बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ

बुधबार, १० असार २०८३, १२ : १६
बुधबार, १० असार २०८३

‘म फर्किएँ ! म फर्किएँ !’

उज्वेकिस्तानलाई ५–० को फराकिलो अन्तरले हराउने क्रममा दुई गोल गरेपछि क्रिस्टियानो रोनाल्डोले टेलिभिजन क्यामेराको लेन्समा हेर्दै सन् २०२६ को विश्वकपमा उनी पोर्चुगलको समस्या हुन् भन्नेहरूका लागि एउटा सन्देश दिए।

फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताका छैटौँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्ने ऐतिहासिक उपलब्धि मनाउँदै गर्दा यी ४१ वर्षीय स्टारले आफ्नो भावना र खुसी लुकाउन सकेनन्।

cristiano-roanldo

उनको खेल जीवन सकियो भन्ने आलोचकहरूका लागि यो एउटा उत्कृष्ट जवाफ पनि थियो।

समूह ‘के’ को पहिलो खेलमा पोर्चुगलले डीआर कंगोसँग १–१ को संघर्षपूर्ण बराबरी खेलेपछि रोनाल्डोको व्यापक आलोचना भएको थियो। अर्कोतर्फ, अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड, ब्राजिलका भिनिसियस जुनियर र इंग्ल्यान्डका कप्तान ह्यारी केन जस्ता विश्वस्तरीय स्टारहरूले भने पहिलो दुई सातामै उत्कृष्ट प्रदर्शन गरेका थिए।

तर रोनाल्डोले ढिलै भए पनि यस प्रतियोगितामा सानदार उपस्थिति जनाए।

जोआओ कान्सेलोको क्रसमा उत्कृष्ट हाफ–भलीमार्फत कीर्तिमानी गोल गर्दै खाता खोल्न उनलाई जम्मा छ मिनेट लाग्यो। त्यसपछि ब्रुनो फर्नान्डेसको सटिक थ्रु–बलमा उत्कृष्ट फिनिसिङ गर्दै हाफ टाइमअघि नै उनले अर्को गोल थपे।

अब्दुकोदिर खुसानोभले गोललाइनबाट बल नकाटेको भए रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गर्ने थिए। दोस्रो हाफमा सहकर्मीहरूको प्रयासका बाबजुद पोर्चुगिज कप्तानले आफूले चाहेको ह्याट्रिक भने पूरा गर्न सकेनन्।

खेलपछि उनको ‘म फर्किएँ’ भन्ने भनाइबारे सोधिएको प्रश्नमा पाँच पटकका बालोन डी‘ओर विजेताले भने, ‘यो केवल उनीहरू (आलोचकहरू) ले नबिर्सिऊन् भनेर हो, २३ वर्षदेखि म यसैगरी खेलिरहेको छु।’

ronaldo-4

‘म धेरै खुसी छु। तर सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीले गरेको मिहिनेत र यसले हामीलाई दिने आत्मविश्वास हो,’ रोनाल्डोले थपे।

‘व्यक्तिगत कीर्तिमान पक्कै पनि राम्रो हुन्छ, तर मेरो लक्ष्य सधैँ टोलीको उद्देश्य पूरा गर्न मद्दत गर्नु हो। यस साता हामीले धेरै बाधाहरू पार गर्नुपर्‍यो। टोलीले धेरै राम्रो काम गर्‍यो, हामीले धेरै सुधार गरेका छौँ। यो एउटा कठिन साता थियो, बल नछोएको एउटा अँध्यारो साता। तर हामी आफ्नो काममा विश्वास गर्ने भएकाले सधैँझैँ यसको सामना गर्‍यौँ। यो कठिन थियो, तर हामी फर्किएका छौँ।’

समूह ‘के’ बाट कुन टोली अघिल्लो चरणमा जाने र समूह विजेता बन्ने भन्ने टुंगो लगाउन पोर्चुगलले अब जुन २८ आइतबार आफ्नो अन्तिम खेलमा कोलम्बियाको सामना गर्नेछ।

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले डीआर कंगोसँगको निराशाजनक बराबरीपछि टोलीको मनोबल बढाउन र स्तर कायम राख्न रोनाल्डोको भूमिका महत्त्वपूर्ण रहेको बताए।

मार्टिनेजले थपे, ‘हामीले चाहेको नतिजा प्राप्त गर्न नसकेको र अनुचित आलोचना तथा होहल्लाको कठिन अवस्था सामना गर्नुपरेकाले यो एउटा गाह्रो साता थियो। हामी निराश र दुःखी थियौँ। तर एउटा टोलीको रूपमा हामी अघि बढ्यौँ, भावनालाई नियन्त्रण गर्‍यौँ र आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ। क्रिस्टियानो रोनाल्डो पूर्ण रूपमा केन्द्रित रहेर एक उत्कृष्ट कप्तान बने। उनले आफ्नो अनुभवको भरपुर प्रयोग गरे, उनले यस्तो अवस्थाको सामना गरेको यो पहिलो पटक होइन।’

‘हाम्रा कप्तान एउटा प्रेरणाका स्रोत हुन्, उनी आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। उनी पोर्चुगिज राष्ट्रिय टोलीका लागि खेल्ने एक उदाहरणीय पात्र हुन्। हरेक दिन कडा मिहिनेत गर्छन्, हरेक प्रशिक्षणमा सुधार गर्ने प्रयास गर्छन्। मैदान र ड्रेसिङ रुम दुवै ठाउँमा उनको व्यवहार उत्कृष्ट छ।’

म्यानचेस्टर युनाइटेडमा रोनाल्डोका पूर्वसहकर्मीसमेत रहेका इंग्ल्यान्डका पूर्वकप्तान वेयन रुनीले बीबीसी स्पोर्ट्ससँग भने, ‘यस प्रतियोगितामा अन्य सबै उत्कृष्ट खेलाडीहरूले गोल गरिरहँदा, ४१ वर्षको उमेरमा विश्वकपमा दुई गोल गर्नु अविश्वसनीय हो।’

ronaldo 2

‘उनको अघिल्लो खेल त्यति राम्रो थिएन, तर उनको खुबी नै यही हो। उनले केही आलोचना खेपे भने यसरी नै त्यसको जवाफ दिन्छन्। उनले आफ्नो पूरै खेल जीवनमा यस्तै गर्दै आएका छन्। उनी सर्वश्रेष्ठ बन्न चाहन्छन् र सधैँ त्यस्तै छन्। जब अन्य फरवार्ड र आक्रामक खेलाडीहरूले गोल गरिरहेका हुन्छन्, उनी त्यो सूचीको शीर्ष स्थानमा रहन चाहन्छन्। यहाँ उनको जवाफ ठ्याक्कै त्यस्तै छ जस्तो तपाईँ उनीबाट अपेक्षा गर्नुहुन्छ। उत्कृष्ट बन्ने मामलामा उनी स्वार्थी छन्, तर उनी टोलीका लागि खेल्ने खेलाडी पनि हुन्। हिजो राति मेस्सी र अहिले यो उमेरमा रोनाल्डोलाई हेर्दा, उनीहरू जे गरिरहेका छन् त्यो साँच्चै अविश्वसनीय छ।’

  • ‘शङ्का गरिएका जादुगर– उनी कहिल्यै हराएका थिएनन्’

रोनाल्डो र मेस्सी दुवैले सन् २००६ यताका सबै विश्वकप खेलेका छन्। रोनाल्डोको १० गोलको तुलनामा मेस्सीको नाममा १८ गोल छ। अस्ट्रियाविरुद्ध दुई गोल गर्दै मेस्सीले सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्। तर अर्जेन्टिनी फरवार्ड मेस्सीले २०१० को प्रतियोगितामा भने गोल गर्न सकेका थिएनन्।

मेस्सी बुधबार ३९ वर्ष पुग्दैछन्। यता रोनाल्डो विश्वकप इतिहासमै दोस्रो सबैभन्दा पाको उमेरका गोलकर्ता बनेका छन्। यस मामिलामा उनी क्यामरुनका रोजर मिल्ला भन्दा मात्र पछाडि छन्। मिल्लाले सन् १९९४ मा रुसविरुद्ध ४२ वर्षको उमेरमा गोल गरेका थिए।

रोनाल्डोको दुई गोलसँगै नुनो मेन्डेसको फ्रि–किक, उज्वेकिस्तानका गोलकिपर अब्दुभोहिद नेमातोभको आत्मघाती गोल र सब्सिच्युट राफेल लिआओको अन्तिम गोलसँगै पोर्चुगलले २०२६ को प्रतियोगिताकै तेस्रो ठूलो जित दर्ता गर्‍यो।

सन् २००६ मा इटालीबाट विश्वकप जितेका उज्वेकिस्तानका मुख्य प्रशिक्षक फाबियो कान्भाभारोले उमेर ढल्किँदै गए पनि रोनाल्डोले अझै उच्च स्तरमा प्रदर्शन गरिरहेको महसुस गरे। इटालियन प्रशिक्षकले भने, ‘तपाईँ विश्वकपमा आउनुहुन्छ र देखाउनुहुन्छ, ४१ वर्षको उमेरमा पनि तपाईँ अझै भोको हुनुहुन्छ र धेरै कुरा गर्न सक्नुहुन्छ। तपाईँले फुटबल कसरी खेल्ने भनेर बिर्सनुहुन्न। उनी विश्वकप इतिहासको एक हिस्सा हुन्।’

ronaldo-3

‘फुटबल युरोपमा मात्र सीमित छैन, यो सम्पूर्ण विश्वका लागि खुला छ। अब कुनै क्षितिज वा सीमाहरू छैनन्। क्रिस्टियानो अझै पनि फुटबल इतिहासका सबैभन्दा बलिया खेलाडीमध्ये एक हुन्। यदि तपाईँले उनलाई पेनाल्टी बक्समा एक सेन्टिमिटर मात्र पनि ठाउँ दिनुभयो भने, तपाईँको खेल खत्तम हुन्छ।’

आईटीभी स्पोर्टसँग कुरा गर्दै म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान रोय किनले रोनाल्डोले आफ्ना सहकर्मीहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘क्रिस्टियानो रोनाल्डो कहिल्यै हराएका थिएनन्। उनी नै मुख्य खेलाडी हुन्। सबैलाई के भइरहेको छ ? यी त शङ्का गरिएका जादुगर हुन्।’

‘उनलाई फेरि लयमा फर्केको देख्दा खुसी लागेको छ। उनका दुई गोल उत्कृष्ट थिए। उनी फेरि लयमा फर्किएका छन्। खेलको सबैभन्दा गाह्रो पक्ष भनेको बललाई जाली चुमाउनु हो, र उनी त्यही गर्छन्। अरू सबै कुराबाहेक रोनाल्डोको प्रशंसा गर्नुपर्ने कुरा के हो भने उनी एक अर्बपति हुन्। उनले विश्वकपबाहेक सबै थोक जितेका छन्। तर अझै पनि उनमा गोल गर्ने भोक र चाहना छ। मेरा लागि ती युवा खेलाडीहरूलाई दिन सकिने यो सबैभन्दा ठुलो उदाहरण हो, निरन्तर गोल गरिरहने त्यो भोक।’

  • छवटा विश्वकपमा रोनाल्डोका गोलहरू (तस्बिरहरू)

Ronaldo goal 1

क्रिस्टियानो रोनाल्डोले सन् २००६ मा इरानविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरेका थिए।

Ronaldo goal 2

सन् २०१० को प्रतियोगितामा रोनाल्डोको एकमात्र गोल उत्तर कोरियाविरुद्धको ७-० को जितमा भएको थियो।

Ronaldo goal ३

सन् २०१४ को विश्वकपमा रोनाल्डोको एकमात्र गोल समूह ‘जी’ मा घानाविरुद्धको खेल जित्नका लागि निर्णायक बनेको थियो।

Ronaldo goal 4

रोनाल्डोले सन् २०१८ मा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए र उनले रुसमा कुल चार गोल गरे।

Ronaldo goal 5

रोनाल्डोले सन् २०२२ को विश्वकपमा घानाविरुद्ध पेनाल्टीमार्फत एक गोल गरेका थिए।

Ronaldo goal 6

रोनाल्डोले सन् २०२६ मा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै इतिहास रचे।

रोनाल्डोको ऐतिहासिक यात्रापछाडिका तथ्याङ्कहरू:

  • रोनाल्डो छ वटा फरक–फरक विश्वकपमा गोल गर्ने पुरुष वा महिलातर्फका पहिलो खेलाडी बनेका छन्। मेस्सी, ब्राजिलकी मार्टा र क्यानडाकी क्रिस्टिन सिन्क्लेयर मात्र पाँचवटा विश्वकपमा गोल गर्ने खेलाडी हुन्।
  • ४१ वर्ष १३८ दिनका रोनाल्डो विश्वकप इतिहासमा दोस्रो सबैभन्दा पाको उमेरका गोलकर्ता हुन्। उनीभन्दा अगाडि क्यामरुनका मिल्ला छन्, जसले १९९४ मा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए।
  • डेनमार्कका माइकल लाउड्रप र अर्जेन्टिनाका मेस्सीपछि विश्वकपमा आफ्नो देशका लागि सबैभन्दा कम र सबैभन्दा बढी उमेरमा गोल गर्ने रोनाल्डो तेस्रो खेलाडी हुन् (एकभन्दा बढी गोलकर्ता भएका राष्ट्रहरूमध्ये)।
  • उज्वेकिस्तानविरुद्ध रोनाल्डोले आफ्नो २४औँ विश्वकप खेल खेले। मेस्सी (२८) र लोथार म्याथ्युज (२५) ले मात्र उनीभन्दा बढी खेल खेलेका छन्। रोनाल्डोले मिरोस्लाभ क्लोजको बराबरी गरेका छन् भने पाओलो माल्दिनी (२३) लाई उछिनेका छन्।
  • विश्वकपको इतिहासमा कुनै खेलाडीको पहिलो र अन्तिम गोलबिचको सबैभन्दा लामो अन्तर रोनाल्डो र मेस्सीको नाममा छ, जुन २० वर्ष ११ दिनको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप