शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?

शनिबार, १३ असार २०८३, १५ : ३१
शनिबार, १३ असार २०८३

सारांश

  • विश्वकपको समूह चरण अन्तिम मोडमा पुग्दा ४८ मध्ये २८ टोलीले नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान सुरक्षित गरिसकेका छन् ।
  • मेक्सिको, अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, नेदरल्यान्ड्स, बेल्जियम, स्विट्जरल्यान्ड लगायतका बलिया टोलीले समूह विजेताको रूपमा अर्को चरणमा स्थान बनाएका छन् ।
  • अब बाँकी रहेका चार स्थानका लागि अल्जेरिया, क्रोएसिया, डिआर कङ्गो र इरान बलिया दाबेदार देखिएका छन् ।

समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरण (राउन्ड अफ ३२) को तस्वीर क्रमशः स्पष्ट बन्दै गएको छ । हालसम्म ४८ मध्ये २८ टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन् र १२ टिम बाहिरिसकेको स्थितिमा भने बाँकी चार स्थानका लागि आठ टोलीको सम्भावना जीवितै छ । 

पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपमा १२ समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ । त्यसअनुसार अधिकांश समूहको निर्णय भइसकेको छ भने समूह के र एलका केही खेलको नतिजाले अन्तिम चार टोलीको टुंगो लगाउनेछ । 

विश्वकपको सह–आयोजक मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको थियो । त्यसपछि अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, नेदरल्यान्ड्स, बेल्जियम, स्विट्जरल्यान्ड लगायतका बलिया टोलीले समूह विजेताको रूपमा अर्को चरणमा स्थान बनाए ।

अफ्रिकाबाट दक्षिण अफ्रिका, आइभरी कोस्ट, इजिप्ट र पहिलो पटक नकआउट चरण पुगेको केप भर्डेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दक्षिण अफ्रिका पनि इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । मोरक्कोले कतार विश्वकपको उत्कृष्ट यात्रालाई निरन्तरता दिँदै फेरि अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ भने नर्वे २८ वर्षपछि विश्वकपमा फर्केर नकआउट चरणसम्म पुग्न सफल भएको छ ।

तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट प्रदर्शनका आधारमा बोस्निया तथा हर्जेगोभिना, इक्वेडर, स्विडेन, पाराग्वे र सेनेगलले अर्को चरणमा स्थान बनाइसकेका छन् । यस्तै पोर्चुगल, इङ्ग्ल्यान्ड र घानाले पनि आफ्नो अन्तिम खेलअघि नै नकआउट यात्रा सुनिश्चित गरिसकेका छन् । 

अबको अन्तिम चार स्थानमा कसको सम्भावना कति ?

अब बाँकी रहेका चार स्थानका लागि केही टोली प्रतिस्पर्धामा छन् । हालको अवस्थालाई हेर्दा अल्जेरिया, क्रोएसिया, डिआर कङ्गो र इरान नकआउट चरण पुग्ने सबैभन्दा बलिया दाबेदार देखिएका छन् । यद्यपि अन्तिम समूह खेलको नतिजाले यो समीकरण परिवर्तन गर्न सक्नेछ । 

को–को भिड्दैछन् नकआउट चरणमा ? 

समूह चरणका अधिकांश नतिजा सार्वजनिक भइसकेपछि राउन्ड अफ ३२ का केही खेल आधिकारिक रूपमा तय भइसकेका छन् । 

निश्चित भएका खेलहरूमा दक्षिण अफ्रिका र क्यानडाबिच प्रतिस्पर्धा हुनेछ भने ब्राजिलले जापानको सामना गर्नेछ । त्यस्तै नेदरल्यान्ड्सले मोरक्कोसँग खेल्नेछ भने आइभरी कोस्ट र नर्वेबीच पनि रोमाञ्चक भिडन्त हुने निश्चित भएको छ । त्यसैगरी जर्मनी र पाराग्वे, अमेरिका र बोस्निया तथा हर्जगोभिना, अष्ट्रेलिया र इजिप्ट, अर्जेन्टिना र केप भर्डे, फ्रान्स र स्विडेन पनि एकआपसमा भिड्दैछन् ।

१ दक्षिण अफ्रिका विरुद्ध क्यानाडा 
२ ब्राजिल विरुद्ध जापान 
३ नेदरल्यान्ड्स विरुद्ध मोरक्को 
४ जर्मनी विरुद्ध पाराग्वे 
५ आइभोरी कोस्ट विरुद्ध नर्वे 
६ फ्रान्स विरुद्ध स्वीडेन 
७ मेक्सिको विरुद्ध टुङ्गो लाग्न बाँकी 
८ बेल्जियम विरुद्ध टुङ्गो लाग्न बाँकी
९ संयुक्त राज्य अमेरिका विरुद्ध बोस्निया र हर्जगोभिना 
१० स्पेन विरुद्ध टुङ्गो लाग्न बाँकी 
११ स्विजरल्याण्ड विरुद्ध टुङ्गो लाग्न बाँकी 
१२ अस्ट्रेलिया विरुद्ध इजिप्ट 
१३ अर्जेन्टिना विरुद्ध केप भर्डे जुलाई 

उपाधिका प्रमुख दाबेदार

समूह चरणको प्रदर्शनका आधारमा साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी र इङ्ग्ल्यान्ड उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । यस्तै नेदरल्यान्ड्स, पोर्चुगल, बेल्जियम र अमेरिका पनि बलिया चुनौतीकर्ता हुन् । 

यसपटक मोरक्को, नर्वे, आइभरी कोस्ट, घाना, इजिप्ट, सेनेगल र केप भर्डेले देखाएको प्रदर्शनले उनीहरूलाई ‘डार्क हर्स’ टोलीका रूपमा स्थापित गरेको छ । विशेषगरी पहिलो पटक नकआउट चरण पुगेका दक्षिण अफ्रिका र केप भर्डेले प्रतियोगितामा सबैको ध्यान खिचेका छन् ।

समूह चरणका बाँकी खेल सम्पन्न भएपछि राउन्ड अफ ३२ को पूर्ण तालिका सार्वजनिक हुनेछ । नकआउट चरणका खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्, जहाँ पराजित हुने टोलीको विश्वकप यात्रा तत्काल समाप्त हुनेछ भने विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप