गर्ने काम गरिरहेका छौँ।’

गत निर्वाचनमा पार्टी पराजित भए पनि देशभर पार्टी प्रवेश गर्नेहरूको लहर चल्नुले जनताको विश्वास अझै बाँकी रहेको पुष्टि गर्ने उनको भनाइ छ। पार्टीको स्पष्ट उद्देश्य, दूरदृष्टि र नेतृत्वप्रतिको भरोसाका कारण मानिसहरू स्वतस्फूर्त रूपमा जोडिएको दाबी गर्दै उनले आगामी निर्वाचनमा पार्टीलाई मुलुककै एक नम्बरको शक्ति बनाउने संकल्पका साथ अघि बढेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप