बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता

बुधबार, १० असार २०८३, १७ : २५
बुधबार, १० असार २०८३

सारांश

  • कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ ।
  • यस बजेटले पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ ।
  • गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित कार्यक्रमका साथै कृषि र स्वास्थ्य क्षेत्रमा पनि विशेष जोड दिएको छ ।

मकवानपुर । कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गरेको छ । कैलाशले पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेको हो ।

बुधबार बसेको १८ औँ गाउँसभाले गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पेस गरेको बजेटमा पूर्वाधार, शिक्षा र सामाजिक क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको देखिन्छ । उपाध्यक्ष मल्लका अनुसार कुल ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेटको खर्च व्यहोर्ने स्रोत तर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ८९ लाख, शर्सतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रहेको छ ।

प्रदेशतर्फ  वित्तीय समानीकरणमा ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार रुपैयाँ रहेको प्रस्तुत गरेका छन् ।  गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ  १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कैलाशले आगामी वर्षको नीति तथा कार्यक्रममा महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम तथा चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विकास र विस्तार गरिनुका साथै असल अभ्यासका कार्यक्रमहरूलाई आगामी वर्ष पनि गरिने जनाइएको छ ।

एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गरिने अध्यक्ष मुक्तानले बताए । कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार, कृषिलाई आधुनिक र व्यवसायिक बनाउने लक्ष्य रहेको उनले बताए ।

अध्यक्ष मुक्तानका अनुसार स्वास्थ्यतर्फ वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा गरिने बताए । जिरो होम डेलिभरी  नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम गर्ने, सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्दै बक्यौता, पेस्की तथा बेरुजु फछर्यौटलाई प्राथमिकता दिई शून्य बेरुजुतर्फ उन्मुखतर्फ गाउँपालिका जाने नीति लिएको उनले बताए ।

गाउँसभाले सभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३, र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप