बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
मजदुर उद्धार

कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार

बिहीबार, ११ असार २०८३, १७ : १९
बिहीबार, ११ असार २०८३

सारांश

  • भारतको उत्तर प्रदेशमा प्रहरीले १२ जना पुरुषलाई अमानवीय व्यवहार र बन्धुवा मजदुरीबाट उद्धार गरेको छ, जसमा एक नेपाली नागरिक पनि छन् ।
  • रोजगारीको प्रलोभनमा पारेर ल्याइएका मजदुरहरूलाई महिनौँसम्म बन्दी बनाई दिनरात काम गर्न बाध्य पारिएको र ज्याला माग्दा कुटपिट गरिएको आरोप छ ।
  • यस घटनाले भारतमा गैरकानुनी घोषित बन्धुवा मजदुरीको समस्यालाई पुनः उजागर गरेको छ र यस विषयमा राजनीतिक तथा सामाजिक क्षेत्रमा व्यापक आक्रोश फैलिएको छ ।

लखनऊ । भारतको उत्तर प्रदेश राज्यमा प्रहरीले सानो कारखानाबाट अमानवीय व्यावहारसहित बँधुवा मजदुरीमा राखिएका १२ जना पुरुषको उद्धार गरेको छ ।

उद्धार गरिएका मध्ये नेपालका दान बहादुर थापा पनि छन् । 

घटनाले भारतभर आक्रोश फैलिएको छ भने विपक्षी दलका नेता राहुल गान्धीले पनि यसको कडा भर्त्सना गरेका छन् । 

उद्धार गरिएका ती पुरुषहरूलाई रोजगारीको प्रलोभन देखाएर ल्याइएको तर त्यसपछि महिनौँसम्म उनीहरूलाई इच्छाविपरीत बन्दी बनाएर राखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई दिनरात काम गर्न बाध्य पारिएको र ज्याला माग्दा वा भाग्न खोज्दा निर्ममतापूर्वक कुटपिट गरिएको आरोप छ । 

यस घटनामा दुई जनालाई पक्राउ गरिएको छ भने कारखानाका मालिक फरार रहेको प्रहरीले जनाएको छ । 

यो घटनाले भारतमा अझै कायम रहेको बन्धुवा मजदुरीको समस्यातर्फ पुनः ध्यान खिचेको छ । ५० वर्षअघि गैरकानुनी घोषित गरिए पनि देशका केही भागमा यो प्रथा अझै कायम छ, जहाँ गरिब श्रमिकहरू ऋण, धम्की र जबर्जस्तीका कारण फस्ने गरेका छन् । 

मुजफ्फरनगर जिल्लामा भएको यो घटना गत साता प्रहरीले डिस्पोजेबल प्लेट उत्पादन गर्ने कारखानामा श्रमिकहरूलाई बन्दी बनाएर राखिएको भन्ने सूचना पाएपछि सार्वजनिक भएको हो । वरिष्ठ प्रहरी अधिकारी सञ्जय कुमार वर्माले बीबीसीलाई बताएअनुसार प्रहरीले सुरुमा एक व्यक्तिलाई गोप्य रूपमा त्यहाँ पठायो र त्यसपछि सोमबार श्रम विभाग तथा जिल्ला प्रशासनका अधिकारीहरूसँग मिलेर कारखानामा छापा मारेको थियो ।

उद्धार गरिएका १२ जनामध्ये केही उत्तर प्रदेश, हरियाणा, बिहार र उत्तराखण्डका थिए भने एक जना नेपालका नागरिक थिए । प्रहरीका अनुसार केहीलाई १८ महिनासम्म कारखानामा बन्धक बनाएर राखिएको थियो ।
वर्माले त्यहाँको बसोबासको अवस्थालाई ‘अत्यन्त क्रूर अत्याचारपूर्ण’ भन्दै श्रमिकहरूको शरीरमा देखिएका घाउचोट ‘स्तब्ध पार्ने खालका’ रहेको बताए ।

प्रहरीका अनुसार आरोपितहरूले रेल स्टेसन तथा अन्य सार्वजनिक स्थानमा रोजगारी खोजिरहेका मानिसहरूलाई निशाना बनाउँथे र काम, खाना तथा बस्ने सुविधा दिने आश्वासन दिएर कारखानामा ल्याउँथे । कारखानामा पुगेपछि उनीहरूको मोबाइल फोन खोसिन्थ्यो र उनीहरूलाई भित्रै थुनेर दिनरात काम गर्न बाध्य पारिन्थ्यो । 

प्रहरीद्वारा जारी विज्ञप्तिमा श्रमिकहरूलाई दिनमा एउटा सुक्खा रोटी मात्र खान दिइने र उनीहरूको निगरानीका लागि पिटबुल टेरियर जातका कुकुर राखिएको उल्लेख छ । ‘जब उनीहरूले ज्याला माग्थे वा जान चाहेको कुरा गर्थे, उनीहरूलाई काँडे लठ्ठीले कुटिन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ ।

उद्धार गरिएका केही श्रमिकहरूले बीबीसी हिन्दीसँग आफ्नो पीडा सुनाएका छन् ।

उत्तराखण्डका रामुका अनुसार उनीहरूलाई ‘कैदीझैँ राखिएको’ थियो र कारखानाबाट बाहिर जान कहिल्यै अनुमति दिइँदैनथ्यो । ‘हाम्रा मोबाइल फोन खोसियो । हाम्रा आधार कार्ड जलाइयो । हामीलाई लठ्ठीले कुटिन्थ्यो र खानका लागि चोकर मिसिएको रोटी मात्र दिइन्थ्यो,’ उनले भने । 

छत्तीसगढका नारायणले आफूलाई दिल्लीको एक रेल स्टेसनमा रोजगारीको प्रस्ताव गरिएको बताए । दुई भाइ र दुई साना छोराछोरीको जिम्मेवारी वहन गरिरहेका उनले उक्त प्रस्ताव स्वीकार गरे र उनलाई मुजफ्फरनगर ल्याइयो । ‘म यहाँ चार महिनादेखि छु । मैले आफ्नो परिवारलाई धेरै सम्झिएँ,’ उनले भनेका छन् ।

नेपालका दान बहादुर थापा पनि उद्धार गरिएका श्रमिकहरूमध्ये एक थिए । थापाले आफूलाई परिवारसँग कुनै सम्पर्क गर्न नदिई झण्डै दुई वर्षसम्म कारखानामा राखिएको बताए । ‘हामीलाई जबर्जस्ती काम गराइन्थ्यो । नुन र रातो खुर्सानीको धुलोसँग चोकर मिसिएको रोटी मात्र दिइन्थ्यो । चियामा चिनीसमेत हुँदैनथ्यो,’ उनले भने । 

२६ वर्षीय शिवम कुमारसहित केही श्रमिकहरूले सञ्चारमाध्यमलाई आफ्नो ढाड र शरीरका अन्य भागमा रहेका घाउका दाग देखाए, जुन उनीहरूका अनुसार पटक–पटकको कुटाइका कारण बनेका थिए । प्रहरीले बन्धुवा श्रम प्रणाली (उन्मूलन) ऐन, बाल श्रमसम्बन्धी कानुन तथा अन्य कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गरेको छ । प्रहरी अधिकारी वर्माका अनुसार घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली पनि गठन गरिएको छ । 

plate-making factory

यससँगै कारखानामा केही श्रमिकहरूको मृत्यु भएको हुनसक्ने आरोपबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उद्धार अभियान र श्रमिकहरूले भोगेको यातनापछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ । धेरैले भारतमा बन्धुवा मजदुरी गैरकानुनी घोषित भएको दशकौँ बितिसक्दा पनि यस्ता अत्याचार कसरी जारी रहन सके भन्ने प्रश्न उठाएका छन् । 

विपक्षी नेता राहुल गान्धीले घटनाको निन्दा गर्दै यसलाई मानव मर्यादामाथिको आक्रमण भनेका छन् । ‘पीडितहरूले न्यायका साथै पुनःस्थापना पाउनुपर्छ र दोषीहरूले सम्भव भएसम्मको कडा सजाय भोग्नुपर्छ,’ उनले एक्समा लेखेका छन् । 

अन्य धेरै मानिसहरूले पनि अनलाइनमार्फत स्तब्धता व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले कथित अत्याचारलाई ‘अमानवीय’ भनेका छन् भने अर्काले ‘यो घटना हाम्रो सामूहिक विवेकमाथिको कलङ्क हो । न्याय छिटो र उदाहरणीय हुनुपर्छ’ भनेर लेखेका छन् । 

प्रहरीका अनुसार सबै १२ जना श्रमिकले स्वास्थ्य उपचार पाइसकेका छन् र अहिले मनोवैज्ञानिक परामर्श पनि लिइरहेका छन् । ‘आठ जनाको आफ्नो परिवारसँग पुनर्मिलन भइसकेको छ,’ वर्माले भने । उनका अनुसार बाँकी श्रमिकका आफन्तसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ र उनीहरूको पुनःस्थापनाका लागि विभिन्न सरकारी निकायसँग समन्वय भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप