बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

अबदेखि प्रिगाबालिन औषधी बिना प्रेस्क्रिप्सन बेच्न नपाइने

बिहीबार, २८ जेठ २०८३, १४ : ०९
बिहीबार, २८ जेठ २०८३

सारांश

  • अबदेखि प्रिगाबालिन औषधी बिना प्रेस्क्रिप्सन बेच्न नपाइने भएको छ ।
  • औषधि व्यवस्था विभागको निर्णयलाई आधार मान्दै सङ्घले प्रिगाबालिन, डाइसिक्लोमाइन र प्रोमेथाजाइनयुक्त औषधिहरूको आपूर्ति, बजार व्यवस्थापन र बिक्री वितरणलाई थप व्यवस्थित र नियन्त्रित बनाउन अनिवार्य निर्देशन जारी गरेको हो ।
  • जनस्वास्थ्यको संरक्षणका लागि सबै व्यवसायीहरूलाई यो नियम अक्षरशः पालना गरी पारदर्शी कारोबार प्रणालीलाई प्रोत्साहन गर्न अनुरोध गरिएको छ ।

काठमाडौँ । अबदेखि प्रिगाबालिन औषधी बिना प्रेस्क्रिप्सन बेच्न नपाइने भएको छ । औषधी व्यवसायीहरूको सङ्गठन नेपाल औषधी व्यवसायी सङ्घ काठमाडौँले बजारमा केही विशेष औषधिको अवाञ्छित प्रयोग र दुरुपयोग बढेको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चालेको हो । 

औषधि व्यवस्था विभागको निर्णयलाई आधार मान्दै सङ्घले प्रिगाबालिन, डाइसिक्लोमाइन र प्रोमेथाजाइनयुक्त औषधिहरूको आपूर्ति, बजार व्यवस्थापन र बिक्री वितरणलाई थप व्यवस्थित र नियन्त्रित बनाउन आयातकर्ता, थोक तथा खुद्रा औषधि व्यवसायीहरूलाई अनिवार्य निर्देशन जारी गरेको हो ।

विशेषगरी प्रिगाबालिन जस्ता औषधिहरू नशालु प्रयोजन, दुरुपयोग र अनधिकृत वितरण भई जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि सङ्घले यो नीति जारी गरेको हो । 

नयाँ व्यवस्थाअनुसार अब यी औषधिहरूको आयात र बिक्री गर्दा प्रत्येक तहमा स्पष्ट रेकर्ड राख्नुपर्नेछ । आयातकर्ताहरूले ६–६ महिनामा खुद्रा तहसम्मको खपत विवरण औषधि व्यवस्था विभागमा बुझाउनुपर्नेछ भने थोक व्यवसायीले खुद्रा फर्मासिस्टसम्मको बिक्री रेकर्ड सुरक्षित राख्नुपर्नेछ ।

डाइसिक्लोमाइन र प्रोमेथाजाइनयुक्तका लागि प्रेष्कृप्सन आवश्यक अनिवार्य नपरे पनि मानवको पहिचान र व्यवसायिक मर्यादा कायम गरेर बिक्री गर्नुपर्नेछ । औषधि बिक्री गर्दा चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल नम्बर, बिक्री मिति, औषधिको नाम र मात्रा स्पष्ट खुल्ने गरी चलानी वा बिल बिजक जारी गर्न समेत अनिवार्य गरिएको छ ।

सङ्घले औषधि व्यवसायीहरूलाई व्यावसायिक मर्यादा कायम राख्न अपिल गर्दै एउटै व्यक्तिले अस्वाभाविक मात्रामा औषधि मागेमा वा बारम्बार औषधि दोहोर्याउन अनुरोध गरेमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । औषधि व्यवसाय केवल व्यापारिक गतिविधि मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवार सेवा क्षेत्र भएको उल्लेख गर्दै विज्ञप्तिमा दुरुपयोग, अवैध निकासी वा शङ्कास्पद कारोबार भएको पाइएमा तुरुन्त नियामक निकाय र सङ्घलाई जानकारी गराउन भनिएको छ। 

जनस्वास्थ्यको संरक्षणका लागि सबै व्यवसायीहरूलाई यो नियम अक्षरशः पालना गरी पारदर्शी कारोबार प्रणालीलाई प्रोत्साहन गर्न महासचिव शुभ मान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।

720486277_2520803041681976_8145038417213222963_n719532331_2274664803334597_2461426389085160457_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप