रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राष्ट्रिय महाधिवेशनको सँघारमा छ । कतिपय जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी छ । गण्डकीमा पनि दुई जिल्लाको अधिवेशन बाँकी रहँदा नै प्रदेश अधिवेशनको तयारी भइरहेको छ ।
रास्वपाको गण्डकी प्रदेश अधिवेशन शुक्रबार हुँदैछ । सभागृहमा हुने अधिवेशनलाई केन्द्रीय नेताहरूले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले सबैजसोको ध्यान प्रदेश अधिवेशनबाट आउने नेतृत्वमा केन्द्रित छ ।
जिल्ला र स्थानीय तहको अधिवेशन सकेर प्रदेश अधिवेशनमा जुटेको रास्वपाले प्रदेशको नेतृत्व सकेसम्म शुक्रबार, नभए शनिबारसम्म छानिसक्ने छ ।
त्यसो त गण्डकीका ११ मध्ये मनाङ र मुस्ताङमा अधिवेशन हुन सकेको छैन । जिल्लामात्रै होइन पालिका र वडा तहको अधिवेशन पनि यी जिल्लामा भएका छैनन् । ९ जिल्लामध्ये बागलुङ र लमजुङको निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदै नेताहरूले नै केन्द्रमा उजुरी दिएका छन् । बागलुङमा सर्वसम्मतको नाममा सांसदहरूले आफ्ना खल्तीका मान्छेलाई सभापति र पदाधिकारी बनाएको आरोप छ भने लमजुङमा पनि विधानको व्यवस्था विपरीत निर्वाचन समितिले सभापति घोषणा गरेको आरोप छ ।
बाँकी पर्वत र म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कास्की, नवलपुर, स्याङ्जा, तनहुँ र गोरखामा मतदानबाटै जिल्ला कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका हुन् । करिब ५ सय प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुने बताइएको छ ।
गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि ४ जना प्रतिस्पर्धामा देखिएका छन् । केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले सर्वसम्मतका लागि आन्तरिक दौडधुप चलाएका छन् । वर्तमान सभापति राजन गौतम, महासचिव नवीन त्रिपाठी, नेता डा. हरि कार्की र कुमार खड्का लगायतका नेताहरूले दाबेदारी प्रस्तुत गरेका छन् ।
यद्यपि, रास्वपा केन्द्रीय कार्यालयले हालै जारी गरेको एक सर्कुलरले प्रदेशको नेतृत्व चयन प्रक्रियाका कारण गौतमलाई चुनाव लड्न नैतिक सङ्कट पर्न सक्छ । पार्टीको केन्द्रीय कार्यालयले जेठ २१ गते सर्कुलर पठाएर सङ्घीय सांसदहरूलाई सांसदको भूमिका र पार्टीको केन्द्रीय संरचनामा नीति निर्माण तहमा केन्द्रित रहन भनिएको छ ।
नवलपुर-१ बाट निर्वाचित सांसद तथा वर्तमान सभापति गौतम यो सर्कुलरको घेरामा पर्न सक्छन् । यद्यपि, गौतम अधिवेशनबाटै चुनिएर सभापति बन्ने दाउमा छन् । ‘म अधिवेशनबाट चुनिएको सभापति होइन, त्यसैले अधिवेशनबाट निर्वाचित हुने इच्छा छ,’ उनले भने, ‘साथीहरूले एक कार्यकाल नेतृत्व गर्नुपर्ने सुझाव दिएका छन् ।’
हालका महासचिव नवीन त्रिपाठीले आफूलाई सबैभन्दा बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । निर्वाचनका बेला पार्टीको सांगठनिक कमान्ड सम्हालेका त्रिपाठी संगठन विस्तारमा अब्बल मानिन्छन् । ‘केन्द्रीय नेतृत्वले सांसदलाई सङ्घमै केन्द्रित हुन अनुरोध गरेको अवस्थामा सभापतिको स्वाभाविक उत्तराधिकारी म नै हुँ,’ उनले भने, ‘साथीहरूको चाहना पनि मलाई नेतृत्वमा हेर्ने छ ।’
उनको काम, स्वभाव र शैलीका कारण उनी पार्टीभित्र लोकप्रिय छन् ।
कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका पूर्वमन्त्री कुमार खड्काले पनि नेतृत्वमा दाबी गरेका छन् । लामो राजनीतिक अनुभव भएका खड्काले भने सर्वसम्मतिको कार्ड फालेका छन् । ‘म आफैँ प्रतिस्पर्धामा उत्रने पक्षमा छैन, तर पार्टीले जिम्मेवारी दियो भने तयार छु,’ उनले भने ।
यद्यपि, पार्टीका नेता-कार्यकर्ताहरू प्रदेशमा सर्वसम्मत सभापति बन्ने सम्भावना कम रहेको बताउँछन् । खड्का फागुन २१ को निर्वाचन अघिमात्रै पार्टी प्रवेश गरेका हुन् । वैकल्पिक राजनीतिमा सुरुदेखि नै होमिएका डा. हरि कार्की पनि सभापतिमा प्रवल दाबेदार छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
लौरो अभियान हुँदै रास्वपाका जोडिएका कार्की हाल केन्द्रीय सहकारी विभागका सदस्य छन् ।
अधिवेशनको समयसम्म अरूले पनि उम्मेदवारी घोषणा गर्न सक्ने बताइएको छ । जे होस्, रास्वपालाई अहिले चुनावी रौनकले छोएको छ । फागुन २१ गतेको निर्वाचनपछि गण्डकीमा रास्वपा बढी उत्साहित छ । मनाङ र मुस्ताङबाहेक १५ निर्वाचन क्षेत्रमा रास्वपाले चुनाव जितेको छ भने म्याग्दीमा स्वतन्त्र उम्मेदवार विजयी भए । हिमालपारिका २ जिल्लामा कांग्रेसले जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले झोलामा खोला थियो, अहिले खोलामा झोला जस्तो अवस्था छ : उत्तम भ्लोन लामा
-
उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
-
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु
-
मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
-
को बन्ला उत्कृष्ट मोडल ? (मनोनयन सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण