सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
सारांश
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले व्यवहार, भाषा र पोसाकमा ध्यान दिनुपर्ने बताएकी छन्।
- उनले संसद्को गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदनको समय जनसरोकारका विषयमा खर्चिनुपर्ने तर्क गरिन्।
- मन्त्री गौतमले संसद्को मान राख्न सांसदहरूले बोल्ने भाषा, प्रयोग गर्ने शब्द र पोसाकदेखि हरेक कुरामा मर्यादित हुनुपर्ने र आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्नका लागि सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
६८ औँ संसद् दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी हुन्।
पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको जनगुनासो सुनिन थालेकाले यसप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याइन्। संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाटै टुङ्ग्याउन सकिने भन्दै उनले सदनको समय केवल जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने तर्क गरिन्।
जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसद्को खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने मन्त्री गौतमको भनाइ छ। उनले भनिन्, ‘हामीले पाएको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गरौँ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी समाधानयोग्य बनाउने र यस्ता विषयमा सरकारलाई जवाफदेहिताको कसीमा कसरी उभ्याउने भन्ने विषयमा व्यापक बहस गरौँ। यस्ता बहसहरू संसद्मा गर्नसक्यौँ भने संसद्को औचित्य र संसद्प्रति जनताले हेर्ने दृष्टिकोण दुवैमा सकारात्मक सुधार आउँछ भन्ने मलाई लाग्छ।’
उनले पहिलेको तुलनामा अहिले संसद्को गुणस्तर धेरै खस्किएको चर्चा अनौपचारिक गफगाफमा समेत सुनिने गरेकाले यसको कारणबारे सबैले मनन गर्नुपर्ने बताइन्। मन्त्री गौतमले संसद्को मान राख्नका लागि सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने र त्यो मर्यादा आफ्नै व्यवहारबाट कायम गर्नुपर्ने स्पष्ट पारिन्।
‘सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ–यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो। यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ। हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस्। म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु। यो मेरो आफैँसँग गरेको प्रतिबद्धता हो,’ उनले भनिन्। संसद्प्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र यसको औचित्य पुष्टि गर्न सांसदहरूले आफ्ना आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले संसद्को मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण