शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
चन्द्रमामा पहिलो पाइला

पृथ्वीदेखि चन्द्रमासम्मको अ‍मेरिकी यात्रा

शनिबार, ३० जेठ २०८३, १५ : ०४
शनिबार, ३० जेठ २०८३

सारांश

  • १९६९ जुलाई २० मा चन्द्रमामा अवतरण गर्ने क्रममा अपोलो ११ को कम्प्युटरमा अज्ञात अलार्म बजेको थियो र इन्धन सकिन लागेको थियो ।
  • राष्ट्रपति जोन एफ केनेडीले १९६१ मे २५ मा घोषणा गरेको चन्द्रमामा जाने लक्ष्य पूरा गर्न अमेरिकाले ठूलो राष्ट्रिय अभियान चलाएको थियो ।
  • अवतरणको अन्तिम क्षणमा आएको प्राविधिक समस्या र इन्धनको अभावका बावजुद नील आर्मस्ट्रङले चन्द्रमामा सफलतापूर्वक यान उतारेका थिए ।

१९६९ जुलाई २० मा जब चन्द्र मोड्युल इगल चन्द्रमाको सतहतर्फ ओर्लिँदै थियो, अनबोर्ड कम्प्युटरमा एउटा अज्ञात अलार्म बजेको देखियो । इन्धन सकिँदै थियो । मात्र ३० सेकेन्ड बाँकी थियो । पृथ्वीमा, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अन्तरिक्षयात्रीहरू मरेका भए सुनाउन एउटा भाषण तयार राखेका थिए । 

तैपनि, साँझको ४ः१७ बजेको समयमा, नील आर्मस्ट्रङको आवाज मिसन कन्ट्रोल रूममा आइपुग्यो– ‘ह्युस्टन, ट्रान्क्विलिटी बेस यहाँ छ, इगलले अवतरण गरिसकेको छ ।’ 

त्यसपछि जे भयो त्यो मानव इतिहासको महानतम दिनमध्ये एक थियो । यो त्यस्तो राष्ट्रको कथा थियो, जसको न रकेट थियो, न स्पेससुट थियो, न खासै योजना । तैपनि एउटा राष्ट्रपतिले गरेको बाचा पूरा गर्‍यो । तर, यो पल हेर्नका लागि राष्ट्रपति आफैं जिउँदा रहेनन् । 

कथाको सुरुवात हुन्छ १९६१ मे  २५ मा जब राष्ट्रपति जोनएफ केनेडीले अमेरिकी कङ्ग्रेससमक्ष उभिएर ‘हामी चन्द्रमामा जान सक्छौँ । सजिलो भएका कारण होइन । त्यहाँ पुग्न निक्कै अप्ठेरो भएका कारण हामी त्यहाँ पुग्न सक्छौँ’ भनि घोषणा गरे । उनको घोषणाले वैज्ञानिकहरूलाई समेत चकित पार्‍यो । 

केनेडीले भाषण गर्दैगर्दा अमेरिकाले त्यसबारे कुनै तयारी गरेको थिएन । चन्द्रमासम्म पुग्ने शक्तिशाली रकेट थिएन, न त अन्तरिक्षयानभित्र राख्न मिल्ने कम्प्युटर नै थियो । न स्पेससुट थियो । व्यवहारिक अर्थमा नासा पूर्णतयाः तयार थिएन । तथापि, केनेडीको घोषणाले सबैलाई एउटै राष्ट्रिय अभियानमा लामवद्ध हुन सहयोग गर्‍यो । 

त्यसपछि जे भयो त्यो मानव इतिहासकै अभूतपूर्व घटना थियो । सबैभन्दा ठुलो गैरसैनिक परिचालन–चार लाख १० हजार इन्जिनियर, प्रोग्रामर, सिलाइकर्मी र वैज्ञानिक देशभरका कारखाना र प्रयोगशालाहरूमा खटिए । प्लेटेक्स्का कारखानाहरूमा स्पेससुट सिलिन्थे भने प्रयोगशालाहरूमा पहिलो फ्लाइट कम्प्युटरहरू कस्तो बनाउने भनेर विविध प्रयोगहरू हुने गर्थे । 

आठ वर्षसम्म अमेरिकाका वैज्ञानिकहरूले त्यस्तो काम गरे, जुन त्यसअघिसम्म कहिल्यै भएको थिएन । तर चन्द्रमासम्मको बाटो असफलता र भयले भरिएको थियो । टेलिभिजनमा संसारले जे देख्यो त्यो एउटा सहज विजय जस्तो देखिए पनि पर्दा पछाडि यो अभियान धेरै भयावह विपत्तिको नजिकबाट गुज्रेको दखिन्छ । 

जब इगल अर्थात अपोलो– ११ ले अन्तिम अवतरण सुरु गर्‍यो, अनबोर्ड गाइडेन्स कम्प्युटरमा त्रुटि अलार्महरू फ्ल्यास गर्न थाल्यो । मिसन रद्द गर्ने कि अज्ञाततर्फ अघि बढ्ने सबैमा अन्यौलता थियो । त्यसैबेला, चन्द मोड्युल आफ्नो निर्धारित अवतरण स्थलभन्दा झण्डै चार माइल पर, ढुङ्गाहरूले भरिएको क्रेटरतर्फ अघि बढ्दै थियो । त्यहाँ अवतरण गर्नै असम्भव थियो । आर्मस्ट्रङले म्यानुअल नियन्त्रणमा लिए र परीक्षण पाइलटको सटीकतातर्फ यानलाई अघि बढाउँदै अघि बढे । उनीसँग जम्मा ३० सेकेन्डको इन्धन बाँकी थियो । इतिहास रच्ने वा चन्द्रमाको सतहमा यान ध्वस्त हुने बिच जम्मा ३० सेकेन्डको दुरी थियो । 

त्यसपछि, नील आर्मस्ट्रङको शान्त आवाजले कन्ट्रोल रुमलाई स्तब्ध बनाई दियो । उनले भनेका थिए, ‘इगलको अवतरण भइसकेको छ ।’ 

एक क्षणका लागि कोठामा लमतन्न मौनता पसारियो । सबैले लामो सास ताने । त्यसपछि एकाएक कन्ट्रोल रुमको मौनता तोडियो । सबै खुसीले चिच्याए र एकअर्कालाई अँगालो मार्न थाले । एक नियन्त्रकले काँपिरहेको आवाजमा चालक दललाई भने, ‘यहाँ कोही–कोही निलो पर्न लागेका थिए, अब हामी सास फेर्न सक्ने भएका छौँ ।’ 

६ घण्टापछि, निल आर्मस्ट्रङ चन्द्र मोड्युलको भर्‍याङबाट ओर्लिए र अर्को संसारको सतहमा मानवजातिको पहिलो पाइला राखे । पृथ्वीमा सम्पूर्ण मानिसहरू यो समाचार सुनेर चकित भए । ह्वाइट हाउसमा, राष्ट्रपति निक्सनले चन्द्रमामा टलिफोन गरे । 

अपोलो–११ को यात्रा, अन्तरिक्ष यात्री र रकेटभन्दा परको राजनीतिक परिस्थिति हेर्नु जरुरी छ । अन्तरिक्षको दौड कहिल्यै विशुद्ध विज्ञानको विषय थिएन । यो दुई महाशक्तिबिच द्धन्द्ध र प्रतिस्पर्धाको कथा थियो । जब सोभियत संघले सन् १९५७ मा स्पुतकि प्रक्षेपण गर्‍यो र सन् १९६१ मा युरी गागरिनलाई कक्षामा पठायो, त्यसले केवल प्रविधिमा अमेरिकालाई पछि पार्ने काम मात्र गरेन । यसले समाजवादी विज्ञानले पुँजिवादी खेमाका पश्चिमाहरूलाई पछार्न सक्ने सन्देश दिएको थियो । 

केनेडीको महत्त्वाकांक्षी भाषण त्यसको परिणाम थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिश बोहरा
हरिश बोहरा
लेखकबाट थप