पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
सारांश
- गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका सीमा नाकामा आकस्मिक अनुगमन गरेका छन् ।
- उनले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
- स्थानीयले गृहमन्त्रीलाई नाकाबाट साइकलमा सामान ल्याउने तस्करी नरोकिएको गुनासो गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका सीमा नाकाहरूमा आकस्मिक अनुगमन गरेका छन् । शुक्रवार साँझ मधेसका बारा र पर्सा पुगेका गृहमन्त्री गुरुङ कहाँ बास बसे भन्नेबारे सुरक्षा निकायले थाहै पाएनन् ।
शनिबार सीमरा हुँदै गृहमन्त्री काठमाडौँ फर्किने सूचना पाएपछि बारा र पर्साका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरू विमानस्थल पुगे । बरामा कार्यरत प्रहरीका एकजना अधिकृत भन्छन्, ‘उहाँ अनौपचारिक अनुगमनमा आउनुभएको रहेछ, सिमरा एयरपोर्टमा प्रजीअ र सुरक्षा प्रमुखहरूसँग भेट भएको थियो ।’
सिमरामा मन्त्री गुरुङले गृह प्रशासनका अधिकारीहरूलाई सिमानाबाट हुने सवैखाले तस्करी नियन्त्रण गर्न निर्देशन दिए । सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङले शनिवार पर्साको जगरनाथपुर गाउँपालिकामा स्थित सीमावर्ती क्षेत्र जानकी टोला, ड्राइपोर्ट र बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाको अनुगमन गरेका हुन् ।
गुरुङले स्थानीयसँग संवाद गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । भिडियोमा स्थानीयले उनलाई भनेका छन्, ‘१ सय वटा साइकल रातमा आउँछ, सबै छाडिदिन्छ ।’
गृहमन्त्रीले स्थानीयलाई प्रश्न गरेका छन्, ‘पालैपालो आउँछ कि थोरै थोरै ? थोरै थोरै, पालै पिलो होइन ? अहिले पनि भइरहेको छ ?’
मास्क र चस्मा लगाएर नाकामा पुगेका गृहमन्त्रीले स्थानीयलाई सोधेका छन्, ‘अहिले पनि तस्करी भइरहेको छ ?’ स्थानीयले आजभोलि पनि तस्करी नरोकिएको भन्दै मन्त्रीलाई आग्रह गरेका छन्, ‘अहिले पनि भइरहेको छ, यहीँ बसेर सामतिर खाली हेर्नुस् ।’
भन्सार छलेर साइकलमा सामान ल्याउने प्रवृत्ति नरोकिएको स्थानीयको गुनासो छ । मन्त्रीले आफ्ना सहकर्मीलाई केही पर पुगेर हेर्न निर्देशन दिँदै भनेका छन्, ‘तिमिहरू बाइकमा सरर गएर आऊ न ।’
सीमा नाकाहरूमा जडान गरिएको सीसीटीभी कसले मनिटर गर्छ भनेर गृहमन्त्रीले स्थानीयसँग अन्तरक्रिया गरेका छन् । स्थानीयनले सिसिटिभी सशस्त्रको बिओपीले मनिटर गर्ने र सीमाको गतिविधि सीसीटीभीमा रेकर्डिङ हुने बताएका छन् ।
शनिवार साँझ ५ बजे मन्त्री गुरुङ सिमरा विमानस्थल हुँदै काठमाडौँ फर्किएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण