मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अध्ययन समिति

अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए

प्रतिवेदन लेख्दै समिति
मङ्गलबार, १६ असार २०८३, १३ : ३६
मङ्गलबार, १६ असार २०८३

सारांश

  • जेनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे जाँचबुझ आयोगको सिफारिस अध्ययन गर्न गठित समितिले आफ्नो अध्ययन सकेको छ ।
  • समितिले सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाएको र सुरक्षा व्यवस्थापनमा कमजोरी रहेको निष्कर्ष निकालेको छ ।
  • समितिले साधन स्रोतको अभाव र १० वर्षदेखि भिड नियन्त्रण सामान खरिद नभएको समेत अध्ययन गरेको छ ।

काठमाडौँ । जेनजी आन्दोलनमा सुरक्षाकर्मीको भूमिकाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिस अध्ययन समितिले आफ्नो अध्ययन सकेको छ । मन्त्रिपरिषद्ले सुरक्षा निकायका प्रमुख र कमान्डरहरूलाई गरिएको कारबाहीको सिफारिस अध्ययन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा समिति गठन गरेको थियो । वैशाख २ मा गठित समितिमा सशस्त्रका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य छन् ।

समितिले अध्ययन पूरा गरेर प्रतिवेदन लेखनको काम गरिरहेको संयोजक प्रेमराज कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘सिफारिस सहितको प्रतिवेदन लेख्ने काम भइरहेको छ ।’

२०८२ भदौ २३ मा काठमाडौँको बानेश्वरमा भएको घटना अध्ययन गर्दा ‘ल्याकिङको हद देखिएको’ कार्कीले बताए । उनले भने, ‘ल्याकिङ हद भएको छ, त्यो सवैतिर भएको देखिन्छ ।’

ल्याकिङको एकीकृत नतिजा नै भदौ २३ को घटना भएको उनले बताए ।

अध्ययन समितिले भदौ २३ मा सुरक्षाकर्मीहरुले बानेश्वर क्षेत्रमा ‘आत्तिएर’ धेरै गोली चलाएको निष्कर्ष निकालेको छ । अध्ययन समितिका एक जना सदस्यका अनुसार संसद् भवन प्रवेश गर्न खोजेका जेनजी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न खोजेपनि प्रदर्शनकारीको सङ्ख्या अचानक बढेपछि परिस्थिति नियन्त्रण बाहिर गएको अध्ययनको निष्कर्ष छ ।

अध्ययन समितिका एक जना सदस्यका अनुसार प्रहरीले सिलसिलेवार बल प्रयोग गरे पनि प्रदर्शनकारी ह्वात्तै बढेपछि सुरक्षाकर्मी आत्तिएको निष्कर्ष निकालिएको छ । ती सदस्य भन्छन्, ‘बानेश्वर क्षेत्रमा सुरक्षाकर्मी आत्तिँदा धेरै गोली चलेको देखिन्छ ।’

महत्त्वपूर्ण प्रतिष्ठान जोगाउन सुरक्षाकर्मीले कानुन अनुसार स्वतः गोली चलाउन पाउने भए पनि धेरै प्रदर्शनकारीको मृत्यु भएको भन्दै अध्ययन समितिले सुरक्षा व्यवस्थापनमा ल्याकिङ भएको निष्कर्ष निकालेको छ ।

ठुलो संख्यामा जेनजी पुस्ताले संसद् भवन घेराउ गरेपछि फिल्डका सुरक्षाकर्मीले सुरुमा सम्झाई बुझाई गरेको देखिएको समितिका एक जना सदस्यले बताए । उनले भने, ‘बन्दुक बोकेका सुरक्षाकर्मीले आन्दोलनकारीलाई हात जोडेरै सम्झाएका देखिन्छ तर, आन्दोलनकारी नरोकिएपछि बल्ल गोली चलाएको भेटिएको छ ।’

एम्बुलेन्स र गाडीमा आगजनी भएपछि सुरक्षाकर्मीले गोली चलाएको समितिको निष्कर्ष छ । उच्छृङ्खल क्रियाकलाप सुरु भएपछि बानेश्वरमा सुरक्षाकर्मीले कम्तीमा ७ मिनेट नियन्त्रण गरेको अध्ययन निष्कर्ष छ ।

प्रमाण अवलोकन र सरोकारवाला अधिकारीहरूसँग छलफल गरेर जाँचबुझ प्रतिवेदन अध्ययन गरिएको संयोजक प्रेमराज कार्कीले बताए । उनले भने, ‘प्रमाण अवलोकन र कन्सर्न अथोरिटीसँग छलफल गरेका छौँ ।’

सरोकारवाला सँग छलफल गर्दा र घटनास्थलको विवरण हेर्दा सुरक्षा निकायसँग साधन र स्रोतको अभाव देखिएको समितिको निष्कर्ष छ । समितिले १० वर्षदेखि प्रहरीका लागी भिड नियन्त्रणको सामान खरिद नभएको र भिड नियन्त्रण गर्न सुरक्षाकर्मीले केके गरे भनेर अध्ययन गरेको छ । संयोजक कार्की भन्छन्, ‘साधन स्रोतको अभाव भएको कुरा कन्सर्ट अटोरिटीले पनि भनेका छन्, अध्ययन समितिले त्यही अनुसार सिफारिस गर्छ ।’

समितिको म्याद असार २२ मा सकिँदै छ । म्यादभित्र प्रतिवेदन बुझाउने गरी प्रतिवेदन लेखन कार्य भइरहेको संयोजक कार्कीले बताए ।

समितिले श्रीलङ्का, इन्डोनेसिया, केन्या, फ्रान्स, हङकङ र ट्युनिसिया जस्ता देशमा भएका आन्दोलनमा बल प्रयोग गर्दा सुरक्षाकर्मीहरुमाथि कस्तो कारबाही भएको थियो भनेर अध्ययन गरेको छ । अन्तर्राष्ट्रिय अभ्यास र संयुक्त राष्ट्रसंघको ‘बल प्रयोगको सिद्धान्त’लाई पनि अध्ययन गरिएको समितिका एक जना सदस्यले रातोपाटीलाई बताए ।

फौजदारी मुद्दाबारे छलफल हुँदै

जाँचबुझ आयोगले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी र काठमाडौँका तत्कालीन प्रजिअ छवि रिजाललाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । केन्द्रीय सुरक्षा समितिमा ३ वटा सुरक्षा निकायका प्रमुखहरू र सेनाका प्रतिनिधि सदस्य हुन्छन् । जाँचबुझ आयोगले सेनाका केही अधिकृतहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसबारे अध्ययन समितिले कस्तो राय दिने भन्नेबारे छलफल गरिरहेका छन् । सो प्रकरणमा मन्त्रिपरिषद्को चैत १३ को निर्णय अनुसार  पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेर छुटेका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १८१ अनुसार कुनै न्यायिक र अर्धन्यायिक निकायले गरेको निर्णय अनुसार सरकारलाई असर पर्ने भएमा मुद्दा दायर गर्ने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने व्यवस्था छ । अध्ययन समितिका एक जना सदस्यले सो दफालाई आधार मानेर सुरक्षा निकायका अधिकृतहरूबारे सिफारिस गरिने बताए । ती सदस्यले भने, ‘जाँचबुझ आयोगले फलानो दफा लगाएर फौजदारी मुद्दामा कारबाही गर् भन्न मिल्दैन, हामी त्यसबारे छलफल गर्दै छौँ ।’

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्र कुवेर खापुङ, सशस्त्रका आईजी राजु अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी युवाको ज्यान जानेगरी गोली चलाउने आदेश  तत्कालीन आईजीपी खापुङले दिएको आरोप लाग्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप