फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
काठमाडौँ । फ्रान्समा हालको इबोला प्रकोपसँग सम्बन्धित आफ्नो पहिलो सङ्क्रमित फेला परेको पुष्टि भएको छ। सङ्क्रमित व्यक्ति कङ्गो लोकतान्त्रिक गणतन्त्रमा मानवीय सहायता अभियानमा सहभागी भएर फर्किएका एक चिकित्सक रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ती चिकित्सकलाई सङ्क्रमण पुष्टि भएपछि तत्काल विशेष उपचार केन्द्रमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। साथै उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान र निगरानीको काम पनि सुरु गरिएको छ।
फ्रान्स सरकारले सर्वसाधारणका लागि सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको जनाएको छ । यद्यपि स्वास्थ्य अधिकारीहरूले सावधानी अपनाउँदै सम्भावित सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरिरहेका छन्।
कङ्गो लोकतान्त्रिक गणतन्त्रले मे महिनामा इबोला प्रकोप घोषणा गरेको थियो । हालको प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै स्वीकृत खोप उपलब्ध छैन।
विश्व स्वास्थ्य अधिकारीहरूका अनुसार हालको प्रकोपमा कङ्गोमा एक हजारभन्दा बढी सङ्क्रमित पुष्टि भइसकेका छन् भने २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
यो प्रकोप प्रारम्भिक चरणमै अत्यधिक तीव्र गतिमा फैलिएको इबोला प्रकोपमध्ये एक मानिएको छ। इबोला सङ्क्रमित व्यक्तिको रगत तथा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने रोग हो । विशेष गरी स्वास्थ्यकर्मीहरू सङ्क्रमित बिरामीको उपचारका क्रममा उच्च जोखिममा रहने गर्छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण