बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

आर्टेमिस–३ मिसनका लागि चालक दल घोषणा

बुधबार, २७ जेठ २०८३, २० : २३
बुधबार, २७ जेठ २०८३

काठमाडाैँ । चन्द्रमामा मानव पुनः अवतरण लक्ष्यसहित अघि बढिरहेको नासाले आर्टेमिस–३ मिसनका लागि परीक्षण उडान चालक दल घोषणा गरेको छ । यस ऐतिहासिक परीक्षणमा चार मुख्य अन्तरिक्ष यात्री र एक वैकल्पिक (ब्याकअप) सदस्य रहने छन् । उनीहरूले सन् २०२७ मा हुने जटिल कक्षीय परीक्षणहरूमा भाग लिनेछन्।

नासाका अनुसार यो परीक्षण उडान सन् २०२८ मा चन्द्रमाको दक्षिणी ध्रुवतर्फ पठाइने पहिलो चालक दलयुक्त आर्टेमिस–४ मिसनका लागि पूर्वतयारीको महत्त्वपूर्ण चरण हुनेछ।

घोषित चालक दलमा नासाका अन्तरिक्ष यात्री र्‍यान्डी ब्रेसनिक (कमान्डर), युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) का लुका पार्मिटानो (पाइलट), नासाका आन्द्रे डगलस (मिसन विशेषज्ञ) र फ्रान्क रुबियो (मिसन विशेषज्ञ) रहेका छन्। वैकल्पिक चालक दल सदस्यका रूपमा नासाका बब हाइन्सलाई नाम दिइएको छ।

नासाका अनुसार चालक दलले अब ओरियन अन्तरिक्ष यानका प्रणालीहरूको प्रशिक्षण सुरु गर्नेछ । साथै, उहाँहरूले ब्लू ओरिजिन र स्पेसएक्सद्वारा विकसित हुने चन्द्रमामा अवतरण गराउने ल्यान्डरहरूको परीक्षण तथा सञ्चालन प्रक्रियामा समेत सहयोग गर्नेछन्।

मिसन योजना अनुसार आर्टेमिस–३ मा नासाको स्पेस लन्च सिस्टम (एसएलएस) रकेटले फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट ओरियन अन्तरिक्ष यान र चालक दललाई पृथ्वीको कक्षामा प्रक्षेपण गर्नेछ । त्यसपछि ओरियनले कक्षामा विभिन्न परीक्षणहरू पूरा गर्दै व्यावसायिक मानव अवतरण प्रणालीसँग भेटघाट र डकिङ अभ्यास गर्नेछ।

यस क्रममा ब्लू ओरिजिन र स्पेसएक्सद्वारा विकसित ल्यान्डरका परीक्षण संस्करणहरूसँग अलग–अलग भेटघाट र डकिङ अभ्यास गरिनेछ । यसले बहु–प्रक्षेपण, अन्तरिक्ष यान समन्वय, प्रणाली एकीकरण, सफ्टवेयर, सञ्चार र इन्धन प्रणाली परीक्षणजस्ता जटिल प्रविधिको मूल्याङ्कन गर्नेछ।

नासाका प्रशासक जेरेड आइज्याकम्यानले यो घोषणा मानवताको चन्द्रमातर्फको यात्रामा अर्को महत्त्वपूर्ण कदम भएको बताए । उनका अनुसार आर्टेमिस मिसनको सफलताले विश्वव्यापी अन्तरिक्ष अन्वेषणप्रति पुनः उत्साह जगाएको र अब आर्टेमिस–२ टोलीले त्यो यात्रालाई अझ अगाडि बढाउनेछ।

उनले अन्तर्राष्ट्रिय साझेदारीको भूमिकालाई जोड दिँदै इएसए र अन्य साझेदार संस्थासँगको सहकार्यले नयाँ ‘अन्तरिक्ष स्वर्ण युग’ सुरु गर्न मद्दत गर्ने उल्लेख गरे। युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्रीको आर्टेमिस मिसनमा पहिलो पटक औपचारिक समावेशलाई नासाले ऐतिहासिक कदमका रूपमा लिएको छ ।

नासाका अनुसार आर्टेमिस–३ मिसन सफल आर्टेमिस–२ उडानपछि अघि बढाइएको हो र यसले भविष्यमा मानवलाई चन्द्रमाबाट मङ्गल ग्रहसम्म पुर्‍याउने दीर्घकालीन योजनालाई आधार प्रदान गर्नेछ।

मिसन अवधारणाअनुसार ब्लू ओरिजिनको ल्यान्डर पाथफाइन्डर पहिले कक्षामा प्रक्षेपण हुनेछ र केही हप्तासम्म कक्षामा रहँदै परीक्षणका लागि तयारी अवस्थामा रहनेछ । त्यसपछि ओरियन अन्तरिक्ष यानले चालक दलसहित कक्षामा प्रवेश गर्नेछ र उक्त ल्यान्डरसँग करिब दुई दिनसम्म डकिङ तथा प्रणाली परीक्षण गर्नेछ ।

त्यसपछि स्पेसएक्सको स्टारसिप ल्यान्डर पाथफाइन्डरसँग अर्को चरणको भेटघाट तथा परीक्षण सञ्चालन गरिनेछ । सबै परीक्षण पूरा भएपछि ओरियन पृथ्वी फर्किनेछ र प्रशान्त महासागरमा अवतरण गर्नेछ, जहाँ अमेरिकी नौसेना र नासाका टोलीले अन्तरिक्ष यात्रीलाई सुरक्षित रूपमा उद्धार गर्नेछन् ।

समग्रमा यो परीक्षण मिसन करिब दुई सातासम्म चल्ने अपेक्षा गरिएको छ । यद्यपि प्रक्षेपण, भेटघाट र डकिङ प्रक्रियाका आधारमा समय केही परिवर्तन हुन सक्ने नासाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप