आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज

आइतबार, १४ असार २०८३, १२ : ०१
आइतबार, १४ असार २०८३

सारांश

  • नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्याकेज सञ्चालनमा ल्याएको छ।
  • यस व्यवस्थाअनुसार ग्राहकले एकपटक प्याकेज सुरु गरेपछि मोबाइलमा उपलब्ध ब्यालेन्सका आधारमा प्रत्येक महिना प्याकेज स्वतः नवीकरण हुनेछ।
  • टेलिकमले २९९, ४९९ र ७९९ रुपैयाँका तीन प्रकारका प्याकेजहरू सार्वजनिक गरेको छ जसमा भ्वाइस कल, डाटा र एसएमएस समावेश छन्।

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्याकेज सञ्चालनमा ल्याएको छ। 

यस नयाँ व्यवस्थाअनुसार ग्राहकले अब हरेक महिना आफैँ प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। टेलिकमका अनुसार एकपटक प्याकेज सुरु गरेपछि ग्राहकको मोबाइलमा उपलब्ध ब्यालेन्सका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ।

टेलिकमले यस योजनाअन्तर्गत ३० दिनको समयावधि रहने गरी तीन प्रकारका आकर्षक प्याकेजहरू सार्वजनिक गरेको छ। जसमा २९९ रुपैयाँको ‘नमस्ते रिकरिङ २९९’ प्याक अन्तर्गत ३०० मिनेट अल-नेट भ्वाइस, ४ जिबी डाटा, २ जिबी नाइट डाटा र २० वटा अन-नेट एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी, ४९९ रुपैयाँको प्याकेजमा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जिबी डाटा, ४ जिबी नाइट डाटा र १०० वटा अल-नेट एसएमएस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सबैभन्दा ठूलो प्याकेजका रूपमा रहेको ७९९ रुपैयाँको ‘नमस्ते रिकरिङ ७९९’ मा ग्राहकले सबै नेटवर्कमा असीमित (अनलिमिटेड) कुराकानी गर्न पाउनेछन्। यसका साथै दैनिक १० जिबीका दरले महिनाभर कूल ३०० जिबी डाटा र ३०० वटा अल-नेट एसएमएस समेत उपलब्ध हुनेछ।

यी प्याकेजहरू प्रयोग गरिरहेका ग्राहकलाई थप डाटा आवश्यक परेमा कम्पनीले सस्तो दरका ‘एड-अन’ प्याकेजहरूको पनि व्यवस्था गरेको छ। जसमा ३० रुपैयाँमा १ जिबी, ५० रुपैयाँमा २ जिबी र ९९ रुपैयाँमा ४ जिबी डाटा पाइनेछ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी प्राप्त निर्देशन पालना गरेर यी सेवाहरू खरिद गर्न सक्नेछन्। 

यो नयाँ सुबिधाले ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा निरन्तर प्राप्त गर्न सहज हुने विश्वास कम्पनीले लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप