‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
सारांश
- गण्डकी प्रदेश सरकारले खादा खरिदमा मात्रै वार्षिक ३५ करोडभन्दा बढी नागरिकको कर दुरुपयोग गरेको सांसद दमयान्ती रुचालले आरोप लगाएकी छिन्।
- सांसद महेश भट्टराईले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै नेपाली उपभोक्ता महँगोमा इन्धन किन्न बाध्य भएको गुनासो गरेका छन्।
- सांसद फणीन्द्र देवकोटाले सडक दुर्घटना बढ्नुमा निर्बाध रूपमा नेपाल भित्रिने भारतीय गाडीहरूले लेन पालना नगर्ने र तीव्र गतिमा चलाउने गरेको आरोप लगाएका छन्।
पोखरा । गण्डकीका एक सांसदले प्रदेश सरकारको झन्डै ३५ करोड रुपैयाँ खादा माला खरिदमै खर्च भएको आरोप लगाएकी छिन् । प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद दमयान्ती रुचालले खादा खरिदमा सरकारले ३५ करोड खर्च गरेको बताएकी हुन् ।
‘राज्यका निकायमा खादा खरिदमा मात्रै वार्षिक ३५ करोडभन्दा बढी नागरिकको कर दुरुपयोग भइरहेको छ । माला र मायाको चिनो जोड्दा अर्बौं रकम दुरुपयोग भएको बुझ्न सकिन्छ,’ उनले भनिन्, ‘मायाको चिनो दिनै परे संविधान, कानुनी संग्रह र गण्डकी प्रदेशका लेखकहरूको चर्चित पुस्तक दिने व्यवस्था गरियोस् ।’
मायाको चिनो वितरणमा रचनात्मक बन्नुपर्ने उनको सुझाव छ । ‘पुस्तक दिँदा खर्च कम हुन्छ । यसरी जोगिएको रकम सिप विकास, उद्यमशीलता र उत्पादन क्षेत्रमा लगानी गर्न म सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन् ।
शून्य समयमै सांसद महेश भट्टराईले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य समायोजन नगरेको भन्दै प्रश्न गरे । ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले अझै पनि पुरानै महँगो दरमा किन्नुपर्ने अवस्था रहनु निकै दुखद छ,’ उनले भने, ‘बजारमा बढ्दा रातारात बढाउने र घट्दा थाहा नपाए जस्तो गरी विभिन्न बहाना बनाई नघटाउने प्रवृत्तिले नेपाली जनता मारमा परिरहेका छन् ।’
इन्धनको मूल्य बढेकै कारण धेरै आयोजनाहरू ठेक्कामा लागेका छैनन् । उनले यसअघि पनि यसबारे प्रश्न उठाएका थिए । ‘इन्धनको मूल्य घटाई अन्तर्राष्ट्रिय बजारको मूल्यमा समायोजन गर्न म जोडदार माग गर्दछु,’ उनले भने ।
सांसद फणीन्द्र देवकोटाले सडक दुर्घटना बढ्दै गएको र विशेषगरी निर्बाध रूपमा नेपाल भित्रिने भारतीय गाडीहरूले ज्यादती देखाएको आरोप लगाए । भारतीय गाडीको ठक्करबाट तनहुँको मार्कीचोकमा ८ र ५ वर्षका बालबालिकाको मृत्यु भएको थियो ।
‘भारतीय गाडीहरू अहिले निर्बाध रूपमा आउने गरेका छन्,’ उनी भन्छन्, ‘उनीहरुले लेन पालना गर्दैनन्, स्पिड धेरै छ । हामीले अनुगमन र नियमन गर्न सकिरहेका छैनौँ ।’ यसरी हुने दुर्घटना न्यूनीकरण गर्न सरकारले छिटो पहल गर्नुपर्ने माग देवकोटाको छ ।
सांसद सुनिता थापाले श्रवणदृष्टिविहीन भएका व्यक्तिहरुको आर्थिक र सामाजिक सुरक्षामा सरकारले ध्यान दिन नसकेको गुनासो गरिन् । ‘उनीरुलाई दया होइन अधिकारमा आधारित पहुँच, सम्मान, आत्मनिर्भर बन्ने अवसर र राज्यको उत्तरदायित्व आवश्यक छ,’ थापा भन्छिन्, ‘सीप विकास तथा रोजगारीका लागि लक्षित नीति र पर्याप्त स्रोत सुनिश्चित गर्न म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’
अर्का सांसद प्रकाश बरालले अन्नपूर्ण आधारभूत अस्पतालमा एक्स–रे मेसिन जडान भए पनि सेवा प्रवाहमा समस्या रहेको भन्दै तत्काल छात्रवृत्ति करारका डाक्टर पठाउन माग गरे । ‘नेपालमा एकैचोटी निर्माण भएका आधारभूत अस्पतालहरुमध्ये अन्नपूर्ण आधारभूत अस्पताल पहिलो हो । प्रदेश सरकारले एक्स–रे मेसिन लगायतका सामग्री दिएर सहजता प्रदान गरेकोमा धन्यवाद छ,’ भने, ‘तर, सँगसँगै म सरकारसँग आग्रह गर्न चाहन्छु छात्रवृत्ति करारमा आउनुभएका डाक्टर र जनस्वास्थ्य अधिकृतहरुको तत्काल व्यवस्था गरी सेवा प्रवाहमा सहजता प्रदान गरियोस् ।’
सांसद श्यामराजा महतले मिलेनियम ट्रेकअन्तर्गत मिलेनियम गुफा क्षेत्रमा पर्यटक तान्न ४ सय मिटर लामो झोलुङ्गे पुल र मोटरबाटो बनाउनुपर्ने सुझाव दिए । ‘कास्की, तनहुँ र स्याङ्जा जिल्लालाई जोड्ने मिलेनियम ट्रेकअन्तर्गत एउटा मिलेनियम गुफा छ, जहाँ हजार–पध्रसय मान्छे अटाउन सक्छन् र भित्र ४ इन्चको पानीको मूल पनि छ,’ उनी भन्छन्, ‘पर्यटक तान्न त्यहाँ जाने बाटोमा एउटा मोटरेबल पुल र गुफामाथि करिब ४ देखि ५ सय मिटर लामो झोलुङ्गे पुलको व्यवस्था गण्डकी प्रदेश सरकारले गरोस् ।’ सांसदहरुले उठाएका प्रश्नहरूमा सरकारले जिम्मेवार जवाफ र कार्यान्वयन भने गरेको पाइँदैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण