शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सपिङको लत घटाउन नक्कली अनलाइन स्टोरी

शनिबार, ३० जेठ २०८३, ०८ : ०३
शनिबार, ३० जेठ २०८३

सोल । अनलाइन खुद्रा बिक्रेताको साइट स्क्रोल गर्दै गर्दा आफूलाई त्यति धेरै जरुरी नभएको सामान समेत मगाएको अनुभव हामी सबैसँग छ । दक्षिण कोरियामा भने यस्तो लत हटाउन नक्कली अनलाइन सपिङ साइट खुलेका छन् । ‘डोपामिन साइट’ भनिने यी अनलाइन किनमेल प्लेटफर्महरू युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका छन् ।

यी वेबसाइट तथा मोबाइल एपहरूले वास्तविक अनलाइन बजारजस्तै अनुभव दिन्छन् । तर प्रयोगकर्ताले कुनै वास्तविक सामान किन्दैनन् र पैसा पनि खर्च हुँदैन । मनोवैज्ञानिकहरूका अनुसार अनलाइन किनमेलमा मानिसहरू केवल वस्तु किन्न मात्र आकर्षित हुँदैनन्, किनमेलको प्रक्रिया स्वयंले मस्तिष्कमा ‘डोपामिन’ उत्सर्जन गराउँछ । यही कारणले धेरै मानिसहरू बारम्बार अनलाइन किनमेल गर्न प्रेरित हुन्छन् ।

डोपामिन साइटहरूमा सयौँ उत्पादनहरू, विस्तृत समीक्षा, मूल्याङ्कन, छुट अफर, खोज फिल्टर तथा किनमेल कार्टजस्ता सुविधा हुन्छन् । प्रयोगकर्ताले मनपरेका सामान कार्टमा राखेर आफ्नो ठेगाना भर्न सक्छन् र अर्डर बटन पनि थिच्न सक्छन् । त्यसपछि एपले वास्तविक डेलिभरी सेवा जस्तै अनुभव दिन्छ । स्क्रिनमा एक डेलिभरी कर्मचारीले अर्डर स्वीकार गरेको देखिन्छ र नक्सामार्फत उसको यात्रा प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । तर यसरी अर्डर गरेको कुनै सामान घरमा पुग्दैन । न त प्रयोगकर्ताको बैंक खाता वा क्रेडिट कार्डबाट एक पैसा काटिन्छ ।

दक्षिण कोरियाका धेरै युवाहरूका अनुसार यी एपहरूले वास्तविक किनमेलजस्तै उत्साह, प्रतीक्षा र मानसिक सन्तुष्टि प्रदान गर्छन् । सामान वास्तवमा आउँदैन भन्ने प्रयोगकर्तालाई थाहा हुन्छ । तर किनमेलको सम्पूर्ण अनुभवले केही हदसम्म डोपामिनको अनुभूति गराउँछ । उच्च जीवनयापन खर्च, बढ्दो महँगी र निरन्तर विज्ञापनको दबाबका बिच धेरै युवाले यी प्लेटफर्मलाई खर्च बचाउने उपायका रूपमा लिन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप