प्रधानमन्त्री छापामार शैलीमा आउने आङ्देम्बेको चिन्ता, सीमा विवादमा सत्तापक्षले लज्जित बनाएको टिप्पणी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्मा अब आइन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीभन्दा मुलुकको समस्या निकै ठूलो र संवेदनशील भएकाले अब प्रधानमन्त्रीलाई खोजेर संसद् अवरोध गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका हुन्।
नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद् नचाहिए पनि देश र प्रतिपक्षलाई संसद् चाहिएको उल्लेख गरे। संसद्को अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्री साह फेरि पनि छापामार शैलीमा संसद्मा आएर उदण्डता मच्चाउने हुन् कि भन्ने संशय र डर आफूलाई लागिरहेको बताए।
बैठकमा बोल्दै नेता आङ्देम्बेले भने, ‘अब म यही विषयमा यो संसद् रुमलिएर बस्नु हुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको बडो नम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। यो वर्षको बजेट उपरको छलफल बाँकी छ सभामुख महोदय। नेपाली जनताका अन्य कैयौँ जीवन्त मुद्दामा छलफल गर्नु छ हामीले। प्रधानमन्त्रीजीलाई संसद् नचाहिएला, तर प्रतिपक्षलाई संसद् चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला। फेरि त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले। तर डर लाग्छ, फेरि पनि उदण्डता मच्चाइदिनु होला। यसमा डर लागिराखेको छ। तर उप्रान्त म उहाँलाई खोज्न चाहन्नँ। किनभन्दा मेरो मुलुकको समस्या, प्रश्नहरू उनको उपस्थितिभन्दा पनि ठूलो छ। उहाँभन्दा पनि संवेदनशील छ। त्यसकारण म उप्रान्त अब खोज्न चाहन्नँ। तर प्रधानमन्त्रीले बोलेकै कुरामा गरिमामय संसद्मा अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारीबोधबाट पन्छिन चाहन्नँ।’
यसैगरी, नेता आङ्देम्बेले सीमा विवादको विषयलाई लिएर सत्तापक्षका सांसदहरूको भूमिकाप्रति कडा आपत्ति जनाए । आफ्नो देशले कसैको सीमा मिचेको छैन भनेर विश्वस्त हुनुपर्नेमा सत्तापक्षका केही सांसदहरूले उल्टै नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिरहेको भन्दै उनले आफू लज्जित भएको टिप्पणी गरे।
देश र जनता कसैले पनि नरुचाउने खालको यस्तो हर्कत गर्ने सांसदहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिक्कार्ने उनको भनाइ थियो। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको स्मरण गराउँदै नेता आङ्देम्बेले यो समस्याको समाधान उत्तेजना र आवेशबाट नभई संयमित ढंगले गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने स्पष्ट पारे। यस विषयमा प्रतिपक्ष सधैँ सरकारको साथमा रहेको तर सरकार र सत्तारुढ दलकै रवैया गम्भीर नदेखिएको उनले आरोप लगाए।
विगतमा कांग्रेस नेतृत्वको सरकार हुँदा कांग्रेसकै सांसदहरूले आफ्ना प्रधानमन्त्री र मन्त्रीहरूविरुद्ध संसद्मा प्रश्न उठाउने गरेको दृष्टान्त पेस गर्दै उनले सत्तापक्षका सांसदहरूलाई लास र दास नबन्न सुझाव दिए ।
उनले भने, ‘दुनियाँलाई थाहा छ सभामुख महोदय लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। यही संसद्ले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ। यो विषयको हल उत्तेजना र आवेशले होइन, संयमित ढंगले गहन संवादको माध्यमबाट कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ। हामी सबै यही चाहन्छौँ। त्यसका लागि हामी पक्ष, प्रतिपक्ष सबै नै सरकारको साथमा नै थियौँ र छौँ। तर सरकार र सत्तारुढ दलको रवैया यो गम्भीर विषयप्रति गम्भीर देखिएन सभामुख महोदय। सरकार अलग कुरा हो, पार्टी अलग हो। मन्त्री, प्रधानमन्त्री पद अलग हो, संसद् अलग। यो तथ्य बुझेर अघिल्लो संसद्मा जुन बेला नेपाली कांग्रेसका वर्तमान पार्टी सभापति र उपाध्यक्ष तत्कालीन अवस्थामा महामन्त्री हुनुहुन्थ्यो, उहाँहरूले रोस्ट्रममा उभिएर आफ्नै सरकारका कमजोरीहरू केलाउनुभएको थियो। कांग्रेसका सांसदहरू कांग्रेसकै मन्त्री, प्रधानमन्त्रीका विरुद्ध आवश्यक विषयमा प्रश्न उठाउनु हुन्थ्यो, प्रहार गर्नुहुन्थ्यो। त्यसैले दम राखेर आजको मितिमा यो भन्न सकियो कांग्रेस लास र दासको पार्टी होइन। त्यही हिम्मतमा, त्यही नैतिक धरातलमा उभिएर हामीहरूले बोल्न सकिराखेका छौँ। तर आजको मितिमा यो संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरिराखेको बडो कारुणिक दृश्य मैले देखिराखेको छु। सत्ताको कित्ताबाट कोही एकजनाले हिम्मत गर्लान्, मेरो देशले कसैको सीमा कहाँ मिचेको छ ? भनेर प्रश्न गर्लान् भनेको त सभामुख महोदय म आफैँ लज्जित छु। उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न म यो शब्द प्रयोग गर्न चाहन्थेँ तर भन्छु न्वारनदेखिकै बल लगाएर दौडिराख्नु भएको छ। नेपालले मिचेको भूमि खोजिराख्नु भएको छ। यस्तो खालको जनताले देख्दाखेरि पनि नरुचाउने खालको हर्कत गर्ने मित्रहरूलाई वीर भक्ति थापाको त्यो आत्माले धिक्कार्लान कि।’
सत्तापक्षकै कारण संसद्मा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइराखेको कारुणिक दृश्य आफूले देख्नुपरेको भन्दै नेता आङ्देम्बेले चिन्ता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
-
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
-
सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा
-
‘बजेट अस्वाभाविक रूपमा ठुलो आकारको आयो, स्रोत जुट्ने अवस्था देखिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण