बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आँखामा मसाज गन प्रयोग गरेपछि...

बुधबार, १७ असार २०८३, ०५ : ५६
बुधबार, १७ असार २०८३

सारांश

  • स्कटल्यान्डका एक युवाले आँखामा मसाज गन प्रयोग गर्दा दुवै आँखाको रेटिनामा चिरा परेको र रेटिनल डायलाइसिस भएको छ।
  • ती युवकले मांसपेशीको पीडा कम गर्न प्रयोग गरिने मसाज गन आँखावरिपरि र सिधै आँखामा प्रयोग गरेका थिए।
  • चिकित्सकहरूले मसाज गनको तीव्र कम्पनले आँखामा तीव्र दबाब दिँदा रेटिना च्यातिएको निष्कर्ष निकालेका छन्।

एडिनबर्ग । स्कटल्यान्डका एक युवाले आँखावरिपरि र सिधै आँखामै मसाज गन प्रयोग गरेपछि आँखासम्बन्धी गम्भीर समस्या भोग्नुपरेको छ।

मांसपेशीको पीडा कम गर्न प्रयोग गरिने मसाज गन आँखामा प्रयोग गर्दा उनको दुवै आँखाको रेटिनामा चिरा परेको र रेटिनल डायलाइसिस नामक गम्भीर समस्या विकसित भएको चिकित्सकहरूले बताएका छन्।

पर्कसिभ मसाज गनहरू पछिल्ला वर्षहरूमा निकै लोकप्रिय बन्दै गएका छन्। सही तरिकाले प्रयोग गर्दा यसले दुखाइ कम गर्न, रक्तसञ्चार सुधार गर्न तथा शरीरलाई आराम दिन मद्दत गर्छ। तर, स्वास्थ्य विशेषज्ञहरूले यसको गलत प्रयोगले गम्भीर नोक्सानी निम्त्याउन सक्ने चेतावनी दिएका छन्। एडिनबर्ग निवासी २० वर्ष हाराहारीका ती युवकले केही सातादेखि आँखालाई आराम दिन भन्दै मसाज गन प्रयोग गरिरहेका थिए। दुवै आँखामा गम्भीर समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल नै जानुपर्‍यो।

आफ्नो आई सेन्टरमा ती पुरुषलाई देखेर डाक्टरहरू नियाम ओ'कोनेल र अशरफ आश्चर्यचकित परेका थिए। बिरामीको दाहिने आँखाको रेटिनामा धेरै ठाउँमा चिरा परेको, व्यापक रूपमा चोट लागेको तथा रेटिनल डायलाइसिस भएको पाइएको थियो। बायाँ आँखामा पनि गम्भीर चोटका साथै रेटिनामा छ वटा साना चिरा भेटिएका थिए।

चिकित्सकहरूका अनुसार, ती युवकको व्यक्तिगत वा पारिवारिक रूपमा आँखासम्बन्धी कुनै रोगको इतिहास थिएन। साथै, उनले टाउकोमा कुनै चोटपटक लागेको वा अन्य आघात भएको पनि अस्वीकार गरेका थिए। उनी नजिकको वस्तु स्पष्ट नदेख्ने समस्याका कारण चस्मा भने प्रयोग गर्थे, तर त्यो समस्यासँग रेटिनामा भएको क्षतिको कुनै सम्बन्ध नभएको चिकित्सकहरूले बताएका छन्।

आँखामा यस्तो क्षति कसरी भयो भन्ने स्पष्ट कारण नदेखिएपछि चिकित्सकहरूले युवकसँग आँखासम्बन्धी कुनै असामान्य गतिविधिबारे सोधपुछ गरेका थिए। त्यसपछि उनले करिब तीन महिनादेखि हरेक हप्ता मसाज गन दुवै आँखावरिपरि तथा सिधै आँखामै प्रयोग गर्दै आएको स्वीकारे। आई सेन्टरमा आउनुभन्दा केही दिनअघि मात्र उनले दाहिने आँखामा चम्किने बत्ती देखिएको र आँखाभित्र केही तैरिरहेको जस्तो महसुस हुन थालेको बताएका थिए।

चिकित्सकहरूले अन्य कुनै जोखिम कारक नदेखिएकाले मसाज गनकै प्रयोगले आँखामा गम्भीर क्षति पुगेको निष्कर्ष निकालेका छन्। उनीहरूका अनुसार, मसाज गनको तीव्र कम्पनले आँखालाई तीव्र दबाब दिँदा रेटिना च्यातिएको हुन सक्छ। निदान भएको छ महिनापछि गरिएको परीक्षणमा बिरामीको अवस्था स्थिर रहेको र थप जटिलता नबढेको चिकित्सकहरूले बताएका छन्।

यसअघि पनि मसाज गनको गलत प्रयोगका कारण दृष्टिमा गम्भीर असर परेका घटना सार्वजनिक भएका छन्। केही वर्षअघि चीनका एक ४२ वर्षीय पुरुषले आँखामा मसाज गन प्रयोग गर्दा मोतिबिन्दु भएको र आँखाको लेन्स सरेको घटना सार्वजनिक भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप